सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

२०७६ चैत्र २२, ११:१७ खबर संवाददाता

अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या सात हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या सात हजार एक सय ५२ पुगेको हो।

अहिलेसम्म अमेरिकामा समग्र संक्रमितको संख्या दुई लाख ७७ हजार पुगेको छ। जसमध्ये करिब १० हजार मानिस निको भएर घर फर्केका छन्। चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को महामारी अहिले विश्वभर फैलिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भाइरस नियन्त्रणको जिम्मा सम्बन्धित राज्यका गभर्नरलाई सुम्पिएको बताएका छन्। यसअघि उनले भाइरस नियन्त्रणका लागि उचित कदम नचालेको भन्दै उनको आलोचना हुँदै आएको थियो।

अमेरिका कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक बनेको छ। अहिले विश्वभर कोभिड–१९ बाट संक्रमित हुने मानिसको संख्या १० लाख ९८ हजार नाघेको छ भने अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५८ हजार नौ सय नाघेको छ।
 

कमेन्ट लोड गर्नुस