सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऋणमुक्त बन्दै बझाँङका बादी समुदाय

फाइल फोटो
फाइल फोटो
२०७६ माघ ५, ११:०१ खबर संवाददाता

वर्षौंदेखि साहुको पीडा खेप्दै आएका बादी समुदायले कहिले पनि समुदायमा खुसियाली छाउँछ र ढुक्क तरिकाले बस्न र खान तथा सुत्न पाइएला भनेर कल्पनासम्म पनि गरेका थिएनन।

बझाङको जयपृथ्वी नगरपालिका–१० बादी टोलमा रहेका १३ परिवार बादीले विवाह, मृत्यु, चाडपर्वलगायत दैनिक बिहान बेलुकाको हातमुख जोड्न सात जनाबाट लिएको ८ लाख ३० हजार ४ सय रुपैयाँ ऋण नगरपालिकाले साहुहरूलाई बुझाएपछि उनीहरू ऋणमुक्त भएका हुन्। पटकपटक बादी समुदायलाई साहुहरूले यातना दिने गरेका कारण उनीहरूलाई ऋण मुक्त गरिदिएको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र खड्काले बताए।

यसको श्रेय जयपृथ्वी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर विष्टलाई जाने उनको भनाइ छ। जनता आवासबाट सामान्य घर निर्माणका लागि भन्दै नेपाल सरकारले ८ घर निर्माणका लागि दिएको प्रतिघर २ लाख ३२ हजार रकममा थप ९ लाख रुपैयाँ व्यक्तिगत लगानी गर्दै पक्की घर निर्माण गरिदिएका विष्टले बादी समुदायले विभिन्न साहुबाट लिएको ८ लाख ३० हजार ४ सय रुपैयाँ ऋण पनि नगरपालिकाको पहलमा तिर्न सफल भएका छन।

सीमान्तकृत बादी समुदायको सबै क्षेत्रबाट मुक्ति दिलाउने जयपृथ्वी वडाध्यक्ष विष्टले प्रतिबद्धता जनाए। अब उक्त ऋण तिरिसकेका कारण बादी समुदायमा वडा र आफ्नो व्यक्तिगत लगानीका साथै विभिन्न संघसंस्थाको पहल र सहयोगमा बादी समुदायको नाम नै परिवर्तन गरी बादी टोल नभएर मुक्ति टोल राख्ने योजना रहेको अध्यक्ष विष्टले बताए।

ऋणमुक्त भएपछि जिल्लाको सबैभन्दा विपन्न वर्गका रहेको बादी समुदायमा यसबेला खुसियाली छाएको छ। श्रीमान बित्दा किरिया खर्च भनेर निकालेको ९ हजार ५ सय ऋण जयपृथ्वी नगरपालिकाले बुझाइदिएपछि ३५ वर्षीया हरिना बादी अहिले दंग छिन।

ऋण बुझाउन नसकेपछि साहुले घरमा आएर रातदिन कचकच गर्ने हुँदा ऋण तिर्न नसकेर गालीसँगै कुटपिट हुँदै घर निकाला नै भइन्छ कि भन्ने चिन्ताले सताएकामा नगरपालिकाले अहिले आफ्नो उद्धार गरिदिएको उनले बताइन।

छोराछोरीको खानाको जोहो गर्नका लागि विभिन्न गाउँ बस्तीमा नाच्दै गाउँदै मागेर ल्याएको अन्न तथा खानेकुरा साहुले खोसेर लिएको सम्झना गर्दै हरिनाले भनिन, ‘पकाएको अन्नसमेत साहु आएर आफ्ना पशुलाई दिने गरेका थिए, सुत्ने घरमा ताला लगाइदिन्थे।’

उनी मात्र नभई अधिकांश बादी समुदायको पीडा यस्तै छ। जुनतारा बादीका ससुरा रंगे बादी तथा उनका श्रीमान टेके बादीले पटकपटक गरेर निकालेको ३ लाख ६५ हजार रुपैयाँ तिर भन्दै साहुले उनलाई पटकपटक धम्काउने गरेका थिए।

‘आफूलाई ऋण तिर भनेर हैरानी बनाएको थियो,’ उनले भनिन, ‘अहिले साहुको रकम नगरपालिकाले बुझाइदिएपछि गरिबको पनि सरकार रहेछ भन्ने खुशी लागेको छ।’गरिबको पीडा बुझ्ने र न्याय दिने सरकार घरआँगनमा पाउँदा सिंहदरबार घरआँगनमा आएको अनुभूति आफूलाई भएको जुनताराले सुनाइन। 
 

कमेन्ट लोड गर्नुस