धनगढीमा राष्ट्रपतिले भनिन्– 'सुदूरपश्चिमका शैक्षिक संस्था सुदृढ बनाउनुपर्छ'
धनगढी : राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाली भाषा विश्वको उन्नत भाषाको रुपमा स्थापित भएको बताएकी छिन्। धनगढीमा आयोजीत विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्दै उनले महोत्सवबाट नेपाली साहित्य पनि विश्वको उन्नत साहित्यको रुपमा स्थापित गर्ने मार्ग खुलाउने बताइन्।
उनले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताइन्। ‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पुर्याउन्छ’ उनले भनिन्, ‘सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने मैले महशुष गरेकी छु।’ उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि रहेको बताइन्।
उनले भनिन्, ‘पहलमानसिंह स्वार, जयपृथ्वी सिंह जस्ता अग्रज श्रष्टाहरुको अतुलनीय योग्गानले नेपाली भाषा, साहित्यको उत्थान भएको छ।’ ‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पु¥याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न समेत सफलता हासिल गर्ने छ’ उनले विश्वास व्यक्त गरिन्।
उद्घाटन कार्यक्रममा सताव्धी पुरुष सत्यमोहना जोशी, वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकारहरु मोदनाथ प्रश्रित, आरडी प्रभात चटौत, वद्रीनाथ भण्डारी, तुल्सीराम जोशी, निर्माण व्यवसायी मदन कुँवरलाई सम्मान गरिएको छ। राष्ट्रपति भण्डारीले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र जातजातिहरुको संस्कृति झल्किने सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो। पञ्चेवाजा, हुड्के, भुवा, होरी, छलिया, सखिया, झुम्रा, मुग्रहुवा लगायतका नाचको झाँकी प्रदर्शन गरिएको थियो।