सुदूरपश्चिमका ९ सांसद आफ्नो पक्षमा रहेको प्रचण्ड–नेपाल समूहको दावी
धनगढी : सुदूरपश्चिमका ९ जना सांसद प्रचण्ड–माधव नेपाल समूहमै रहेको दावी गरिएको छ। नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढाल्ने षड्यन्त्र भईरहेका बेला सुदूरपश्चिमका १९ मध्ये १६ जना ओलीकै पक्षमा रहेको विवरण सार्वजनिक भएपछि प्रचण्ड–नेपाल पक्षले भने ९ जना सांसद आफूतिरै रहेको दावी गरेका हुन्।
नेपाल निकट एक नेताले दिनेश खबरलाई भने,‘जसरी ओली पक्षले १६ सांसद आफूतिरै रहेको दावी गरेपनि त्यो सम्भव हुदैन्। हामीसँग अहिले पनि ९ जना सांसद छन्। उनीहरु हाम्रै पक्षका थिए र रहेका छन्।’ यसअघि ओली समूहले सुदूरपश्चिमका १६ सांसद आफ्नो पक्षमा रहेको दावी गरेको थियो।
नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने सम्मको तयारी भएपछि संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन हस्ताक्षर अभियान चलाईएको थियो।
जसमा सुदूरपश्चिमका १९ मध्ये १६ सांसदले ओलीलाई साथ दिने प्रतिवद्धता जनाएको ओली समूहले दावी गरेको थियो। अहिले नेकपा सचिवालयको बैठक चरिहेको छ।