सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुल छुट्टी भो! बालबालिकालाई यी कुरा गर्न दिनुहोस्

२०७९ चैत्र २०, ०६:३४ खबर संवाददाता

धनगढीः कक्षा नर्सरी देखि ८ सम्म अध्ययनरत बालबालिकाको वार्षिक परीक्षा सकिएको छ। उनीहरुलाई कम्तीमा १४/१५ दिन जतिको छुट्टी  भएको छ। र, यो समयलाई सदुपयोग गर्ने वातावरण मिलाउनु भयो भने बालबालिकाको सर्वाङ्गीण सिकाइ हुन सक्छ।

१) बालबालिकालाई कम्तीमा उनीहरूले खाएका थाल कचौराहरु माझ्न लगाउनु होस्। लुगा धुन सिकाउनु होस्। यी कुराले उनीहरूमा काम गर्ने र समय सदुपयोग गर्ने बानीको विकास हुन्छ।
२) उनीहरूलाई बोट बिरुवा र फूलहरूमा बिहान बेलुका पानी हाल्न लगाउनु होस्। यसले उनीहरूलाई प्रकृतिसँग प्रेम गर्न सिकाउने छ।

३) बिहान / बेलुका आफूसँगै आफ्नो खेतबारी/ करेसाबारीमा डुलाउन लैजानु होस्। उनीहरूलाई खेतीपाती देखाउनु होस्। यस्तो गर्दा उनीहरूले खेतीपाती र मानिसको जीवन बिचको सम्बन्ध थाहा हुनेछ।
४) कुनै दिन कुलोको मुहान, नजिकैको पाखो, पखेरो, बुट्ट्यान वा झाडी रूख बिरूवा अनि त्यहाँ बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु/ चिनाउनु होस्। यस्तो गर्दा उनीहरूलाई प्रकृतिसँग साक्षात्कार गर्ने अवरसर प्राप्त हुन्छ।

५) ४/६ दिन आफन्तकोमा भेट गर्न र चिनजान गराउन लैजानु होस्। यस्तो गर्दा उनीहरूमा र सामाजिकीकरण हुन्छ।
६) बालबालिकालाई चाडबाड, जात्रा वा पर्वहरुमा लैजानु होस्। पर्वको महत्व सम्झाउदै नव  वर्षको दिन एका बिहानै नजिकको नदिमा स्नान गर्न लैजानु होस्। यसले संस्कार र संस्कृतिसँग साक्षात्कार गर्ने अवसर प्रदान गर्छ।

७) गाँउमा पाइने काफल , बयर , अमिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो,  कालीगेडी, निमपत्ता , बडहर , सिमल ऐंसेलुलगायतका फलफूल तथा रूखविरूवाहरु चिनाउनु होस्। सम्भव भएका फलफूल खान दिनुहोस्| औषधि प्रयोग गरि पकाएका स्याउ, सुन्तला, केरा मात्रै खान बल नगर्नुहोस्।

८) कम्तीमा दुईचार छाक आटो, पिठो, ढिडो, उसिनेको, पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउनु होस्। यसले तयारी खानेकुरा मात्रै खाने रुचि घटाउन मद्दत्त गर्छ।
९) सकेसम्म मोवाईलमा झुण्डिन नदिनु होस्। मोवाईलमा के कस्ता एपहरु चलाएका छन्। ती कुरा चेक गर्नु होस्। टेलिभिजनका राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होस् तर अनावश्यक सिरियल हेर्नबाट रोक्नुहोस्।

१०) केही राम्रा कथाका किताबहरु पढ्न लगाउनुहोस्। यसोगर्दा उनीहरूमा राम्रा किताव खोजेर बढ्ने बानीको विकास हुन टेवा पुगाउने छ।
११) कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न लगाउनुहोस्। घरमै पालेको भएमा विशेष स्याहार सिकाउनु होला। गाई भैंसी पाल्नु भएको छ भने त्यसको पालन पोषण, दुध दुहुने, डेरी लैजाने तथा त्यस सम्बन्धी ब्यवसायीक योजना सुनाउनु होस्।

१३) आठ, नौ र दशमा पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका भए यो देशमा केही गर्नु पर्छ भनी सिकाउनुहोस्। यो भन्दा सुन्दर अर्को स्वर्ग पृथ्वीमा छैन भनिदिनुहोस्। (साभारः सामाजिक सञ्जालबाट)
 

कमेन्ट लोड गर्नुस