सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एक हजार ४ सय जना अनिवार्य क्वारेन्टाईनमा राखिए

२०७६ चैत्र १८, ११:१८ खबर संवाददाता

सुदूरपश्चिममा भारत सहित तेस्रो मुलुकबाट आएका एक हजार ४ सय जनालाई अनिवार्य क्वारेन्टाईनमा राखिएको छ।  प्रदेशका विभिन्न ठाउँमा सुदूरपश्चिम सरकार, स्थानीय तह र नेपाली सेनाले स्थापना गरेका तीन हजार ६ सय ६० शैयाका क्वारेन्टाईनमा एक  हजार ४ सय ७ जनालाई अनिवार्य क्वारेन्टाईनमा राखिएको हो।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेशभरी अहिले सम्म एक हजार चार सय ७ जनालाई अनिवार्य क्वारेन्टाईनमा राखिएको जानकारी दिए। कार्कीले कैलाली कञ्चनपुर सहित प्रदेशका नौँ वटै जिल्लामा भारत तथा अन्य मुलुकबाट आएका समेत गरी एक हजार दुई सय ५७ पुरुष, एक सय ११ महिला र ३९ बालबालिकालाई विभिन्न ठाउँका क्वारेन्टाईनमा राखिएको बताए।

उनका अनुसार सबैभन्दा बढि डोटीमा तीन सय ९४ जना क्वारेन्टाईनमा बसेका छन् भने सबैभन्दा कम कञ्चनपुरमा २६ जना मात्र अनिवार्य क्वारेन्टाईनमा बसेका छन्। यस्तै बझाङमा दुई सय ३०, बैतडीमा दुई सय ८०, कैलालीमा एक सय ८९, दार्चुलामा एक सय ४५,  अछाममा ५३, बाजुरामा ५५ र डडेल्धुरामा ३५ जना क्वारेन्टाईनमा बसेका छन्।

संघिय सरकारले भारतबाट फर्किएका सबै व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्न निर्देशन दिएको थियो। तर सुदूरपश्चिममा भारतबाट डेढ लाख बढि फर्किएको भएपनि अहिले सम्म न्युन संख्या मात्र अनिवार्य क्वारेन्टाईनमा राखिएका छन्।

अन्यलाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरिएको सामाजिक विकास मन्त्रालयले बताउँदै आएको छ। 
 

कमेन्ट लोड गर्नुस