कोरोनालाई जितेपछि कैलालीका युवकले भने– कुनै समस्या भएन
धनगढी : कैलालीका कोरोना संक्रमित युवक आज अस्पतालबाट डिस्चार्ज भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज विक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन्। १२ गते भारतबाट घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।
दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए। कोरोनालाई जितेपछि सञ्चारकर्मीलाई प्रतिक्रीया दिदै विकले अस्पताल बसाईको क्रममा कुनै समस्या नभएको बताए।
‘कोरोनासँग लड्ने क्रममा अस्पतालका सरहरुले राम्रो साथ दिए। सुरु देखि नै मलाई लक्षण पनि देखिएको थिएन्। संक्रमण पुष्टि भईसकेपछि पनि मलाई कुनै पनि समस्या भएन्।’ उनले भने।
उनले घर गएपछि पनि डाक्टरको सल्लाहलाई अबलम्वन गर्ने बताए।