लम्कीका उपभोक्ताले चैतमा ११ हजार लिटर पानीको महसुल तिर्न नपर्ने
लम्की : कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको समितिले उपभोक्तालाई सहुलियत दिने निर्णय गरेको छ।
आज साना सहरी खानेपानी उपभोक्ता समितिको आकस्मीक बैठकले उपभोक्ताबाट चैत महिनामा ११ हजार लिटर बराबरको खानेपानीमा कुनै महसुल नलिने निर्णय गरेको कार्यालय प्रमुख जगन्नाथ ढकालले बताए। ढकालले चैतमा प्रति एकजना उपभोक्ताले यसअघि तिर्दै आएको ११ युनिटको महसुल मिनाह गर्ने निर्णय गरेको जानकारी दिए।
यस्तै फाल्गुन र चैत्र महिनाको पानी महसुलमा बिलम्ब शुल्क पनि नलिने, चैतमा बाँकी रिडिङ गर्न बाँकी मिटरको हकमा खपत अनुसार समायोजना गर्ने निर्णय पनि बैठकले गरेको कार्यालय प्रमुख ढकालले बताए।
मिटर रिडिङको काम पनि लकडाउन खुलेपछि गर्ने निर्णय भएपनि पानीको आपूर्ती तथा पाईप लाईन मर्मत सम्भारको काम भने नियमित रुपमा गरिने भएको छ।