आज उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन गरिँदै
काठमाडौँः यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (मंसिर ४ गते) उम्मेदवारको नामावली प्रकाशन गरिदिँदै छ। निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो।
यसअघि सोमवार (मंसिर ३ गते) उम्मेदवारविरुद्ध उजुरी लिने, त्यसपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यक्रम थियो। अब आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो। यसपछि भोलि मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्।
सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। अनि यही दिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। निधनलगायत विभिन्न कारणले देशका विभिन्न स्थानीय तहमा रिक्त ४४ स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो।