सेती अस्पतालको शौचालयमा ढोका छैन, कपडाको पर्दा लगाएर शौच गर्न बाध्य सेवाग्राही
धनगढी: सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल केन्द्रका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शौचालयको उचित व्यवस्थापन नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ।
अस्पतालको क्यान्टिन पछाडिको शौचालयमा ढोका नहुँदा सेवाग्राही कपडाको पर्दा बनाएर शौच गर्न बाध्य भएका हुन्। शौचालयमा ढोका नहुँदा अस्पतालमा उपचारका लागि आएका बिरामी तथा कुरुवाले असहज अवस्था भोग्नुपरेको छ। केही समयदेखि शौचालयको व्यवस्थापनमा समस्या देखिँदै आए पनि सुधार हुन नसकेको सेवाग्राहीको गुनासो छ।
हालै अस्पतालमा सेवा लिन पुगेकी एक महिलाले ढोका नभएको शौचालयमा कपडाको पर्दा लगाएर प्रयोग गर्नुपरेको दृश्य सामाजिक सञ्जालमा पोस्ट गरेपछि अस्पतालको व्यवस्थापन र सरसफाइप्रति प्रश्न उठेको छ। अस्पतालको शौचालयमा तीनवटा कोठा रहेका छन्। तीमध्ये एउटा कोठाको ढोका पूर्ण रूपमा तोडिएको छ भने अर्को कोठाको ढोका समेत चर्किएको अवस्थामा छ। ढोका नहुँदा शौचालय प्रयोग गर्ने सेवाग्राहीले गोपनीयता कायम गर्नसमेत समस्या भोगिरहेका छन्।
अस्पतालको स्टोरमा कार्यरत जगतबहादुर सिंहले शौचालयका ढोका पटक–पटक तोडफोड हुने गरेको बताए। उनका अनुसार पछिल्लो समय मात्रै उक्त शौचालयको ढोका चार पटकभन्दा बढी परिवर्तन गरिसकिएको छ।
उनले भने, “ढोका पटक–पटक तोडफोड हुने गरेको छ। अहिले पनि समस्या देखिएको छ। अब तुरुन्तै ढोका निर्माण गर्छौं।”
सिंहका अनुसार शौचालयको थप व्यवस्थापनका लागि बाहिर सिसिटिभी क्यामेरा जडान गर्ने तयारी समेत गरिएको छ। शौचालयमा हुने तोडफोड नियन्त्रण गर्न सिसिटिभी जडान गर्न लागिएको उनको भनाइ छ।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि सेती अस्पताल पुग्ने गरेका छन्। यस्तो अवस्थामा अस्पतालको आधारभूत सेवामध्येको महत्वपूर्ण पूर्वाधार शौचालयमै ढोका नहुँदा सेवाग्राहीको स्वास्थ्यसँगै गोपनीयता, स्वच्छता र अस्पताल व्यवस्थापनको गुणस्तरमाथि प्रश्न उठेको छ।
अस्पतालले तोडफोडका कारण समस्या भएको बताए पनि सेवाग्राहीले भने शौचालयजस्तो अत्यावश्यक पूर्वाधारको नियमित अनुगमन र तत्काल मर्मत–सम्भार हुनुपर्ने माग गरेका छन्।