धनगढी कुहिएको चामल प्रकरण : अख्तियारमा उजुरी कायम, विस्तृत अनुसन्धान हुने
धनगढी : धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले प्रारम्भीक अनुसन्धानका क्रममा खरिद प्रक्रियामा कैफियत देखिएपछि उजुरी कायम गरेर विस्तृत अनुसन्धान थाल्ने भएको हो।
अख्तियार स्रोतका अनुसार प्रारम्भीक अनुसन्धानका क्रममा उप–महानगरपालिकाले सार्वजनिक खरिद ऐन मिचेर राहतका सामाग्री खरिदका लागि ठेक्का सम्झौता गरेको भेटिएपछि ‘राहत वितरणमा अनियमितता’ गरेको उजुरी कायम गरिएको छ। ‘सञ्चार माध्यममा आएका समाचारलाई आधार मान्दै अख्तियारले उप–महानगरपालिकामा छापा हानेर खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको थियो।’
अख्तियार स्रोतले भन्यो, ‘प्रारम्भीक अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन मिचेर मिलेमतोमा ठेक्का सम्झौता गरी राहत सामाग्री खरिद गरेको देखिएपछि अनियमितताको उजुरी दर्ता गरी अनुसन्धानमा लैजाने तयारी छ।’ अख्तियार महेन्द्रनगरले उक्त प्रकरणको विस्तृत अनुसन्धान गर्नेुपर्ने ठहर गर्दै अनुसन्धान अधिकृत तोक्न केन्द्रीय कार्यालयलाई कायम भएको उजुरीको फाईल पठाउने भएको हो।
सार्वजनिक खरिद ऐन अनुसार आपूर्तीकर्तासँग ठेक्का सम्झौता नगरिएको, हतार हतारमा सूचना जारी गरी एउटै आपूर्तीकर्तालाई ठेक्का पारेको, खाद्य वस्तुको गुणस्तर समेत परीक्षण नभएको अख्तियारको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको एक अधिकारीले दिनेश खबरलाई बताए।
अख्तिायार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता टोपबहादुर विष्टले समेत राहत वितरणमा भएको अनियमितता सम्बन्धी अनुसन्धान गर्न उजुरी दर्ता भएर अन्य प्रक्रिया अगाडी बढिसकेको जानकारी दिए। धनगढी उप–महानगरपालिकाले कोरोना भाईरसको महामारीपछि प्रभावित भएकाहरुलाई वितरण गरेको चामल कुहिएको भेटिएपछि विवाद भएको थियो।
उप–महानगरपालिकाले धनगढीको ठाकुर ट्रेड लिङ्कलाई दुई करोड ६१ लाखमा ठेक्का दिदै राहतको चामल लगायतका सामाग्री आपूर्ती गरेको थियो। अख्तियारले जेठ १ गते धनगढी उप–महानगरपालिकामा छापा हान्दै खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको थियो।