सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो टापु जहाँ महिलालाई स्वागत, तर पुरुषलाई प्रतिबन्ध

। फोटो स्रोत ।
२०७६ फाल्गुन २८, १२:०६ खबर संवाददाता

फिनल्याण्डमा एउटा यस्तो टापु छ, जहाँ पुरुषहरूलाई जान प्रतिबन्ध लगाइएको छ। उक्त अनौठो टापुको नाम सुपरशी आइल्याण्ड हो। फिनल्याण्डको बाल्टिक सागरनजिकै रहेको यो टापुमा केवल महिलाहरू मात्र जान पाउनेछन्।

यही वर्षदेखि यो टापु मानिसहरूका लागि खुल्ला हुनेछ। तर त्यहाँ केवल महिलाहरू मात्र जान पाउनेछन्। अमेरिकाकी एक महिला व्यापारी क्रिस्टिना रोथले यो टापु खरीद गरेकी हुन्। ८ दशमलव ४७ एक्कड क्षेत्रफलमा फैलिएको उक्त टापुलाई महिलाको मात्र गन्तव्य बनाउने योजना छ।

क्रिस्टिना लामो समयदेखि यस्तो ठाउँको खोजीमा थिइन् जहाँ केवल महिलाहरू आएर आफ्नो बिदा मनाउन सकून्। महिलाहरूले त्यस ठाउँमा कुनै पनि समस्या भोग्नु नपरोस्। त्यही खोजीमा भौतारिँदै गर्दा उनी आफैंले सन् २०१७ मा खरीद गरेको टापुलाई नै आफ्नो इच्छा मुताविकको ठाउँ बनाउने फैसला गरिन्। त्यो टापुमा महिलामैत्री फिटनेस, पोषण, खेलकुद, स्पा, साउनालगायतका सबै सुविधा हुनेछन्। अहिले त्यहाँ व्यापक रूपमा निर्माणकार्य भइरहेको छ।

टापुमा रहेको भव्य रिसोर्टमा ४ वटा क्याबिन हुनेछन्, जसमा १० जना महिलाहरू आरामसँग बस्न सक्नेछन्। उक्त रिसोर्टको एउटा क्याबिनका लागि पाँचदिनको ७ लाख रूपैयाँ सम्मको मूल्य तिर्नुपर्नेछ। उक्त टापुमा बस्न जानका लागि नाम दर्ता गराएर स्काइपीबाट अन्तरवार्ता दिनुपर्नेछ। अन्तरवार्तामा उत्तीर्ण भएमात्रै पालो पर्खेर त्यहाँ जान पाइनेछ।

के पुरुषसँग आफूलाई घृणा भएर क्रिस्टिनाले महिलामात्र जान पाउने टापु बनाउन लागेकी हुन् त? होइन। आफूलाई पुरुषसँग कुनै वितृष्णा नभएको र भविष्यमा उक्त टापुलाई पुरुषका लागि समेत खुल्ला गर्ने उनको भनाइ छ। एजेन्सी

कमेन्ट लोड गर्नुस