सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको कहर

२०७६ चैत्र २७, ०२:११

हिक्मत शाही

जता हेर्छु :
डरैडरकोे कहर छ,
न मुक्त गाउँ देख्छु 
न मुक्त शहर छ।
लकडाउन छ कतै 
क्वारेन्टाइन छ कतै 
मान्छे–मान्छेसँग पर
आइसोलेटेड छ जताततै 
त्यसैले त,
जता हेर्छु 
डरैडरको कहर छ,
न मुक्त गाउँ देख्छु 
न मुक्त शहर छ !

साथ हराएको मान्छे
थातबास हराएको मान्छे
दुई गास टिप्ने,
आफ्नै हात हराएको मान्छे 
त्रासै त्रासको भुमरीमा 
बन्द कोठाभित्र
दिनरात हराएको मान्छे!

आफन्तको साथ छैन
छिमेकीको विश्वास छैन 
आफ्नै निश्वासले समेत धोका दिएपछि 
विश्वास समेत कस्को गर्नु र ?

त्यसैले त
जता हेर्छु
डरैडरको कहर छ,
न मुक्त गाउँ देख्छु
न मुक्त शहर छ!

कसैको आराधना हारेको छ
कसैको भक्ति हारेको छ 
अस्पतालमा ओखती अनि
बिज्ञानको शक्ति  हारेको छ,
कमजोर अनि निमुखो मात्रै कहाँ हो र ?
कतै बाहुबली अनि
कतै महाशक्ति हारेको छ,
त्यसैले त 
जता हेर्छु
डरैडरको कहर छ 
न मुक्त गाउँ देख्छु
न मुक्त शहर छ! 

सन्नाटा छ जतातजै
मौनता छ 
सुनसान छन् शहरहरु
चलायमान समसान छ,
कात्रो छैन कतै
मलामी छैन कतै 
अन्तिम पल्ट लम्पसार पार्न 
दुईगज जमिन छैन कतै ?
जता हेरु लाशै–लास देख्छु
नजानिदो त्रास छ,
त्यसैले त
जता हेर्छु
डरैडरको कहर छ,
न मुक्त गाउँ  देख्छु
न मुक्त शहर छ!

कोही कैदी जस्ता
कोही बन्दी जस्ता 
कोही–कोही मुर्खहरु चैं
कानुन मिचेर
अनुशासन मिचेर
सडकमा मैमत्त घुम्ने 
महादेवको नन्दी  जस्ता,
न लाज छ 
न कुनै सरम छ,
जता सुन्छु भ्रमै भ्रम छ 
त्यसैले त
जता हेर्छु 
डरैडरको कहर छ,
न मुक्त गाउँ देख्छु
न मुक्त सहर छ!

रुने कति 
रुवाउने कति ?
दुख्ने कति 
दुखाउने कति ?
कतै लास देखिन्छ
कतै त्रास देखिन्छ
कमिसन अनि घुसखोरहरु लाई 
कालोबजारी अनि चोरहरु लाई
कोरोनामा समेत 
कमाई गर्ने ठूलो आस देखिन्छ। 

जता हेरु 
राहत त्यस्तै
राहतको नाममा आहत त्यस्तै,
त्यसैले त
जता हेर्छु
डरैडरको कहर छ,
न मुक्त गाउँ  देख्छु
न मुक्त शहर  छ !!
अस्तु

(लेखक–पद्म पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, सिलगढी डोटीमा शिक्षण पेशामा आवद्ध छन्।)

 

कमेन्ट लोड गर्नुस