सुदूर नेपाललाई विश्वसँग जोड्दै

संकटमा हरायो सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रीलाई जस लिन हतार

२०७६ चैत्र २७, १२:०१ जनक विष्ट

धनगढी: सुदूर भन्ने बित्तिकै धेरैले छाउपडी, देउकी जस्ता सामाजिक कुरिती र कुसंस्कारले जेलिएको दुरदराजको ठाउँका रुपमा मात्र बुझ्ने गरेको तितो यथार्थ हो। सुदूरपश्चिमबासीले चाहेर पनि यो पहिचान अहिले सम्म मेटाउन सकेका छैनन्। तर अहिलेको अवस्था सम्म आईपुग्दा झिनो सुधार भएकोमा हामी सबैले गौरव गर्नुपर्ने ठाउँ प्रशस्त छन्।

मानौँ की सामाजिक रुपमा गाडिएको जरा उखेल्न नसकेपनि देउकी प्राथा करिब निर्मुल गर्न हामी सफल भएका छौँ। आशा गरौँ देउकी, छाउपडी जस्ता कुप्रथा विस्तारै मेटिदै जानेछन्। अझ काठमाडौँले जहिल्यै पनि सुदूरपश्चिमलाई सौतेलो व्यवहार गरेको गुनासो गर्नेहरुमा यहाँका सोझासाझा नागरिक मात्र हुन् भन्ने बुझ्यो भने गलत हुन जान्छ।

के साच्चिकै राजधानीले सुदूरपश्चिमलाई तल्लो स्तरको व्यवहार गर्छ, हेपाहा दृष्टि राख्छ ? ठोस जवाफ कस्ले दिने। यही दुरदराजको सुदूरपश्चिमका दर्जनौँ नेताले पटक–पटक देशको नेतृत्व सम्हाल्ने अवसर पाईसकेको कुरा लुकाएर पनि लुक्दैन्। फरक यति छ, कसैले मुख्य भूमिका निभाए। कसैले क्षेत्र विशेषको जिम्मेवारी पाए।

चार पटक देशको प्रधानमन्त्री भएका कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई पनि दुरदराजकै सुदूरले नेतृत्वमा पुगाएको हो। लोकेन्द्रबहादुर चन्द पनि चार पटक प्रधानमन्त्री भए। पटक–पटक मन्त्री हुँदै उपप्रधानमन्त्री समेत भएका राष्ट्रवादी छविका नेता भीम रावल, अहिलेका उद्योग मन्त्री लेखराज भट्ट, पूर्व मन्त्रीहरु रमेश लेखक, एनपी सावद लगायतका दर्जनौँ नेताले विभिन्न मन्त्रालय हाकेका उदाहरण छन्।

तल्लो स्तरको व्यवहार र हेपाहा दृष्टि राख्ने काठमाडौँले यी नेताहरुलाई किन सरकार हाक्ने अवसर दियो ? त्यतीखेर सुदूरको अभाव, कुरिती, कुसंस्कार सारा अधिराज्यमा विस्तार गरिदिन्छन् उनीहरु भन्ने आशंका काठमाडाँैले किन गरेन ? काठमाडौँले नेताहरुमाथि विश्वास गर्न नपर्ने होईन र ? तर त्यो ठानेन्।

किनकी सुदूरपश्चिम यतिकै अभाव, कुरिती, कुसंस्कारले जेलिएको हैन्, त्यसमा यी हस्तीहरुको पनि उतिकै योगदान छ, जती एक अनपढ, अबुझले पुगाएको छ। यो काठमाडौँको हेपाहा प्रवृत्तिले दुरदराजको सुदूर भएको भए, प्रधानमन्त्री, मन्त्री सम्मका अवसर कसरी पाउँथे हाम्रा नेताहरुले। 
                                                      ०००
यतिबेला विश्वलाई कोरोना भाईरसले चुनौती दिईरहेको छ। शक्ति सम्पन्न राष्ट्रहरुमै कोरोना भाईरस नियन्त्रण बाहिर गएको छ। छिमेकी भारतमा पनि कोरोना भाईरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ। भारतमा कोरोनाको संक्रमणकै कारण एक सय ७८ जनाले मृत्यु भईसकेको छ।

ताजा अवस्थामा संक्रमितको संख्या साढे ५ हजार नजिक पुगेको छ। नेपालमा पनि कोरोना भाईरसले नौँ जनालाई अस्पतालको शैया सम्म पुगाएको छ। खुसीको कुरा एक जना लडाई जितेर घर फर्किसकेका छन्। सुदूरपश्चिममा चार जना संक्रमित कोरोनासँग संघर्ष गरिरहेका छन्। तपाई हामी धेरैलाई विदेशबाट फर्किएकाहरुले सुदूरपश्चिममा कोरोना भाईरस ल्यायो भन्ने भ्रम परेको छ।

भारत सहित तेस्रो मुलुकबाट फर्किएका हजारौँलाई व्यवस्थापन गर्न सरकार चुकेपनि सयौँलाई अनिवार्य क्वारेन्टाईनमा राखिएको छ। यहाँ परदेशीले कोरोना बोकेर ल्याएको भन्दै सबै दोष विचरा संक्रमितको टाउकोमा थुपार्ने जबरजस्त प्रयास भईरहेका छन्।

तर सुदूरको गरिबी र अभावले नै कोरोना भाईरस भित्र्याएको कुरा कसले बुझिदिने? मैले माथि उल्लेख गरेका देउवा, चन्द, रावल, भट्ट, सावद, लेखक लगायतका हाम्रो प्रदेशका गहनाले त पक्कै बुझेका होलान् यो कुरा भन्ने लागेको छ।

यहाँको गरीबी र अभावलाई भावनामा बेचेर नै उनीहरुले सुदूरलाई हेपाहा दृष्टि राख्ने काठमाडौँमा महल ठड्याएकै छन्। भगवानले गरिबी र अभावलाई जोगाईदिए भोली फेरी सुदूरपश्चिमबासीको भावाना खरिदबिक्रि गर्ने समय अवश्य आउँने नै छ।  
                                                     ०००
८ पटक सम्म यसै क्षेत्रका व्यक्तिलाई देशको प्रधानमन्त्रीका रुपमा पाएको सुदूरपश्चिमले एउटा भेन्टिलेटर र आईसियु सम्म पाएको छैन्। दशक अगाडी स्थापना गरिएका ५० शैयाका अस्पतालको अवस्था दशकौँ पछि पनि उस्तै छ। कोरोना सुटुक्क सुदूरपश्चिम प्रवेश गरेको भने हैन्।

विपत्त बाजा बजाएर आउँदैन् भनिएपनि कोरोना बाजा बजाएर यहाँ पुगेको थियो। तर  त्यो बाजा बहिरो नेतृत्वले सुनेन वा सुनेर पनि नसुनेझै गरिदियो। उसैले जानोस्। २८ लाख प्रदेशबासीका बिचमा विश्वका शक्ति राष्ट्रले थेग्न नसकिरहेको कोरोना महामारीका रुपमा फैलियो भने हाम्रा अस्पतालले धान्न सक्लान ? कल्पना परको कुरा हो।

धान्न सक्दैन् होला भनेर हातखुट्टा छोडेर बस्ने कुरा पनि भएन। त्यसैले त अस्पतालहरुमा तत्काल अतिआश्यक भेन्टिलेटर, आईसियु लगायतका उपकरणको व्यवस्थापन गर्नुपर्छ भनेर मिडियाहरुले निरन्तार खबरदारी गरेकै छन्। तर मिडियालाई विरोधी तत्व ठान्ने शासकले त्यो आवश्यकता ठानेनन्।

प्रदेशबासीको आशाको केन्द्र सेती प्रादेशिक अस्पतालमा रहेका दुईवटा भेन्टिलेटर सहितको पाँच शैयाको आईसियु छ। तर महाकाली अस्पतालको एक भेन्टिलेर सहित चार शैयाको आईसियु चार वर्ष सम्म चल्न सकेको छैन्। पटक–पटक प्रधानमन्त्री भएका देउवा र चन्द अनि उपप्रधानमन्त्री भएका रावलले वषौँ सम्म स्वास्थ्य सेवा सुदृढ नगरेका कारण यो अवस्था आएको हो भन्न मिल्दैन र ? 

                                                  ०००
अब कुरा गरौँ नयाँ र आशावादी अनुहारहरुको। जसमा पर्छन्, भारतमा वषौँ चौकीदारी गरेर भारतबाटै राजनीति सुरु गर्दै अहिले २८ लाख सुदूरपश्चिमवासीका आशाका पात्र बनेका छन्, मुख्यमन्त्री त्रिलोचन भट्ट। त्यसैगरी पञ्चायतकालमा प्रधानपञ्च सम्हालेका कृष्णराज सुवेदी।

भ्ट्ट मुख्यमन्त्री भएपछि सुदूरको गरिबी र अभावसँग संघर्ष गरेका आम प्रदेशबासी खुसी थिए। सबैमा आशाको सञ्चार गरिदिएका भट्ट भने कोरोनाको महाविपत्तीको बेला उल्टो बाटोतीर लागिरहेका छन्। कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि भट्ट नेतृत्वको सरकारले चाल्न खोजेको सबै कदम स्वागतयोग्य र प्रशसंनिय छन्।

ढिलै भएपनि उनी नेतृत्वको सरकारले कोरोनाको संक्रमण फैलिन नदिन केही गरिरहेको, गर्न खोजे जस्ता संकेत देखिएको थियो। तर सुदूरपश्चिमबाटै कोरोना भाईरस दोस्रो चरणमा प्रवेश गरेका बेला सम्म ती संकेतहरु वास्तविकतामा परिणत भईरहेका छैनन्। ंधेरै चिकित्सकहरुले सुदूरपश्चिमलाई कोरोनाको डेन्जर जोनमा राखेका बेला प्रदेश सरकार कहाँ अल्झीएको छ ?

खोई कोरोना भाईरसका सम्भावित तथा शंकास्पद विरामीको नमुना परिक्षणका लागि स्थापना गर्ने भनिएका तीनवटा ल्याब? खोई कोरोना भाईरसको लडाईमा अग्र मोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सुरक्षा समाग्री ? खोई अस्पतालहरुमा आवश्यक पर्ने भेन्टिलेटर, आईसियु सञ्चालन भएको ? यी तीन गम्भीर प्रश्नको एउटै जवाफ हुन्छ प्रक्रियामा छ।

प्रदेश सरकारको त्यो प्रक्रिया कहिले पूरा हुन्छ? के त्यसका लागि कोरोना भाईरसले अर्को चरणमा पुगिदिनुपर्ने हो ? के अस्पतालको शैयामा पुगेकाहरुले मृत्युवरण गरिदिनुपर्ने हो? हैन् भने किन ढिलाई। के गर्दैछन् मुख्यमन्त्री र मन्त्रीहरु ?  जवाफ फेरी उही आउँछ ‘प्रक्रिया मिलाउँदैछौ।’  
                                       ०००  
१५ चैतमा मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल सहित जिल्ला अस्पताल डोटी र बैतडीमा कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। तर १२ दिन बित्दा समेत सरकारले प्रक्रिया पूरा गर्न सकेको छैन्। हुन त कोरोना भाईरसको रोकथाम तथा व्यवस्थापनका लागि साढे ११ करोड बजेट सामाजिक विकास मन्त्रालयले पाएको छ।

तर आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सहमती नमिल्दा खरिद प्रक्रिया थाल्न नसकेको जवाफ दिएर पन्छीने प्रयास भएको छ। ती प्रयोगशालाहरु कहिले सञ्चालनमा आउँछन् त्यसको अत्तोपत्तो नभएका बेला मन्त्रीहरु भने जस लिन हानथाप गरिरहेका छन्। संघिय सरकारले चीनबाट खरिद गरेर पठाएको प्रयोगशालाका उपकरण बुझ्न दलबल लिएर धनगढी विमानस्थल पुग्ने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको मन्त्रालयले प्रदेशकै प्रयोगशाला सञ्चालन गर्न भने प्रक्रिया थाल्न सकेको छैन्।

उनकै मन्त्रालयले मातहतका निकायलाई समेत त्यो अल्झनमा पारेको प्रष्ट बुझ्न सकिन्छ। अचम्मको कुरा के छ भने, तीन वटा प्रयोगशाला स्थापना गर्ने सरकारका मन्त्री संघिय सरकारले पठाईदिएका दुई वटा प्रयोगशालाका उपकरण बुझ्न मात्र दुई पटक दलबल सहित विमानस्थल पुगे। उनले आफ्नै मन्त्रालयले खरिद गरेको झै गरी मिडियाबाजी गरे।

मन्त्रीका आसेपासे, सल्लाहकार र कार्यकर्ताले पहल गरिदिएकोमा मन्त्री ज्यूलाई बधाई र धन्यवाद दिए। उनका लागि उनी समर्थकले प्रकट गरेको हार्दिकता आफ्नो ठाउँमा ठिक छ। के यो महाविपत्ती कार्यकर्ता र वरीपरी मात्र घुमिरहने समय हो र ? सधै झै नागरिकलाई झुठा आश्वासनमै सिमित पार्ने बेला हो र ? यो त प्रदेशबासीलाई अभिभावकत्वको आभास दिने समय होईन र ? राजनीति भन्दा माथि उठेर काम गर्ने समय पनि यही त हो।

संघिय सरकारको काममा तपाई मात्र हैन् प्रदेशका अन्य मन्त्री र सांसद पनि जस लिन हातथाप गरिरहेको देखियो। लाग्छ की आम नागरिकले अरुका काममा जस लिनकै लागि प्रदेश सरकारको नेतृत्व तपाईहरुलाई दिएका हुन्।

यति नै बेला महामारी व्यवस्थापनका लागि तपाईहरुले लिएका निर्णयको द्रुत कार्यान्वयन गर्दै कोरोनालाई परास्त गर्न सके जस लिनलाई हानथाप नै गर्नुपर्दैन्। आम नागरिकले तपाईहरुको जयजयकार गर्नेछन्।

आवश्यकता पहिचान गरी प्राथमिकरण गर्दै काम गरे, मुख्यमन्त्री र मन्त्रीहरुले संयुक्त रुपमा एक पोका राहात दिएको फोटो भाईरल गर्न कार्यकर्ता र आसेपासे मात्र चाहिदैनन्।

तपाईहरुका विरोधीहरु समेत खुलेर प्रसंशा गर्नेछन्। र उनीहरु सबै मत्थर हुनेछन्। अनी नागरिकमा पनि अरुका काममा जस लिनकै लागि तपाईहरुलाई पालिरहेको छु भन्ने भ्रमबाट मुक्ति पाउँनेछन्। 
                                  ०००
र काठमाडौँको हेपाहा प्रवृत्तीबाट अब सुदूरपश्चिमेली हेपिनेवाला छैनौँ। संघीय सरकार बिना नै सक्षम भएको गतिलो झापड दिने बेला प्रदेश सरकार तिमी किन मौन? आम प्रदेशबासीले प्रश्न गरिरहेका छन्। अझै पनि केही बिग्रिएको छैन्।

यो अवसरको सदुपयोग गर्ने ठाउँ पर्याप्त छन्। मुख्यमन्त्री ज्यू कोरोनाको महामारीबाट सुदूरपश्चिमेली जनतालाई मुक्त गर्न तपाईका निर्णायक कदमको आवश्यकता छ यतिखेर। फलानोलाई अनुरोध र आग्रह गर्ने, गरेका छौँ, प्रक्रिया जारी छ भन्ने छुट छैन् अहिले।

अहिलेका गल्तीहरुलाई सिकाईका रुपमा लिएर सिङ्गो प्रदेशबासीको अभिभावकत्व लिदै प्रदेश सरकारले आवश्यक कदम चाल्ने कुरामा आम नागरिक अझै विश्वस्त र आशावादी छौँ। होईन् भने, काठमाडौँको नजरमा हामी सधै दुरदराज र कुसंस्कारले जेलिएको ठाउँका मानिसका रुपमा कहलिरहनेछौँ। तपाई असफल शासकका रुपममा मात्रै। 

  
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस