कैलालीमा ब्लड क्यान्सरले १८ बर्षीय युवतीको मृत्यु
कैलालीमा ब्लड क्यान्सरका कारण १८ बर्षीय युवतीको मृत्यु भएको छ। डोटीको गडसेरा स्थित भामगाऊँ घर भई हाल कैलालीको गोदावरी नगरपालिका बसन्तपुर निवासी धना ओझा (यज्ञराज ओझाको कान्छी छोरी) को १८ वर्षको कलिलो उमेरमै मृत्यु भएको हो।
धनगढीको माया मेट्रो अस्पतालमा उनको मृत्यु भएको परिवारका सदस्यले जनाएका छन्। आज विहान बसन्तपुरस्थित निवासबाट गोदावरी आर्यघाटका लागि शव यात्रा सुरु हुने आफन्तले जनाएका छन्।
के हो क्यान्सर ?
मानव शरीर कोषिकाहरुले बनेको हुन्छ। जन्मिदा हामी साना थियौँ। कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ। जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ। तर धेरै बढ्नु क्यान्सर हुनु हो। कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ।
क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ। कोषिकाहरु बढेर एकबाट अर्काे ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ। क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ। कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ।
डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ। ह्वाइट ब्लडको सेल ४ हजार देखि ११ हजार सम्म हुनुलाई नर्मल संख्या मानिन्छ। यो संख्या भन्दा धेरै अर्थात ११ हजार भन्दा माथि हुँदा कन्ट्रोल गर्न सकिएन भने ब्लड क्यान्सर हुन्छ। ब्लड क्यान्सर पनि कोषिकाको अनियन्त्रित वृद्धि हो।
ब्लड क्यान्सरमा पनि क्रोनिक ब्लड क्यान्सर भएकालाई ट्याब्लेट खुवाइन्छ। एक्यूट ब्लड क्यान्सरलाई भने किमोथेरापी नै दिनुपर्ने हुन्छ। क्यान्सर मात्रै होइन कुनै पनि रोग सुरुमानै पत्ता लगाउँदा कम खर्चिलोका साथै उपचारमा पनि सहज हुन्छ। ढिलो भएर रोग फैलिसक्दा गाह्रो हुन्छ।
ब्लड क्यान्सर समयमानै पत्ता लगाउन नसक्दा गिजा, नाक, कानबाट पनि रगत बग्नसक्ने सम्भावना हुन्छ। जसले गर्दा लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ। कुनै ब्लड क्यान्सरको बिरामीलाई किमोथेरापी दिइन्छ। कुनै –कुनै ब्लड क्यान्सरमा बोनम्यारो ट्रान्सप्लानटेसन सुरु हुन्छ।