सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत आज अभिमुखीकरण कार्यक्रम

२०८३ मंसिर १३, ०९:२२ खबर संवाददाता

काठमाडौँ: नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्ने ‘हामी तयार छौँ अभियान’ अन्तर्गत क्षेत्रमा खटिने प्रतिनिधिहरूका लागि आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सभापति गगनकुमार थापाको समुपस्थितिमा केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि अभिमुखीकरण कार्यक्रम सुरु हुने जानकारी दिए। अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा अभियानमा खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

पार्टीले तोकेको क्षेत्रमा खटिने काठमाडौँ उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। यस्तै, काठमाडौँ उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम मार्फत भर्चुअल रूपमा कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाइएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस