सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसकारण बच्चाहरुलाई संगीत मन पर्छ!

। फोटो स्रोत ।
२०७६ फाल्गुन २०, ०६:१८ खबर संवाददाता

नर्सरीको राइम्स होस् या ‘बेबी शार्क’ बच्चाहरु थरीथरीका संगीत रुचाउँछन्। यस्तोमा संगीतको के कुराले बालबालिकालाई धेरै मोहित गराउँछ र यसले तिनको वृद्धि विकासमा कस्तो प्रभाव पार्न सक्छ भन्ने सम्बन्धी वैज्ञानिकहरुले नयाँ रिसर्च गरेका छन्। बालबालिका र वयश्कमा सांगीतिक विकासकी विज्ञ डाक्टर लरेन ट्रेनरका अनुसार संगीत र धुनसँग मान्छेको सम्बन्ध जन्मनुभन्दा धेरै पहिले सुरु भइसकेको हुन्छ। 

यसमा बच्चाहरुले पेटमा हुँदैखेरि बाहिरी दुनियाँका सबै आवाज सुन्न सक्ने डाक्टर ट्रेनर बताउँछिन्। यसअघि बच्चाहरुको सुन्ने क्षमताले आमाको पेटमा रहेको ६ महिनापछि मात्र काम गर्ने बताइएको थियो तर वास्तवमा उनीहरुले धेरै अघिदेखि नै ‘म्युजिकल मेमोरिज’ अर्थात् सांगीतिक यादहरु बनाउन सुरु गरिसकेको हुने पाइएको छ। डाक्टर ट्रेनर भन्छिन्, “सुरुवाती दिनदेखि नै शिशुहरु सक्रिय रुपमा संगीतमा सहभागी हुने प्रयास गरिरहेका हुन्छन्। त्यसैले उनीहरु कुनै पनि कुराको प्रतिक्रिया दिन सक्ने भएलगत्तै उनीहरुले संगीत सुनेमा ताली बजाउने, शरीर हल्लाउने, सँगसँगै गाउन खोज्ने गरिरहेका हुन्छन्।” 

उसो भए अभिभावकले आफ्ना बच्चाहरुको संगीत मोहमा कस्तो योगदान पुर्याउन सक्छन् त भन्ने प्रश्न पनि आउँछ। यसमा ट्रेनरको रिसर्चका अनुसार र आफ्ना अभिभावकसँग संगीतमा रमाउने गरेका र संगीतयमय माहोलमा नहुर्किएका बालबालिका बीच धेरै फरक हुने गर्दछ। उनी भन्छिन, “धेरै अगाडिदेखि नै संगीतसँग परिचित बालबालिकाहरुमा भाषा सम्बन्धी क्षमता छिटै विकसित हुन्छ। उनीहरु अन्यको तुलनामा बढी सामाजिक हुन्छन्, तिनलाई शान्त गर्न पनि सहज हुन्छ र मुस्कुराइरहने स्वभावका हुन्छन्।” 

केही वर्ष अगाडि प्रकाशित अध्ययनहरुमा पनि मोजार्टका केही क्लासिकल संगीत दिमागी विकासका लागि धेरै उपयोगी हुने उल्लेख गरिएको थियो। तर नयाँ रिसर्चहरुले भने यसमा संगीतको किसिम नभएर माहोल र भावनामा निर्भर हुने स्पष्ट पारेका छन्। बच्चाहरुसँग संगीतको प्रकार छुट्याउन सक्ने क्षमता विकास भइसकेको नहुनाले पनि केबल उनीहरु खुसी हुने गीतले नै फाइदा पुर्याउन सक्ने बताइएको छ। यसमा बच्चाहरुले मन पराउने गीत भनेको हाँसोयुक्त, एकै किसिमको धुन दोहोर्याइएको, जीवजन्तुहरुको आवाज निकालिएका र मधुर संगीत हुन सक्छन्।

त्यस्तै संगीत र धुन बच्चाहरुलाई खुसी बनाउनसँग मात्र सम्बन्धित छैन। यसमा उनीहरुलाई शान्त पार्ने शक्ति पनि हुन्छ। जस्तै हजारोँ वर्ष अगाडिदेखि नै एउटा कुनै धुन गुनगुनाएर उनीहरुलाई सुताउने चलन रहँदै आएको छ। र, यो चलन सबै परम्परा र संस्कृतिमा उत्तिकै लागु हुन्छ। वैज्ञानिक तर्कअनुसार पनि सुस्त किसिमका संगीतले हाम्रो दिमागको ‘पेन रिसेप्टर्स’ अर्था दुखाइ अनुभूति गर्ने प्रणालीलाई बन्द गराइ हामीलाई निदाउन तयार पार्दछ। 

ट्रेनरका अनुसार त्यस प्रकारले बच्चालाई गुनगुनाउनुले उनीहरुलाई श्रवण अनुभूति मात्र दिलाउँदैन, अरु विभिन्न सेन्सरी अनुभव पनि प्रदान गरिरहेको हुन्छ। प्रायः बच्चाहरुलाई सुताउनका लागि कुनै धुन गुनगुनाउने गर्दा हामीले तिनीहरुलाई हल्लाउने पनि गरिरहेका हुन्छौँ। यसबाट पनि उनीहरुले लय सम्बन्धी जानकारी पाइरहेको हुन्छ।  बीबीसी
 

कमेन्ट लोड गर्नुस