सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच नम्बर प्रदेशको नाम मगरात राख्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा

२०७६ फाल्गुन ८, १०:५४ खबर संवाददाता

मगरात संघर्ष समितिले प्रदेश नं ५ को नामाकरण मगरात हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। नेपाल मगर संघ र संयुक्त मगर मञ्च नेपालको फागुन ६ गते बसेको संयुक्त बैठकले प्रदेश नं ५ को नाम मगरात हुनुपर्ने भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

नेपाल मगर संघ प्रदेशका अध्यक्ष विमल सारुमगरले १२ वटै जिल्लामा लक्षित गरेर आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको बताए। पहिलो चरणमा फागुन मसान्तसम्म आन्दोलन गर्ने र माग सुनुवाई नभए दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने उनले बताए। नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नवीन रोकामगरले पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गर्नेगरि आन्दोलनका कार्यक्रम घोषणा गरिएको जनाएका थिए।  

उनले प्रदेशको मगरहरुको जनसख्या धेरै भएको यो प्रदेशमा इतिहासदेखी मगरहरुको बाहुल्यता रहेकोले सो आधारमा मगरात प्रदेश बनाउनुपर्ने जिकीर गरे।  उनले दलहरुले पनि घोषणापत्र र मत माग्ने बेला मगरात राज्य घोषाणा गर्ने आश्वासन दिएकोले अहिले प्रदेशको नामाकारण गर्ने बेलामा ध्यान दिनुपर्ने बताए।

आन्दोलनका कार्यक्रमहरुमा मुख्यमन्त्री, सभामुख, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई स्मरण पत्र बुझाउने, १२ वटै जिल्लामा मगरात भित्तेलेखन गर्ने कार्यक्रम संघर्ष समितिले तय गरेको छ। त्यस्तै १ सय ९ वटै स्थानिय तहमा अन्तरक्रिया, सबै जिल्लामा मोटरसाइकल ¥याली, सांस्कृतिक झांँकीसहितका कार्यक्रम गर्ने बताइएको छ। त्यस्तै संघर्ष समितिले प्रदेश नं ५ को स्थायी राजधानी सबैलाई पायक पर्ने गरि राख्न माग समेत गरेको छ।

यसअघि उनीहरुले साढे ११ लाख हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाएका थिए।
 

कमेन्ट लोड गर्नुस