सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसमा अन्तरकलेज विज्ञापन प्रतियोगिता सम्पन्न

२०८३ साउन २६, ०५:१७ जयन्त सिंह भाट

धनगढी: कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा अन्तरकलेज विज्ञापन प्रतियोगिता सम्पन्न भएको छ।

गत असार ३१ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार एक औपचारिक कार्यक्रमकाबीच विजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै सम्पन्न गरिएको हो।

क्याम्पसको भर्ना अभियानलाई प्रभावकारी बनाउन तथा विद्यार्थीमा सिर्जनशीलता, प्रस्तुतीकरण क्षमता, सञ्चार सीप र विज्ञापनसम्बन्धी व्यावहारिक ज्ञानको विकास गर्ने उद्देश्यले स्ववियुले प्रतियोगिता आयोजना गरेको जनाएको छ।

प्रतियोगितामा १० वटा समूहबाट ४२ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, दोस्रो हुने समूहलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, तेस्रो हुने समूहलाई नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा चौथो हुने समूहलाई नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतियोगितामा प्रथम हुने समूहमा चेतराज भट्ट, हरिशप्रसाद कपाडी, दिलीराज ओझा, अस्मिता कुमारी जोशी र गणेश धामी रहेका छन्।

त्यस्तै, दोस्रो हुने समूहमा भुवन मिश्र, उमेश ओझा र मञ्जु बोहरा रहेका छन्। तेस्रो हुने समूहमा हरि खत्री, सागरजंग बोगटी (साकार) र अर्जुन महरा रहेका छन्। त्यसैगरी, चौथो हुने समूहमा राहुल बोहरा, कुम्भ उपाध्याय, झलक धामी, एलिशा धामी र पायल बोहरा रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले विद्यार्थीको प्रतिभा र सिर्जनशीलता प्रस्फुटनका लागि यस्ता अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए। उनले अध्ययनसँगै विद्यार्थीको व्यावहारिक ज्ञान, प्रस्तुतीकरण क्षमता र नेतृत्व विकासमा यस्ता प्रतियोगिताले सहयोग पुर्‍याउने धारणा व्यक्त गरे।

स्ववियु सभापति सन्तोष पन्तले विद्यार्थीको प्रतिभा पहिचान तथा क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि विद्यार्थीको रुचि र क्षमताअनुसार विभिन्न सिर्जनात्मक तथा व्यावहारिक कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस