सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाइरस र भ्रष्टाचारको जीवन चक्र

२०७६ चैत्र २४, ०३:५६

विष्णु प्रसाद जोशी 
आज विश्व कोरोना भाइरसबाट आक्रान्त छ र नेपाल भ्रष्टाचारबाट! भाइरसको जीवन चक्र –आक्रमण ,सङ्क्रमण, स्वामित्व  ग्रहण र परि भ्रमण अनि भ्रष्टाचारको वृद्धिको दुष्चक्र – मजबुत सरकार, नीतिगत भ्रष्टाचार, दलाल मतियार र कमजोर अख्तियारका बिच धेरै समानता छन्। आउनुहोस् भाइरस र भ्रष्टाचारका लक्षणहरू माथि चर्चा गरौँ र यसलाई विस्तार गर्दै यी दुवै रोगहरूको अनुगमन, परीक्षण र नियन्त्रणका उपायहरू माथि पनि चर्चा गरौँ ! 

भाइरस र भ्रष्टाचारको जीवन चक्रः भाइरस परजीवी कीटाणु हुन् जो अन्य जीवित कोषहरू भित्र प्रवेश पाए पछि मात्र जैविक रूपमा सक्रिय हुन्छन्। भाइरस आफ्नो जीविका – पोषण र  वृद्धिका  लागि अन्य प्राणीका स्वस्थ कोशिकाहरूलाई आक्रमण गरी सङ्क्रमित गर्छन्। बिस्तारै ती स्वस्थ कोशिकाहरूका सञ्चालन, अनुगमन र संरक्षण गर्ने प्रणालीहरूलाई छलेर या आफ्नो नियन्त्रणमा लिएर तिनका साधन स्रोतहरूको उपभोग गर्छन्। 

यसरी भाइरस ती कोशिकाहरूलाई कमजोर बनाई बिस्तारै ती माथि आफ्नो स्वामित्व ग्रहण गरी तिनका साधन स्रोतहरू आफ्नो र आफ्नै नातेदार अरू भाइरसहरूको पक्ष पोषणका लागि उपभोग गर्छन्।  यसरी भाइरसहरूको सङ्ख्यामा कयौँ गुणा वृद्धि हुन्छ। यी भाइरस कोशिका, तन्तु, प्रणालीलाई सङ्क्रमित गर्दै जान्छन् र प्राणीको सूचना सम्प्रेषण, अनुगमन र प्रतिरक्षा प्रणालीलाई छकाई या आफ्नो नियन्त्रणमा लिई  आफू विरुद्ध प्रतिकार गर्न असमर्थ बनाउँदै अन्ततः प्राणीका लागि नै घातक बन्छन्।

ठिक यसरी नै भ्रष्टाचारी आम जनता माथिको अधिकार र शासनको दुरुपयोग गरी तिनकै साधन स्रोत आफ्नो व्यक्तिगत स्वार्थ, नातागोता र आसेपासेहरूको पोषणमा लाग्छन्। बिस्तारै सूचना प्रवाह गर्ने पत्रकारिता, भ्रष्टाचार अनुगमन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान र सम्पत्ति शुद्धीकरण आयोगहरूलाई  आफ्नो नियन्त्रणमा लिई सुशासन र व्यवस्था कायम गर्ने प्रहरी प्रशासन माथि दबाब सिर्जना गरी आफ्नो व्यक्तिगत र दलगत स्वार्थ सिद्ध गर्न परिचालित गर्छन्। यसरी गाउँ, नगर, प्रदेश भ्रष्टाचार बाट सङ्क्रमित हुँदै पुरै देश कमजोर हुँदै जान्छ।  

लक्षण र परीक्षणः भाइरस सङ्क्रमण भएको पत्ता लगाउन लक्षणहरू माथि ध्यान दिनु पर्ने हुन्छ। जब सञ्चार प्रणाली कमजोर हुन्छ तब शरीर सञ्चालनका सामान्य प्रक्रियाहरूमा समेत बाधा  उत्पन्न हुन्छ। शरीर कमजोर भई सामान्य स्वास्थ्य सन्तुलन  र  वृद्धिका सूचकाङ्कहरूमा गिरावट हुँदै जान्छ। सबै प्रणालीहरूमा सुस्ती र विकृति देखिँदा रोगले ग्रस्त व्यक्ति लाई असहाय महसुस हुन्छ। रोगी शरीर विकाश र व्यवस्था सञ्चालन सबैमा पछि पर्दै जानु भाइरसका लक्षणहरू हुन्।   

ठिक यसरी नै जब कुनै राज्यका गाउँ, नगर र राज्य प्रणाली कमजोर हुँदै जानु। विकास र संवृद्धिका सूचकाङ्कहरूमा गिरावट हुँदै जानु। कुनै उद्यम, व्यवसाय दर्ता, सञ्चालन गर्न असहज हुँदै जानु भ्रष्टाचारले ग्रसित हुनुका सङ्केतहरू हुन्। यसलाई समयमै नियमन र नियन्त्रण नगरे अन्ततः समाज र राष्ट्रलाई नै असफलतातर्फ धकेली दिन्छ।  

नियन्त्रण र उपचारका उपायहरू: भाइरस विरुद्ध सचेतना, जागरूकता अपनाउनुका साथै सङ्क्रमण फैलिन नदिन सुरक्षित सामाजिक दुरी बनाउनु पर्छ। भूल बस भाइरसको सम्पर्कमा आएको आशङ्का भए तुरुन्तै हात मुख साबुन पानीले धुनु पर्छ। 

निसंक्रामक रसायन हरूको प्रयोगका साथै  अन्य उपचार विधिहरू पनि अपनाउनु पर्छ र सङ्क्रमित या सङ्क्रमणको आशङ्का भएका व्यक्तिहरूलाई पूर्णतः स्वस्थ नहुन्जेल क्वारेन्टाइनमा बस्नु  पर्ने हुन्छ। ठिक यसरी नै भ्रष्टाचार फैलन नदिन सूचनाको हकको प्रयोग गरी र अनियमितता प्रति शून्य सहनशीलता कायम गर्नुपर्ने हुन्छ। भ्रष्टाचारीको सामाजिक बहिष्कारका साथै आवश्यक परे जेलमा पनि राख्नुपर्ने हुन्छ।  

आज कोरोना भाइरसले महामारीको रूप लिँदै छ। अर्थतन्त्र, व्यापार, पारवहन ध्वस्त बनाई विश्वको गतिलाई नै सुस्त बनाएको अवस्थामा हामीले यो विषम परिस्थितिबाट केही पाठ सिक्नै पर्छ। नेपालमा यो भ्रष्टाचारको भाइरसले महामारीको रूप लिन नदिन समयमै भ्रष्टाचारीहरूको सामूहिक बहिष्कार गर्दै अख्तियार र सम्पत्ति शुद्धीकरण जस्ता निकायहरूमा उजुरी दिँदै सूचनाको हक माग्नु पर्छ। भ्रष्ट्राचारी प्रति शून्य सहनशीलता अपनाउँदै उनीहरूबाट सुरक्षित सामाजिक दुरी अपनाऔँ। आउनुहोस् यो भाइरसको महामारीको विरुद्ध सिकेका पाठहरूलाई भ्रष्टाचार विरोधी अभियानमा पनि व्यवहारमा उतार्न सकौँ। 

(लेखक जीव–रसायन शास्त्रका शोधकर्ता र नेपालको सम–सामयिक राजनीतिका विश्लेषक हुन। रसायन शास्त्रमा विद्यावारिधि गरेका उनको घर बझाङको खप्तडछान्ना–५ पिठेतोला हो। हाल उनी युनिभर्सिटी अफ म्यसाचुसेट्स, अमेरिकामा अध्ययनरत छन्।)

कमेन्ट लोड गर्नुस