सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहको बजेट खर्च निराशाजनक

२०७६ फाल्गुन ७, ०१:४४ जनक विष्ट

कैलालीका स्थानीय तहहरुले चालु वर्षमा पनि विकास निर्माणका योजना तिव्रता दिन नसकेको पाईएको छ। स्थानीय तहले पालिका स्तरमा कार्यान्वयन गर्ने योजनाले तिव्रता पाउन नसकेको पाईएको हो। चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत स्थानीय तहको पुँजीगत बजेट खर्चको अवस्था दयनीय देखिएको छ।

जिल्लाका १३ वटै स्थानीय तहले साढे चार देखि २२ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गरेको देखिएको छ। जनप्रतिनिधी आएपछि विकास निर्माणका कामले तिव्रता पाउने अपेक्षा गरेपनि कैलालीका स्थानीय तहमा भने कछुवा गति कायमै रहेको हो। स्थानीय तहहरुले काम गर्ने शैली परिवर्तन गर्न नसक्दा चालु आर्थिक वर्षमा पनि विगतमा जस्तै विकास निर्माणका कामले गती लिन नसकेको देखिएको हो।

धनगढी उपमहानगरपालिका सहित १३ वटा स्थानीय तह रहेको कैलालीमा चालु वर्षको पुँजीगत बजेट खर्चको अवस्था सन्तोशजनक नरहेको देखिएको छ। चालु आर्थिक वर्षको छ महिना बितिसक्दा स्१३ वटै स्थानीय तहहरुले १४ दशमलव ७८ प्रतिशत पुँजीगत बजेट खर्च गरेको देखिएको छ।

तर केही पालिकाको खर्च प्रगती भने साढे ४ देखि २२ १३ प्रतिशत खर्च गरेको छन् त केहीले २२ प्रतिशत मात्र पुगाएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी मदनराज पाण्डेले बताए। उनले औसतमा साउनदेखि माघ मसान्त सम्म १३ वटै स्थानीय तहको खर्च प्रगती १४ दशमलव ७८ प्रतिशत मात्र रहेको बताए।

‘जिल्लाका १३ पालिका मध्ये सबैभन्दा कम जोशीपुर गाउँपालिकाको ४ दशमलव ७८ प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको छ,’ पाण्डेले भने। ‘सबैभन्दा बढि गौरीगंगा नगरपालिकाले २२ दशमलव ६४ प्रतिशत बजेट खर्च गरेको छ।’ गत वर्षको यकिन तथ्याङक कोष तथा लेखा नियन्त्रण कर्यालयसंग नभएपनि यसै अवधीमा झण्डै ३० देखि ३५ प्रतिशत पुँजीगत बजेट खर्च भईसकेको थियो। तर चालु वर्षमा भने स्थानीय तहहरुले साढे चार प्रतिशतदेखि २२ प्रतिशत मात्रै खर्च  गर्न सकेका हुन्।

कोष तथा लेखा नियन्त्रणका कार्यालयका अनुासार झण्डै साढे १४ करोड पुँजीगत बजेट रहेको जोशीपुर गाउँपालिकाले साउनदेखि माघ मसान्त सम्म ६७ लाख बजेट मात्र खर्च गरेको छ। अन्य पालिकाको तुलनामा सबैभन्दा बढि खर्च गरेको गौरीगंगा नगरपालिकाको ३५ करोड ५२ लाख बजेट रहेकोमा ७ करोड बजेट खर्च भएको छ।

अर्थका जानकार एवंम कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गगन घिमिरेले स्थानीय तहका जनप्रतिनिधिमा स्वार्थ अनुकुल कार्य सम्पादन गर्ने आचारणमा सुधार हुन नसकेपछि समस्या भएको बताए। उनले जनप्रतिनिधिले आफ्नो स्वार्थ पूर्ती हुन देखिएपछि बजेट खर्च गर्ने नभए खर्च फ्रिज जान दिने प्रवृत्ती कायम रहेकाले पुँजीगत बजेट खर्चको अवस्थामा सुधार हुन नसकेको बताए।

तर स्थानीय पालिकाहरुले भने चालु वर्षको खर्च प्रगतीलाई सन्तोशजनक नै मानेका छन्। उनीहरुले राज्यको खर्च प्रणाली, संरचना, जनशक्ति, मौसम लगायतका कारण आर्थिक वर्षको आधा हुँदा सम्म भएको खर्च प्रगतीलाई सन्तोशजनक नै रहेको दावी गरेका छन्।

१४ दशमलव २६ प्रतिशत पुँजीगत बजेट खर्च गरेको धनगढी उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले योजना कार्यान्वयनको चरणमा नगएकाले प्रगती कम देखिएको दावी गरे। उनले देशको खर्च प्रणाली अनुसार अहिलेको प्रगती ठिकै भएको बताए।

फागुनदेखि मात्र योजनाहरुले तिव्रता पाउने ओझाको भनाई थियो। चालु वर्षमा ८६ करोड ७० लाख पुँजीगत बजेट रहेको धनगढी उपमहानगरपालिकाले माघ मसान्त सम्म १२ करोड ३६ लाख मात्र खर्च गरेको छ। 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस