सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ लेन सडक नै ट्याङकर व्यवासायीको पार्किङ स्थल बन्दा दुर्घटनाको जोखीम

२०७६ फाल्गुन १३, ०२:०३ कमल सावद

धनगढी : कैलालीमा निर्माणाधिन मोहनापुलदेखि अत्तरियासम्मको ६ लेन सडकले धनगढीको मुहार फेरिदै छ। सडक कालोपत्रे भएको क्षेत्रमा सरर गाडी गुडाउन मिल्ने फराकिलो ठाउँ बनिसकेको छ। 

तर धनगढी उपमहानगरपालिका– ३ स्थित नेपाल आयल निगम अगाडी कालोपत्रे गरिएको सडकको अवस्था पुरानै छ। कालोपत्रे गरिएको एक खण्डको दुवै छेउमा विगतमा जस्तै पेट्रोल र डिजेल भरिएका ट्यांकर पार्किङ गरिएका छन्। दृष्य हेर्दा लाग्छ की सडक गाडी गुडाउन नभई ट्याङकर पार्किङकै लागि बनाइएको हो। 

सडक क्षेत्रमा जथाभावी ट्याङकर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तीत बनेका छन्। सडकलाई पार्किङ स्थल बनाएपछि आवातजावतमा समेत सास्ती भएको स्थानीय भानसिँह ढाटले बताए। ‘सडकमा ट्यांकर पार्किङ गरिएका छन्’ उनले भने, ‘दुर्घटनाको जोखिम त छदैँछ सवारी सञ्चालनका लागि पनि समस्या भइरहेको छ।’  ट्यांकर व्यवस्थापन नहुँदा आगलागीको त्रास समेत रहेको उनले बताए। ६ लेन सडकको एक खण्डमा दुवैतीर ट्याङकर पार्किङ गरेर राखिएपछि दुर्घटनाको जोखिम झनै बढेको र  ठुलो धनजनको क्षति हुने भन्दै स्थानीय चिन्तित छन्।  

तर टयाङकर व्यवसायीले पनि के गरुन। वषौँदेखि पार्किङ स्थल अभावमा सडकमै पार्किङ गर्दै आएका उनीहरुले फेरिपनि कालोपत्रे गरिएको सडमै टयाङकर राख्ने गरेका छन्। सार्वजनिक सडकलाई व्यवसायीक प्रयोजनका लागि प्रयोग गर्दै आएका व्यवसायीहरु भने निगमले नै पार्किङ स्थलको व्यवस्थापन गर्नुपर्ने बताउँदै आएका छन्। 

उता नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ सुदूरपश्चिमकले भने पार्किङ स्थलको व्यवस्थापनका लागि जग्गा लिजमा लिने प्रक्रिया थालिएको दावी गरेको छ। ‘नेपाल आयल निगमले जमिनको भाडा तिर्ने भनेको हुँदा हामीहरु जमिनको खोजिमा छौ’ संघका अध्यक्ष मनिराम पाण्डेले भने, ‘मोहनाको किनारमा जमिन हेरेका छौ तर काम पुरा भएको छैन्।’ 

आयल निगमले पनि जग्गा खोजिरहेको बताएको छ। ट्यांकर पार्किङका लागि अहिलेको नेपाल आयल निगमको कार्यालय रहेको स्थानदेखि एक किलोमिटर क्षेत्रभित्र झण्डै एक बिघा जग्गा आवश्यक पर्ने भएको छ। नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख शर्पराज शर्माले केन्द्रीय कार्यालयबाट पार्किङ स्थलका लागि जमिन भाडामा लिन स्वकृती पाएको बताएका छन्। उनले पार्किङका लागी एक बिगा जमिन आवश्यक रहेको भन्दै सूचना समेत प्रकाशन गरिसकेको जानकारी दिए।

‘ट्यांकर पार्किङका लागि हामीसँग जमिन छैन्’ उनले भने, ‘जमिन भाडाका लागि केन्द्रीय कार्यालयबाट स्वकृती पाएका छौ, त्यसैले अब छिट्टै पार्किङ स्थल निर्माण हुन्छ।’ 

सुदूरपश्चिम प्रदेशका लागि पेट्रोलिम पदार्थ ढुवानी गर्ने ६४ ट्यांकरमा यस वर्ष २२ ट्यांकर थप हुने भएकाले अब ८६ वटा ट्याङकर हुनेछन्।  उक्त स्थानमा घना बस्ती बसीसकेको छ। यसकारण अब पार्किङ स्थल अभावको समस्या मात्रै नभएर अर्का समस्या समेत थपिसकेको छ। घना बस्तीका कारण आयल निगमको डिपो नै स्थानान्तरण गर्नुपर्ने देखिएको स्थानीय बताउँछन्।  

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस