सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ पर्यटकीय गन्तव्य बन्दै डडेल्धुराको तेले लेक

तेलेको धर्मशाला, रमशिलाको पानी र विजुवा भुत

२०७७ वैशाख २५, ०४:४५ खबर संवाददाता

गणेशथापा मगर

‘तेलेको लेक रमशिलाको पानी....’ यो हरफ सुदूरपश्चिमेलीहरुको जिब्रोमा धेरै पहिलेदेखि झुण्डिएको लोकगितको हरफ हो। यो हरफमा उल्लेख भएको तेलेको लेक पछिल्लो समय पर्यटकिय गन्तव्यको रुपमा चर्चित बन्न थालेको छ।  
डडेल्धुराको महाभारत पर्वत श्रृंखला अन्तर्गत पर्ने तेलेको लेक सुदूपश्चिमका अधिकांस पहाडि जिल्लाको पैदल यात्रा गरी तराई झर्ने महत्वपूर्ण रुटको रुपमा परिचित छ। जहाँबाट यस क्षेत्रका पुर्खाहरुले हप्तौ लगाएर तराई–पहाडको यात्रा तय गर्ने गर्दथे। यस क्षेत्रका प्रसिद्ध शक्तिपिठहरु घण्टेश्वर र भागेश्वरको मध्यविन्दु भएर तराई–पहाड पैदल यात्रा गर्ने पुरानो पैदलमार्गको रुपमा तेलेको लेक चिनिन्छ। 

जिल्ला सदरमुकामबाट नजिकै रहेको तेलेको लेकसम्म पहिले कसैले एक बासमा कसैले दुई दिनको बास बस्न पुग्ने गरेको उक्त बाटोबाट पैदल यात्रा गरेका बुढापाकाहरु बताउँछन्।  अधिकांस पहाडका मान्छेहरु चिसो छल्ने क्रममा पहाडबाट तराई झर्न परिवार तथा आफुसंग भएका पशुपंछीसहित तेलेको लेक भएर जाने गरेको बुढापाकाहरु बताउँछन्। त्यतिबेला ब्रम्हदेवबाट नुन लगायतका सामग्रीहरु यही बाटो भएर पहाडि जिल्लासम्म पुग्ने गरेको जानकारहरु बताउँछन्।

तेलेको लेकको मुख्य भाग समुन्द्रि सतहबाट करिब २६ सय मिटरको उचाईमा रहेकोले यस क्षेत्रमा रहेका स–साना मैदानले खप्तडी पाटनको झल्को दिन्छ। त्यसैले पनि होला खप्तड राष्ट्रिय निकुन्जसम्म पुग्न नसक्नेहरुलाई खप्तडको स्वाद दिइरहेको छ तेलेको लेकले। 

जिल्लाकै अग्लो स्थानमा भएका कारण यस क्षेत्रमा विभिन्न प्रजातीका बुट्यान तथा फुलहरु देख्न सकिन्छ। मुख्य तेलेको धर्मशाला रहेको स्थानबाट अधिकतम दुई घण्टाको पैदलयात्रा पश्चात यस क्षेत्रकै प्रशिद्ध धार्मिकस्थल भागेश्वर मन्दिर पुग्न सकिन्छ। पछिल्लो समय यो क्षेत्रमा क्यामेरा ट्रयापिंगबाट पाटे बाघ लगायत अन्य जनावरहरु देखिनु अर्काे आकर्षण हो।

तेलेको धर्मशाला
तत्कालिन समयमा पैदलयात्रीहरुको लागी बास बस्न सहज होस भन्ने हेतुले, आफन्तको सम्झना तथा धर्म कामउनको लागी ठाँउठाँउमा धर्मशाला बनाउने गरिन्थ्यो जसलाई सामाजिक उत्तरदायित्वको नमूना मान्न सकिन्छ। केहिवर्ष पहिलेसम्म सुदूरका धेरै स्थानहरुमा पुराना धर्मशालाहरु देखिने भएपनि विकाससंगै ती धर्मशालाहरुको अस्तित्व संकटमा परेको देखिन्छ। तर यस क्षेत्रमा ती धर्मशालाहरुको जिवन्त रुप अझ पनि हेर्न सकिन्छ।

जिल्लाको अमरगढी नगरपालीका वडा नम्बर ३ स्थित प्रसिद्ध घटालस्थान क्षेत्रबाट सुरु हुने यो पैदल मार्गमा घटालस्थान क्षेत्रबाटै पुराना धर्मशालाहरु देख्न पाईन्छ। पुराना तथा कलात्मक धर्मशालाहरुले त्यती बेलाको सामाजिक कार्य, कलालाई प्रस्फुटन गरिरहेको देख्न सकिन्छ। घटालस्थानबाट निंगलाडसम्म मात्र पनि धेरै धर्मशालाहरु देख्न सकिन्छ। यद्यपी सडक निर्माणको क्रममा कतिपय धर्मशाला जिर्ण तथा भत्किएका छन्। 
यो रुटमा देखिने सबभन्दा नयाँ धर्मशाला अमरगढी नगरपालीका वडा नम्बर ३ चिरिकिट्टेमा रहेको छ। जसको इतिहास करिव ८० वर्ष भन्दा बढी रहेको बताइन्छ। यस हिसाबले यस क्षेत्रमा बनेका अन्य धर्मशालाहरुको इतिहास १५० देखि २०० वर्ष पुरानो हो भनेर सजिलै अनुमान गर्न सकिन्छ।

रमशिलाको पानी, विजुवा भुत
डडेल्धुरा सदरमुकाम देखि डडेल्धुराकै दोश्रो ठुलो बजार जोगबुडा जोड्ने मोटरबाटो बनेपछि तेलेको लेकसम्म पुग्न सहज भएको छ। चिरकिट्टेको उकालो काटेपछि मुख्य धुरामा पुग्दा छेउमै एउटा विशाल ढुंगा रहेको छ। किंवदन्ती अनुसार पौराणिक कालमा उक्त ढुंगामा भिमले सिँगान पुछेका हुन।

त्यसकै केही अगाडि तेलेको मुख्य धर्मशाला आएपछि त्यहाँ ‘रमशिलाको पानी’ रहेको छ। किंवदन्ती अनुसार बनवासको क्रममा सितालाई पानीको तिर्खा लागेपछि उक्त स्थानमा धनुषवाण हानेर पानी निकालिएको थियो। जुन अहिलेपनि कलात्मक ढुंगेधाराको रुपमा रहेको छ। यस क्षेत्रको एउटा अदृश्य पात्र ‘विजुवा भुत’ को क्षेत्र भनेर प्रशिद्ध निंगलाड जुन सुदूरपश्चिमको कला संस्कृतिमा विशेष रुपमा सम्झिने ठाँउकोरुपमा प्रस्तुत हुन्छ। 

लकडाउनले चर्चित बन्यो तेले
लेकलाई धार्मिक, ऐतिहासिक, पर्यावरणीय र शाहसिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना हुँदा हुँदैपनि ओझेलमा परिरहेको अवस्थामा पछिल्लो समयमा यस क्षेत्रमा चहलपहल बढ्न थालेको स्थानीय बताउँछन्।

पछिल्लो समयमा यातायातको सुविधा बढ्नु र विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि  गरिएको लकडाउनका कारण जिल्लासदरमुकाम वरपरका युवाहरु तेलेको लेकतर्फ आकर्षित हुन थालेका छन्।
जिल्ला सदरमुकाममा होटेल व्यवसाय गर्ने युवा टेकबहादुर खड्का यस क्षेत्रको भ्रमण गर्न पाएकोमा खुसी भएको बताउँछन्।

 यातायातको पहुँच भएपश्चात कथा र गितमा मात्र सुनेको तेलेको धर्मशाला र रामशिलाको पानी हेर्न सहज भएको उनले बताए। ‘मैलै सुरुमा साथिहरुलाई घुम्न जाऔ भने त्यसपछि त त्यहाँ धेरै पुगेका छन’ उनले भने, ‘सदरमुकामबाट मोटरसाईकल वा जिपमा डेढ घण्टा मात्रै लाग्ने हुँदा एकपल्ट यो ठाउँ जान सबैमा अनुरोध गर्छु।’ त्यस्तै आफुले बिहिबार मात्रै तेलेको लेक भम्रण गरेको भन्दै अर्का युवा शुनील तामाङ भन्छन, ‘ पृथ्वीको सबैभन्दा आनन्द र मन भुलाउने ठाउँ गएको जस्तो लाग्यो।’

ओझेलमा रहेका तेलेको लेक क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरु आउन थालेपछि चहलपहल बढिरहेको छ। यहाँ बनभोज खान जानेहरुको संख्या समेत बढ्न थालेको छ। केही ‘नाइट क्याम्प फायर’ गर्ने समूह समेत उक्त स्थानमा जाने गरेको भन्दै लकडाउन खुलेपछि तेलेको लेक घुक्ने पर्यटक बढ्नेमा स्थानीय आशावादी छन्। 

कमेन्ट लोड गर्नुस