भारतबाट ठिकै छु आमा भनेका डोटीका कलम उतै अस्ताए
‘आमा मेरो चिन्ता नलिनुस् म ठिकै छु। तपाई आफ्नो ख्याल गर्नुहोला।’ परदेशबाट छोराले टेलीफोनमा आमालाई सम्झाउँदै भनेका थिए। ‘तपाईका नातीनतिनाको पनि ख्याल राख्नुहोला है।’छोराले आफू ठिकै छु भनेपनि कहिलेकही बिरामी परिरहने भएकै कारण छोरालाई झुपीदेवीले भनेकी थिईन्, ‘घरपरिवारको चिन्ता नलेउ बाबु तिमी पनि आफ्नो ख्याल राख्नू।’
अहिले कस्तो छ नी? छोराको जवाफ थियो, ‘आमा मलाई ठिक छ।’ तर आमाछोराबिचको यो सम्वाद भएको १२ घण्टा नबित्दै छोरा सदाका लागि संसारबाट विदा भईसकेको खबरले झुपीदेवी भक्कानीनु बाहेक अरु के नै गर्न सक्थिन र !
०००
डोटीको बोगटान गाउँपालिका ७ मा रहेको झुपीदेवी पन्छालको बुढेसकालको एक मात्र साहारा दैवले चुडेर लगेको अस्ती मात्र हो। अहिले उनी विछिप्त छिन्। बेला बेला खोजिरहन्छीन्, आफ्नो वरीपरी त्यो आशाको केन्द्रलाई। तर अह भेटिदैन्। भेटिन्छन् त केवल उनका विगत मात्र।
उनले फोनमा भनेको, ‘ठिकै छु भनेको आमा’ घरी घरी कान सम्झनामा आईरहन्छ। १५ वर्षको उमेरमा विवाह गरेकी झुपीदेवीको छोरा गर्भमा हुदै छोडेर गएका थिए, उनका जीवन संगीनीले। तैपनि उनले हरेश खाईनन्। उनले जब कलमलाई उज्योला संसारमा ल्याईन्।
कलमको आमा भनेपनि, बुबा भनेपनि झुपीदेवी नै थिईन्। उनले बुबा नखोजेका त होईनन् तर त्यो असम्भव थियो। कलमलाई सुखदुःख कटाएर जेनतेन हुर्काएकी झुपीको बुढेसकालको साहाराको केन्द्र नै छोरा थिए। तर दैव पनि कति निष्ठुरी रहेछ। ५० वर्षको उमेरमा आएर झुपीदेवीको साहारा सधैका लागि खोसिदियो। हो खोसिदियो।
०००
रोजगारीका सिलसिलामा लामो समयदेखि भारतको भारतको महाराष्ट्र पुनामा रहेका कलम अस्पतालको शैयाबाटै सदाका लागि अस्ताएको अपत्यारिलो खबर। अन्ततः पत्याउनै पर्ने भयो, उनले। लामो समयदेखि क्षयरोगले पीडित झुपीदेवीका एकमात्र सन्तान कलम उतै अस्ताए।
दैवले कलमलाई सदाका लागि यो संसारबाट विदा गरेर आमाको बुढेसकालको सहारा मात्र खोसेनन्। उनका अबोध तीन छोराछोरीको साहारा र खुसी पनि लुटिदिएको छ। कलमका दुई छोरा र एक छोरी टुहुरा भएका छन्। भारतमै रोजगारी गरी उनीहरुको पालन पोषण गर्दै आएका थिए कलम।
तर अब भने सक्ने छैनन् उनी छोराछोरीका पालनपोषण र पढाई खर्च पठाउन। भारतमा रहेका आफन्तले अन्तिम संस्कार गरेपछि यता श्रीमती अहिले किरियामा बसेकी छन्। तर थाहा छैन्, उनलाई टुहुरा छोराछोरीको पालनपोषण कसरी गर्ने हो ?
फेरी बुढेसकालले छाएकी आमाकै टाउकोमा जिम्मेवारी आएको छ। तीन जना मध्ये एकजनाको बोगटान गाउँपालिकाले पढाई खर्च व्यर्होने भएको छ।
गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्शिलाले भने, ‘टुहुरा बालबालिकाको पालनपोषण र पढाईमा सहयोग गर्ने नीति अनुसार उहाँका एउटा सन्तानको जिम्मा हामी लिन्छौँ।’