सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको विवादित सिटी स्क्यान खरिदको विकल्पमा ‘लेटर अफ क्रेडिट’

२०७६ माघ २०, ०९:२७ जनक विष्ट

धनगढीको सेती प्रादेशिक अस्पतालमा अहिले सिटी स्क्यान मेसिन खरिदको विषय विवादित बनेको छ। अस्पताल प्रशासनले भौतिक संचरना र समय अभावका कारण मेसिन खरिद गर्न नसकिने भनेपछि सुरु भएको विवाद अझै कायमै छ। अस्पतालले सोही कारण सिटी स्क्यान खरिदका लागि छुट्याईएको साढे ८ करोड बजेटबाट यो वर्ष अन्य अतिआवश्यक उपकरण खरिदका लागि मागेको निर्देशन सामाजिक विकास मन्त्रालयले दिन अस्वीकार गरेको छ।

अर्थ मन्त्रालयको सहमती लिएर सिटी स्क्यानका लागि विनीयोजन गरिएको बजेटले अन्य उपकरण खरिद गर्न सक्ने विकल्प हुँदाहुँदै पनि मन्त्रालयले कानून अनुसार त्यसो गर्न नमिल्ने भन्दै अस्पताललाई परिपत्र गरेपछि अन्यौलता बढेको छ। उसले आर्थिक मामिला मन्त्रालयसंग कुनै समन्वय नै नगरी अस्पताललाई केही दिन अघि मात्रै परिपत्र गर्दै भनेको छ,‘संशोधन गर्न नमिल्ने भएकाले सिटी स्क्यान नै खरिद गर।’

मन्त्रालयले पनि बजेट संशोधन गर्ने इच्छा नदेखाएपछि समय अभावको कारण सिटी स्क्यान मेसिन खरिद नगर्ने पक्षमा देखिएपछि सेती अस्पताललाई अन्यौलता बढेको छ। तर अस्पताल प्रशासन, सामाजिक विकास मन्त्रालय र व्यवस्थापन समितिका बिच आपसी समझदारी जुट्न नसक्दा सिटी स्क्यान खरिदको विषय थप जटिल बनेको छ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन अतिआवश्यक भएपनि तीनवटै पक्षबिच समझदारी जुट्न नसक्दा समस्या उत्पन्न भएको हो। समयको अभावका बिच पनि सिटी स्क्यान मेसिन खरिद गर्नैपर्छ भन्ने पक्षमा उभिएका सामाजिक विकास मन्त्रालय र अस्पताल व्यवस्थापन समितिलाई कमिसनको लोभमा लागेको आरोप लाग्दै आएको छ।

तर मन्त्रालय र व्यवस्थापन समिति पक्षधरले अस्पतालमा कार्यरत चिकित्सकले नीजि स्वास्थ्य संस्थाबाट कमिसन लिदै आएको र मेसिन खरिद भए बाटो बन्द हुने भन्दै बाहानाबाजी गरेर विपक्षमा उभिएको आरोप लगाउने गरेका छन्। यद्यपी ती आरोपको पुष्टाई हुने आधार भने कुनै पक्षसंग छैन्।

तर आर्थिक वर्ष सकिन साढे पाँच महिना भन्दा कम समय रहेका बेला सामाजिक विकास मन्त्रालय र व्यवस्थापन समितिले चाहे जस्तै सिटी स्क्यान मेसिन खरिद गर्न अस्पताल प्रशासनले तत्परता देखाउँला त? किनकी खरिद प्रक्रियामा व्यवस्थापन समिति र मन्त्रालय भन्दा पनि प्रशासनकै प्रत्यक्ष संलग्नता हुन्छ।

आर्थिक वर्षको साढे पाँच महिना रहेका बेला प्रशासनले खरिद प्रक्रिया अगाडी बढाउन आँट गर्ला त? भौतिक संरचना र पर्याप्त समय नभएका कारण अस्पतालको सेवा सुधार गरिरहेका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले सिटी स्क्यान मेसिन खरिदका लागि आँट नगरेको स्रोतले बताउँदै आएको छ।

त्यसका लागि एक वर्ष भन्दा बढि समय आवश्यक पर्ने भएकै कारण मेसुले यो वर्ष अन्य अतिआवश्यक भेल्टीलेटर, ईण्डोस्कोपी, अल्ट्रासाउण्ड,डेण्डल, फिजियो थेरापी लगायतका उपकरणको प्रस्ताव गरेका थिए। र आउँदो आर्थिक वर्षको सुरुमै सिटी स्क्यान खरिदको प्रक्रिया अगाडी बढाउने मनसाय पाण्डेको रहेको अस्पतालले जनाउँदै आएको छ।

कतिपयले सेवा सुधारको काम गरिरहेका मेसु पाण्डेका कारण निहित स्वार्थ पूर्ती गर्न नसकेपछि उनलाई हटाउने पक्षमा लागेको अस्पताल व्यवस्थापन समिति र सामाजिक विकास मन्त्रालयले सिटी स्क्यान मेसिनमै उनलाई घेराबन्दी गर्न खोजिएको आकलन पनि गर्दै आएका छन्।

यस्तो अवस्थामा के अस्पतालले सिटी स्क्यान मेसिनको प्रक्रिया थाल्नै नसक्ने हो त ? भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ। अस्पतालसंग विल्कप भएपनि समय पर्याप्त नभएको हुँदा आँट गर्न सकिरहेको छैन्।  

विकल्पमा लेटर अफ क्रेडिट 

चितवनको भरतपुर अस्पतालले एक सय २८ स्लाईसको सिटी स्क्यान मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ। झण्डै चार करोड बजेटमा खरिद गरिएको सिटी स्क्यान मेसिन खरिद गरी सञ्चालनमा ल्याउन अस्पताललाई १२ महिना भन्दा बढि समय लागेको थियो। सेती अस्पतालका लागि साढे पाँच महिनाको समय मेसिन खरिदका लागि पर्याप्त नभएको उसले पनि बताउँदै आएको छ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले चालु वर्षमा अन्तराष्ट्रिय बोलपत्र गरी खरिदका लागि ठेक्का सम्झौता गर्न सकिने र अर्को वर्ष सम्म मेसिन खरिद गरी ल्याउन सक्ने विकल्प मात्र रहेको बताए।

तर त्यसका लागि अस्पतालले लेटर अफ क्रेडिट अथवा प्रतित पत्रको विकल्पमा जानुपर्ने हुन्छ। भरतपुर अस्पतालले पनि सोही प्रक्रिया अपनाएर सिटी स्क्यान खरिद गरेको थियो। 

के हो लेटर अफ क्रेडिट ? 

लेटर अफ क्रेडिट भनेको खरिदकर्ता र बिक्रिकर्ताका बिचमा बैँक जमानत बस्ने  प्रक्रिया हो। अन्तराष्ट्रिय बोलपत्रको हकमा नेपालीमा प्रतित पत्र समेत भनिदै आएको लेटर अफ क्रेडिट प्रयोग गर्ने प्रचलन छ। यसमा खरिदकर्ता र बिक्रिकर्ताबिच हुने सम्झौता अनुसार बैँक साँची बस्ने गर्छ।

सम्झौतापछि खरिदकर्ता पक्षले बिक्रिकर्तालाई सामान आपूर्ती गरे वापत भुक्तानी गरिने रकम बैँकमा जम्मा गरिन्छ। सामान आपूर्ती भई खरिदकर्ताले बुझिसकेपछि बैँकलाई पत्राचार गरेपछि मात्र उसले बजेट निकासा गर्छ।

त्यसका लागि सम्झौतामै सामान आपूर्ती गर्ने निश्चित समावधी उपलब्ध गरिएको हुन्छ। अधिकारीहरुका अनुसार कबोल अंकको ९० प्रतिशत बजेट निश्चित समयका लागि बैँकले राख्छ।

सेती अस्पताललाई सिटी स्क्यानमा किन चाहिन्छ लेटर अफ क्रेडिट ? 

पर्याप्त समय नभएका बेला  सिटी स्क्यान मेसिन खरिदको प्रक्रिया थालेमा कुनै बाध अडचन त आउँने होईन भन्ने सेती प्रादेशिक अस्पतालको अहिलेको मुख्य चिन्ता हो। त्यसै कारण अस्पतालले खरिद प्रक्रिया थाल्न आँट गर्न नसकेको दावी गरिन्छ। तर अस्पतालले अर्को वर्ष पनि लेटर अफ क्रेडिट प्रणाली अपनाउर्नै पर्ने अधिकारीहरुले बताउँदै आएका छन्।

किनकी सिटी स्क्यान मेसिन स्वदेशमा नपाईने भएकाले नेपाली प्रतिनिधिको सहयोगमा विदेशबाटै खरिद गर्नुपर्ने हुन्छ। विदेशी कम्पनी पनि प्रतिनिधिकै विश्वासमा बस्न नसक्ने हुँदा बैँक ग्यारेन्टी खोज्छन्। उसले आफूले दिएको समय भित्र सम्झौता अनुसारको सामान आपूर्ती गरी बैँक मार्फत नै भुक्तानी लिन्छ।

तर आपूर्ती गर्न के कती समय लाग्छ त्यो कुरा सम्झौता र अनुकुलतामा भर पर्ने भएकाले एकै आर्थिक वर्षमा खरिद गर्न असम्भव जस्तै छ। नेपालको लेखा प्रणाली अनुसार एक आर्थिक वर्षमा छुट्याईएको बजेटलाई अर्को वर्ष पनि खर्च गर्न पाउँदैन्। त्यो फ्रिज हुन्छ। त्यसैले अन्तराष्ट्रिय खरिद प्रक्रियामा लेटर अफ क्रेडिट प्रणाली लागु गरिदै आएको छ।

सेती अस्पतालसंग अन्तराष्ट्रिय बोलपत्र आह्वान गरी लेटर अफ क्रेडिट गर्नका लागि भने पर्याप्त समय रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए। उनले भने, ‘बोलपत्र आह्वान गरी सम्झौता गर्न सम्मका लागि समय भईहाल्छ। यो वर्ष लेटर अफ क्रेडिट (एलसी) गरी मेसिन अर्को वर्ष ल्याएपनि हुन्छ। सरकारले छुट्याएको बजेट फ्रिज हुनबाट जोगिन्छ र समयको पनि बचत हुन्छ।’

उनले आफ्नो अस्पतालले झण्डै चार करोडमा एक सय २८ स्लाइसको सिटी स्क्यान खरिद गरेको बताउँदै साढे ८ करोड बजेटले सेतीमा त्यो भन्दा बढि क्षमताको राम्रो मेसिन खरिद गर्न सकिने पनि जनाए।

यता सेती प्रादेशिक अस्पतालले भने मेसु डाक्टर हेमराज पाण्डे जिल्ला बाहिर भएकाले धनगढी फर्किएपछि मात्रै सिटी सक्यान खरिदको प्रक्रिया थाल्ने नथाल्ने विषयमा छलफल गर्ने जनाएको छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस