सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशका प्रयोगशालाबाट रिपोर्ट पोजेटिभ आए पुनःपरीक्षण, नेगेटिभ आए घर फिर्ता !

२०७६ चैत्र २१, ०७:०४ नवराज पनेरु

धनगढी : शुक्रवार मात्रै पोखरामा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालामा एक जनाको रिपोर्ट पोजेटिभ आएको भन्दै प्रदेशका मन्त्रीले नै सञ्चार माध्यमलाई जानकारी गराए। प्रदेशको सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आफ्नो वेवसाईटमा संक्रमितको सङख्या नेपालमा ७ पुगिसकेको अपडेट गरे। तर दिउसो ४ बजे संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित व्रिफिङ गर्दै पोखरामा कुनै पनि विरामीमा कोरोना नभेटिएको जानकारी गराए।

उनले भनेका थिए, ‘प्रदेशमा मेसिनहरु गएको छ। त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ। केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ। मतलव, संख्याचाहिँ यथेष्ठ रुपमा गरेर, पोजेटिभ, नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाइड भयो भने यो सब सिस्टम ठीक छ भनेर यो एउटा सामान्य गतिविधि हो।’ उनको यो कुराले प्रदेशका प्रयोगशालाको रिर्पोटको भर छैन् भन्ने बुझिन्छ। अर्थात प्रदेशमै ल्याव सञ्चालन भएपनि फेरी भेरिफाइडको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाउनपर्छ भन्ने उनको आशय थियो। 

संघीय सरकारले धनगढीमा पनि सेती प्रादेशिक अस्पतालमा बिहिवारदेखि कोरोना परीक्षण प्रयोगशाला सुरु गरेको छ। दुई दिनमा चार जनाको थ्रोट स्वावको नमूना परीक्षण भएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामै कार्यरत एक जना स्वास्थ्यकर्मीले भने, ‘अहिले सम्म कुनै पोजेटिभ केस आयो भने पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन भनिएको छ। तर नतिजा नेगेटिभ आयो भने पुनःपरिक्षणका गर्नु पर्दैन् भनिएको छ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि धनगढीका आएका मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिल प्रशाद लेखकले दिनेश खवरलाई भने, ‘पोजेटिभ केसको भेरिफाइडको लागि हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनु नै पर्ने हुन्छ। कतिपय डाउट केसमा नेगेटिभको समेत हामी पुष्टिका लागि केन्द्रमा स्वाव पठाउँछौ।’ उनका अनुसार कोरोना परीक्षणमा समयले पनि धेरै असर पर्ने गरेको छ। ‘स्वाव संकलनको धेरै समयपछि परीक्षण गरियो भने पोजेटिभ देखाउने सम्भावना न्यून हुन्छ। त्यसैमा स्वाव कसरी पठाईयो भन्ने विषय पनि निकै महत्वपूर्ण हुन्छ। सकभर स्वाव संकलन भएकै दिन परीक्षण हुन आवश्यक छ।’ लेखकले दिनेश खवरलाई भने।

केन्द्रकै भर
प्रदेश स्तरमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता रहेको छ। धनगढीमा प्रयोगशाला स्थापना भएको दुई दिनमा चार जनाको परीक्षण मात्रै भएको छ। तर दैनिक धेरै व्यक्तिको नमूना संकलन भईरहेको छ। परीक्षण सुस्त र नमूना संकलन धेरै हुँदा फेरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै स्वाव पठाउनु पर्ने देखिएको छ।

अहिले सम्म सुदूरपश्चिमबाट एक सय ६४ जनाको स्वाव संकलन भएकोमा ४५ जनाको मात्रै रिर्पोट आएको छ भने बाँकी एक सय १९ जनाको रिर्पोट आउन बाँकी छ। सुदूरपश्चिममा क्वारेन्टाईनमा राखिएका व्यक्तिको मात्रै नमूना संकलन हुने हो भने प्रदेश प्रयोगशालाले चाप थेग्न सक्ने अवस्था छैन्।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि धनगढीका आएका मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिल प्रशाद लेखकका अनुसार प्रदेशमा स्थापना भएको प्रयोगशालामा बढिमा एक घण्टा १० मिनेटमा कोरोनाको रिर्पोट आउँछ। तर दुई दिनको अवधीमा त्यो गतिमा भने रिर्पोट आएको छैन्। अर्कोतर्फ प्रदेशमा परीक्षण भएर पनि पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमै पठाउनुपर्ने भएकाले केन्द्रकै भर पर्नुपर्ने देखिएको हो। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस