सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लाखौँको सुनचाँदी चोरीमा संलग्न दुई जना पक्राउ

२०७६ चैत्र २७, ०९:३० खबर संवाददाता

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडिकै पसलमा भएको चोरीमा संलग्न पक्राउ परेका छन्। गएराती प्रिया सुनचाँदी पसलमा भएको चोरीमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले कारागार रोड घर भएका ४५ बर्षीय पप्पु गुप्ता र उनका छोरा २० बर्षीय पवन गुप्तालाई चोरीको सामान सहित पक्राउ गरिएको बताए।

गुप्ताको साथबाट चोरीका गहना समेत बरामद गरिएको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनले आफ्नो घरको छतमा रहेको पानी ट्याङकी भित्र चोरीका सामान लुकाएका थिए। पप्पु गुप्ता यसअघि पनि सार्वजनिक र लागु औषधको मुद्धामा पटक–पटक पक्राउ परिसकेका थिए।

प्रिया सुनचाँदी पसलका सञ्चालक बिनोद कुमार बर्मा झण्डै १२ लाख बढिको चोरी भएको बताउँदै आएका छन्। उनका अनुसार घरको छतबाट प्रवेश गर्दै पसलको भित्ता फोडेर चोरी गरिएको थियो। उता उप–महानगरकै फुलवारीका पाँच जनाको घरबाट पनि गएराती पानी तान्ने मोटर चोरी भएको छ।

स्थानीय सीमा बोहरा, लक्ष्मण फुलारा, पार्वती पडाल र देवराज भण्डारी लगायतका पाँच जनाको पानी तान्ने मोटर चोरी भएको हो। अहिले चोरीमा संग्लनहरुको खोजीका लागि बहुलिया प्रहरी चौकीबाट प्रहरी खटिएको छ। देशभरी लकडाउन घोषणा गरिए पनि धनगढीमा चोरी नरोकिएको हो।

 

कमेन्ट लोड गर्नुस