सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्तरिक कलहले सेती अस्पताल स्तरोन्नतीको मुद्दा पनि ओझेलमा

२०७६ माघ ११, १२:५६ जनक विष्ट

राजनीतिक हस्तक्षेपले आन्तरिक कलह बढ्दै गएपछि सेती प्रादेशिक अस्पताल स्तरोन्नतीको मुद्दा पनि ओझेलमा परेको छ। कैलाली अस्पतालको नामबाट विक्रम सम्बत १९९७ सालमा स्थापना भएर २०४० सालमा अञ्चल हँुदै प्रादेशिक बनेको सेती अस्पताल बनेको आन्तरिक कलहमा रुमल्लीएपछि स्तरोन्नती लगायत सुधारका योजना अलपत्र परेका हुन्।

१५ शैयाबाट सेवा सुरु गरेको सेती अस्पतालले २०४० सालमा ५० शैयाको स्वीकृती पाएपनि त्यसयता स्तरोन्नती हुन सकेको छैन्। नेपाल सरकारबाट स्वीकृत ५० र आन्तरिक स्रोतबाट ७५ गरी एक सय २५ शैया सञ्चालनमा रहेपनि बढ्दो विरामीको चापका कारण अहिले दुई सय ४० शैया सञ्चालन भईरहेको छ।

तर अस्पतालले सोही अनुसारको जनशक्ति व्यवस्थापनमा भने चुनौती खेप्दै आएको छ। सेती प्रादेशिक अस्पतालले तत्काल तीन सय शैयामा स्तरोन्नती गनूपर्ने माग सहित प्रदेशको सामाजिक विकास मन्त्रलायलाई यसअघि नै प्रस्ताव गरिसकेको छ। तर मन्त्रालयबाट उक्त प्रस्ताव अगाडी बढ्न सकेको छैन् भने पाँच सय शैयामा अनिवार्य रुपमा स्तरोन्नती गनूपर्ने आवश्यकता रहेको छ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्रटर हेमराज पाण्डेले पाँच सय शैया स्तरोन्नती गर्ने योजना अनुसार नै सामाजिक विकास मन्त्रालयसंग तीन सय शैयाको प्रस्ताव गरिएको बताए। मन्त्रीपरिषद् बैठकबाट उक्त प्रस्ताव पारित भए अन्य प्रक्रिया अगाडी बढ्ने विश्वास मेसु पाण्डेले व्यक्त गरे।  तर प्रदेश सरकारले भने अस्पतालको स्तरोन्ती गर्दै सेवा सुधारमा खासै ध्यान नदिएको आरोप लाग्दै आएको छ।

सामाजिक विकास मन्त्रालयले भने अस्पताललाई तीन सय शैयामा स्तरोन्नती गर्नका लागि प्रस्ताव तयार भईसकेको दावी गर्दै आएको छ। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रालयले अस्पता स्तरोन्नती सम्मन्धी प्रस्ताव तयार पार्दै मन्त्रीपरिषद् बैठकमा पेश गर्ने तयारी गरेको जानकारी दिए।

‘अस्पताललाई तीन सय शैयाको बनाउनका लागि प्रस्ताव आईसकेको छ, अध्ययन गरेर राखेका छौँ, मन्त्री स्तरीय निर्णय गरेर छिट्टै मन्त्रीपरिषद्मा लैजान्छौँ।’ मन्त्री सुवेदीले भने। हुन त सेती प्रादेशिक अस्पतालको नेपाल सरकारबाट ५० शैयाका लागि स्वीकृत विशेषज्ञ चिकित्सकको दरबन्दी ३६ वर्ष सम्म पदपूर्ती हुन सकेको छैन्।

अस्पतालका मेसु डाक्टर पाण्डेले दैनिक जनशक्ति, संरचना छैन् भन्दा पनि सोझै पाँच सय शैयामा स्तरोन्नती गर्न सकेमा सबै समस्या समाधान हुने बताए। उनले भने, ‘सधै जनशक्ति छैन्, संरचना भएन, सुविधा भएन भन्दा पनि अब सेतीलाई ५० शैयाबाट स्तरोन्नती गरेर पाँच सय शैयाको बनाउनैपर्छ।’ पण्डेले थपे, ‘एकल सुत्रिय माग राखेर अगाडी बढ्ने प्रयत्नमा छु।’  

अस्पताल स्तरोन्नती भएमा विशेषज्ञ सेवा सहित जनशक्ति व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको छ। तर त्यसका लागि अस्पताल प्रशासन मात्र नभएर व्यवस्थापन समिति, प्रदेश सरकार र संघिय सरकारको समेत सहयोगको आवश्यकता रहेको छ।

अस्पताल स्तरोन्नती भएमा जनशक्ति व्यवस्थापनदेखि लिएर विशेष सेवा सञ्चालन गर्न बाटो खुल्नेछ। यसअघि चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरुले पनि सेती अस्पतालको स्तरोन्नतीको मुद्दालाई जोडतोडका साथ उठाएका थिए। तर चुनाव जितेपछि उक्त एजेण्डाबाट उनीहरु पछाडी हटेका छन्।

अस्पताल प्रशासनले भने सुदूरपश्चिमकै रेफरल अस्पतालका रुपमा रहेको अस्पताललाई पाँच सय शैयामा स्तरोन्ती गर्दै ट्रमा सेन्टरका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको भन्दै संघिय सरकारलाई समेत माग गरिसकेको छ।

तर व्यवस्थापन समिति र सामाजिक विकास मन्त्रालय अस्पतालको विकास भन्दा पनि निहित स्वार्थ कसरी पूर्ती गर्न सकिन्छ भन्ने पक्षमा लागेको आरोप लाग्दै आएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस