सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट रकमान्तर गरेर पनि कोरोना रोकथाममा लाग्न धनगढीका नागरिक अगुवाको माग

२०७६ चैत्र १३, ०६:५३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारलाई बजेट रकमान्तर गरेर भएपनि प्रदेशस्तरिय कोरोना रोकथाम आकस्मिक कोष बनाउन धनगढीका नागरिक अगुवाले माग गरेका छन्।

बिहिबार विज्ञप्ति निकाल्दै प्राध्यापक डाक्टर हेमराज पन्त, डाक्टर गणेशबहादुर सिंह, सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमाल, नागरिक अगुवा धर्मराज पाठक, प्रमोद पाठक, दिनेशराज भण्डारी र वीरबहादुर जेठाराले सरकारलाई ध्यानाकर्षण गराएका हुन।

उनीहरुले ५ बुँदे सुझावसहितको माग राखेर सुदूरपश्चिममा कोरोना भाइरस फैलिन नदिन सम्पूर्णको भुमिका आवश्यक रहेको जनाएका छन्। ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ भाइरसका कारण सिर्जित परिस्थितिबाट हामी सुदूरपश्चिमवासी पनि जोखिममा रहेका छौं। कोरोना भाइरसका कारण निम्तिएको महाविपत्तिको यस घडीमा हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ। यसै सन्दर्भमा नागरिकका सरोकारहरुलाई हामी तपसिलका व्यक्तिहरुले यस प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका र्छौ’ विज्ञप्ति भनिएको छ।

यी हुन मागहरुः

१. कोरोना भाइरसका कारण निम्तिएको विपत्तिको यस घडीमा संयमता अपनाउन, सरकारको निर्देशनलाई पालनगरी घरमै बसिदिन, संक्रमण हुन नदिनका लागि आवश्यक स्वास्थ्य सावधानी अपनाउन तथा कोरानाले निम्त्याएको यस युद्धलाई परास्त गर्न सबैले ऐक्यवद्धता प्रकट गरिदिन सम्पूर्ण सुदूरपश्चिमवासी नागरिकहरुमा हार्दिक अपिल गर्दछौं।

२. कोरोना भाइरसको थप संक्रमणलाई बढन नदिन भारत तथा अन्य मुलुकबाट सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्नुभएका सम्पूर्ण महानुभावहरुका लागि १४ दिन क्वारेन्टाइनमा वस्ने व्यवस्था गर्न, संक्रमणको कुनै लक्षण देखापरेमा थप उपचारको लागि आइसोलेसनमा पठाउने व्यवस्था गर्नका लागि आवश्यक पहल, समन्वय तथा व्यवस्थापन गर्न यस प्रदेशका सवै स्थानीय सरकारहरुलाई अनुरोध गर्दछौं। साथै उक्त कार्यमा सहयोग गर्न विदेशबाट आउनुभएका सबै नागरिकहरुमा अनुरोध पनि गर्दछौं।

३. कोरोना संक्रमणको परिक्षणका लागि आवश्यक ल्याब, किट तथा प्राविधिक जनशक्तिको तत्काल सुदूरपश्चिममै व्यवस्था गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहका लागि आवश्यक वातावरण निर्माण गर्न तथा संक्रमितहरुका लागि सुविधा सम्पन्न आइसोलेसन वार्डहरुको व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग जोडदार माग गर्दछाैं।

४. कोरोनाको थप संक्रमण हुन नदिनका लागि सम्पूर्ण देशबन्द रहेको यस घडीमा दैनिक ज्याला मजुदुरीगरी जीवन निर्वाह गरिरहेका परिवारहरुका लागि आवश्यक खाद्यान्न लगायतका राहत समाग्रीको व्यवस्था गर्न तथा आम नागरिकहरुका लागि आवश्यक उपभोग्य सामाग्रीहरुको आपुर्ति व्यवस्था मिलाउन स्थानीय सरकारहरु तथा प्रदेश सरकार समक्ष माग गर्दछाैं।

५.कोरोनासँग लडनका लागि आगामी दिनमा थप स्रोतको आवश्यकता पर्ने देखिएकोले प्रदेश स्तरिय आकस्मिक कोष निर्माण गर्न र सो कोषमा प्रदेश सरकारको बजेट रकमान्तर गर्ने, साथै विपत्तिको यस घडीमा सहयोग गर्न इच्छुकहरुलाई समेत सो कोषमा रकम जम्मा गर्न अनुरोध गर्ने तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी सो रकमलाई कोरोनासँग लडनको लागि आवश्यक क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गर्दछौं।

कमेन्ट लोड गर्नुस