सुदूरपश्चिमका ३१ बहुवर्षीय योजना रुग्ण, १२९ योजनाको प्रगति ५० प्रतिशतभन्दा कम
कैलाली: सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत दुई दर्जनभन्दा बढी बहुवर्षीय योजना समस्याग्रस्त (रुग्ण) अवस्थामा पुगेका छन् ।
पटकपटक म्याद थप गर्दा पनि सम्बन्धित निर्माण कम्पनीले काम नगरेका र लामो समयदेखि अलपत्र रहेका ३१ वटा बहुवर्षीय योजना अगाडि बढ्न नसक्ने अवस्था रहेका प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। रुग्णको सूचीमा पहिलो प्रदेश सरकारकै पालामा ठेक्का लागेका योजनासमेत छन् ।
मन्त्रालयका अनुसार रुग्ण अवस्थाकामध्ये करिब दुई दर्जन सडकसँग सम्बन्धित र आधा दर्जन सडक पुलका योजना हुन् । प्रदेश गौरवका सडकका कतिपय खण्ड पनि रुग्ण अवस्थाका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको स्थापना भएदेखि हालसम्मको मन्त्रालयको स्थितिपत्रअनुसार प्रदेशभरि सञ्चालनमा रहेका आधाभन्दा बढी बहुवर्षीय योजनाको प्रगति पनि ५० प्रतिशतभन्दा कम छ । एक सय ९३ वटा बहुवर्षीय योजनामध्ये त्यस्ता योजनाको संख्या एक सय २९ वटा रहेको छ।
५० देखि ६० प्रतिशत भौतिक प्रगति रहेका योजना १९, ६० देखि ८० प्रतिशत प्रगति रहेका योजना २२ र ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति रहेका योजना संख्या २३ वटा रहेको मन्त्रालयको विवरण छ । मन्त्रालयले बहुवर्षीय योजना अवस्था अध्ययन गर्न समितिसमेत गठन गरेको छ ।
समितिको प्रतिवेदन आएपछि बहुवर्षीय योजनाको अवस्थाबारे थप थाहा हुने मन्त्रालयका सचिव बिष्णु भण्डारीले बताए । उनका अनुसार समितिको प्रतिवेदनका आधारमा लामो समयदेखि काम हुन नसकेका बहुवर्षीय योजनाको म्याद थप, ठेक्का रद्दलगायतमा मन्त्रालयले आवश्यक निर्णय लिने छ ।
मन्त्री भाटले निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण ३१ वटा योजना समस्याग्रस्त अवस्थामा पुगेको बताए । निर्माण कम्पनीको लापरबाही, आवश्यकताअनुसार बजेट विनियोजन नहुनु, रकमान्तरको समस्या हुनु, सडकका योजनामा समयमै क्षेत्राधिकार खाली नहुनुजस्ता कारणले बहुवर्षीय योजनाहरुको काम प्रभावकारी हुन नसकेको बताए ।
प्रदेशमा सरकारैपिच्छे पहुँचका आधारमा बहुवर्षीय योजनाको संख्या थप्ने गरिएको छ । तर निर्माणाधीन योजनामा पर्याप्त बजेट विनियोजन गर्ने, समयमै सम्पन्न गराउनेतर्फ भने सरकारले ध्यान दिने गरेको छैन । जसले गर्दा वर्षैपिच्छे बहुवर्षीय योजना थपिने र सञ्चालनमा रहेका धेरैजसो योजनामा पर्याप्त बजेट विनियोजन नहुने प्रवृति छ । बजेटमा प्राथमिकतामा नपर्दा प्रदेशका नौवटै जिल्लामा गरी साढे ११ सयवटा खानेपानीका योजना अधुरा रहेका मन्त्रालयको विवरण छ ।
बजेटमा बहुवर्षीय योजनालाई प्राथमिकता दिइने बजेट शून्यताका बिच प्रदेश सरकार अहिले चालु वर्षको बजेट निर्माणको चरणमा छ । चालु वर्षको बजेटमा बहुवर्षीय योजनालाई प्राथमिकता दिएर रकम विनियोजन गरिने मन्त्रालयले बताएको छ। मन्त्री भाटले निश्चित प्रतिशत काम भएका बहुवर्षीय योजना यसै वर्ष सम्पन्न हुने गरी प्राथमिकता दिएर बजेट विनियोजन गरिने बताएका छन् ।
विगतमा टुक्रे योजनाको संख्या धेरै हुँदा पनि योजना कार्यान्वयनमा समस्या हुने गरेकाले यस वर्ष योजना संख्या पनि घटाइने उनको दावी छ । मन्त्री भाटले गत ८ भदौमा कार्यभार सम्हालेको दिन बहुवर्षीय योजनाको अध्ययन गरेर एक महिनाभित्र प्रतिवेदन दिन समिति गठन गर्ने निर्णय गरेका थिए ।
समितिको प्रतिवेदनका आधारमा बहुवर्षीय र प्रदेश गौरवका योजनालाई कसरी अगाडि बढाउने भनेर निर्णय लिइने उनले बताए । मन्त्री भाटले सरकारले यसै वर्षबाट प्रदेशको राजधानी निर्माणको काम अगाडि बढाउने बताएका छन् । राजधानी निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने उनले बताए । गत १ साउनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिममा प्रदेश सरकार अहिले चालु वर्षको बजेट निर्माणको क्रममा छ ।