२५ वर्षमा पनि पूरा भएन मार्तडी–कोल्टी सडक, दुई सातादेखि फेरि अवरुद्ध
धनगढीः बाजुराको सदरमुकाम मार्तडीलाई जिल्लाको पूर्वी–उत्तरी क्षेत्रसँगै कर्णालीका हुम्ला र मुगुसँग जोड्ने महत्वपूर्ण मार्तडी–कोल्टी सडक फेरि अवरुद्ध भएको छ।
पछिल्लो दुई सातादेखि सडक अवरुद्ध हुँदा स्थानीयको आवागमन थप कष्टकर बनेको छ। करिब ४२ किलोमिटर लामो यो सडक निर्माण सुरु भएको २५ वर्ष पुगिसक्दा पनि पूर्ण रूपमा कालोपत्रे हुन सकेको छैन। हालसम्म करिब नौ किलोमिटर मात्रै कालोपत्रे भएको छ। सडकको बाँकी खण्डमा वर्षौंदेखि निर्माण जारी रहे पनि अपेक्षित गति लिन सकेको छैन।
सडकको दुरवस्थाका कारण मार्तडीदेखि कोल्टीसम्मको यात्रा एउटै गाडीमा पूरा गर्नसमेत कठिन हुने गरेको छ। ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने र खोलामा बाढी आएको समयमा थप समस्या हुने स्थानीय जनप्रतिनिधि बताउँछन्।
बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराका अनुसार सामान्य अवस्थामा समेत मार्तडी–कोल्टी यात्राका लागि यात्रुले एक हजार रुपैयाँभन्दा बढी भाडा तिर्नुपर्छ। सडक बिग्रिएको वा खोलामा बाढी आएको समयमा यही खर्च दोब्बरसम्म पुग्ने गरेको उनको भनाइ छ।
‘खोलामा पुल नहुँदा ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ। ४० किलोमिटरको यात्रामा दुई हजार रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भने, ‘महँगो भाडा तिरेर पनि यात्रा सुरक्षित र सहज छैन।’
चुथीदेखि ढम्केनेसम्मको करिब पाँच किलोमिटर सडक निर्माणको जिम्मा बानियाँ–कुशेश्वर जेभीले पाएको छ। त्यस्तै, ढम्केनेदेखि दानसाँघु खोलासम्मको २६ किलोमिटर सडक निर्माणको जिम्मा पीएस बानियाँ निर्माण सेवा जेभीले लिएको छ।
पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार चुथीदेखि कोल्टीसम्म सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७६र७७ मा करिब ५० करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तीन वर्षभित्र काम सक्ने सम्झौता भए पनि अहिलेसम्म सडक पूर्ण हुन सकेको छैन।
पीएस बानियाँ निर्माण सेवा जेभीले पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेको कार्यालयको भनाइ छ। हालसम्म सडकको करिब ५० प्रतिशत मात्रै काम भएको प्रमुख थापाले बताए। ‘पटक–पटक ताकेता गरिसकेका छौँ। अब ठेक्का तोड्नेसम्मको तयारीमा छौँ,’ उनले भने। कार्यालयले निर्माण व्यवसायीलाई स्पष्टीकरणसमेत सोधिसकेको जनाएको छ।
मार्तडी–कोल्टी सडकको इतिहास भने अहिलेको ठेक्काभन्दा पनि पुरानो छ। २०५६ सालमा शिलान्यास भएर निर्माण सुरु भएको सडकमा तत्कालीन जिल्ला विकास समिति बाजुराअन्तर्गत खाद्यान्न कार्यक्रममार्फत २०५६ देखि २०६२ सालसम्म ४२ किलोमिटर सडक निर्माणमा ३५ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो।
त्यसपछि संघीय र प्रदेश सरकारबाट समेत सडकमा निरन्तर लगानी हुँदै आएको छ। तर २५ वर्षको अवधिमा ४२ किलोमिटरमध्ये नौ किलोमिटर मात्रै कालोपत्रे हुनुले निर्माणको गति कति सुस्त छ भन्ने देखाउँछ। प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको यो सडक कहिलेसम्म पूर्ण हुन्छ भन्ने अझै निश्चित छैन। निर्वाचनका बेला सडक कालोपत्रे गर्ने आश्वासन पटक–पटक पाए पनि कामले गति नलिँदा स्थानीयमा निराशा बढेको छ।
सडक कालोपत्रे गर्ने काम मात्रै सम्पन्न भएर पनि यहाँको समस्या समाधान हुने अवस्था छैन। बालुहिल खोला, अनाइ खोला र रजातलीमा पक्की पुल नहुँदा बर्खामा यात्रु र सवारीसाधनले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।
हिउँदमा खोलाबाटै सवारीसाधन गुड्ने गरे पनि वर्षायाममा पानीको सतह बढेपछि यात्रुले गाडी परिवर्तन गर्नुपर्छ। स्थानीयका अनुसार आठ जना यात्रु बोक्ने क्षमताका जीपमा समेत क्षमताभन्दा बढी यात्रु राख्ने गरिएको छ।
कोल्टी बजार बाजुराको पूर्वी–उत्तरी क्षेत्रका चार स्थानीय तहसँगै कर्णाली प्रदेशका मुगु र हुम्लाका केही क्षेत्रको समेत महत्वपूर्ण व्यापारिक केन्द्र हो। त्यसैले मार्तडी–कोल्टी सडक केवल यातायातको मार्ग नभई दैनिक उपभोग्य वस्तुको आपूर्ति, व्यापार र सरकारी सेवामा पहुँचको मुख्य आधार हो।
तर वर्षौंदेखिको निर्माण ढिलाइ, पुलको अभाव र कमजोर सडकका कारण नागरिकले एउटै यात्राका लागि पटक–पटक गाडी फेर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने र जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था अझै अन्त्य भएको छैन।