नेपाल संवत्को संरक्षण र प्रवर्द्धन राज्य र नागरिकको साझा दायित्व: सभामुख अर्याल
काठमाडौं: सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत् नेपालको मौलिक इतिहास, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको साझा सम्पदा भएकाले यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नु राज्य तथा नागरिक सबैको साझा दायित्व भएको बताएका छन्।
नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
उनले नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको भए पनि यो सम्पूर्ण नेपालीको साझा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा भएको उल्लेख गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई नेपाल संवत्को सुरुवात गरेको स्मरण गर्दै अर्यालले यस संवत्ले नेपालको सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको बताएका छन्। उनका अनुसार जनकल्याण, परोपकार र सामाजिक न्याय नेपाल संवत्का महत्वपूर्ण सन्देश हुन्।
नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्दर्भमा यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
मुलुकको भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानुन निर्माण, नीतिगत बहस तथा सरकारको जबाफदेहितामार्फत संसद्मा प्राथमिकताका साथ सम्बोधन गरिने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
यसैगरी, नेपाल संवत्ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप मजबुत बनाउन प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै सभामुख अर्यालले प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
उनले विपद्को कठिन परिस्थितिमा आपसी एकता, सहयोग र मानवीय संवेदना नै सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गर्दै सबैलाई एकजुट भएर चुनौतीको सामना गर्न आह्वान गरेका छन्।