सुदूर नेपाललाई विश्वसँग जोड्दै

धारिलो हतियार प्रयोग गरि अन्धाधुन्ध आक्रमण गर्दा दुई जनाको मृत्यु

२०७६ चैत्र २२, ०९:५४

फ्रान्सको दक्षिणपूर्वमा रहेको सहरमा एक व्यक्तिले शनिबार धारिलो हतियार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य चार जना सख्त घाइते बनेका छन्। प्रहरीले आक्रमणका पछाडि आतङ्कवादी समूहको सम्लग्नतालाई खारेज गरेको छ। आक्रमण किन र कसले गराएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो।

प्रारम्भिक रिपोर्ट अनुसार आक्रमणकारीले ग्रेनोबल नजिकैको सहर रोमान्स सरआइजरस्थित एक सुर्तीजन्य उत्पादन विक्री गर्ने खुद्रा पसलमा प्रवेश गरी पसल धनी र त्यहाँ भएका उनका ग्राहकमाथि धारीलो हतियारद्वारा आक्रमण गरेको बुझिएको छ।

आक्रमणकारीले उक्तस्थानपछि फेरि एक मासु पसलमा पुगी थप व्यक्तिमाथि आक्रमण गरेको प्रहरीले प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै जानकारी दिएको छ। आक्रमणको उद्देश्य अझै थाहा हुन सकेको छैन। आक्रमणकारी सुडानमा जन्मिएका ३३ वर्षीय युवक रहेका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

यसैबीच राष्ट्रपति इम्यानुयल म्याक्रोँले आक्रमणप्रति दुःख व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै लेखेका छन्, “यतिवेला म आक्रमण भएको रोमन्स सरआइजरवासीहरूसँग पीडा व्यक्त गर्न चाहन्छु। मृतकप्रति सम्मान व्यक्तगर्दै उनीहरूका परिवारजनलाई समवेदना व्यक्त गर्दछु। घाइतेहरूको उपचारको सहज व्यवस्थाका लागि पनि स्थानीय प्रशासनलाई आग्रह गर्दछु।”

राष्ट्रपतिले घटनाबारे छानविन गरी छिट्टै तथ्य बाहिर आउनेमा उनले मृतकका परिवार तथा घाइतेजनलाई विश्वस्त पारे। आजै गृहमन्त्री क्रिस्टोफर कासनर स्थानीय समयअनुसार अपरान्ह् ४ बजे घटनास्थलमा पुग्ने बताइएको छ। विश्वव्यापी कोरोनाभाइरसको सङ्क्रमणका कारण फ्रान्समा अहिले लकडाउन भैरहेको छ भने अति आवश्यकीय कामबाहेक अन्यथा घरबाहिर ननिस्कन यहाँको प्रशासनले नागरिकलाई आग्रह गरेको छ। रासस
 

कमेन्ट लोड गर्नुस