सुदूर नेपाललाई विश्वसँग जोड्दै

१०औँ पटक छाउगोठ छोड्दा

२०७६ पुष ११, ०७:२१ खबर संवाददाता

दिपा भण्डारी- एक समय थियो। जब किशोरी पहिलो पटक महिनावारी हुन्छिन्। अनी घर भन्दा टाढाको जंगलमा लुकेर बस्नु पर्ने थियो। यो दुःख मैले पनि पाएकी छु। म पहिलो पटक छाउ (महिनावारी) भए। सुरुमा त मलाई थाँहै भएन्।

म पहिलो पटक महिनावारी हुदाँ मेरो ट्युसन क्लास (अतिरिक्त कक्षा) ठुलासैनमा रहेको मालिका प्राविमा थियो। ८ कक्षामा अध्ययन गर्दै थिए। बिक्रम सिँह विष्ट सरले गणित र देबिन्द्र तिमिल्सेना सरले अँग्रेजी बिषय पढाउनुहुन्थ्यो। त्यो दिन म बिहान आमासँगै उठेँ। कताकता मन झस्की रहेको थियो। मेरो गाउँ कि भावना दिदी र म असाध्यै मिल्थ्यौ। शारिरीक रुपमा कमजोरीको अनुभव हुदै थियो। तर पनि अध्ययनमा व्यस्त थिए। कक्षा कोठाको पछाडीको बेन्चमा गएर बसे, किनकी त्यो दिन म सधैँको भन्दा निराश र कमजोर थिए। मलाई डर लागिरहेको थियो। 

त्यो दिन भावना दिदिसँग बिहान ट्युसन क्लासमा अलि ढिलो जाने निर्णय गरे। दिदिले पनि मान्नुभयो। मेरो शरिर कचिलो थियो। मन कापिरहेको थियो। यि सबै कुरा रुदै दिदिलाई भने र अनि दिदिले भन्नुभयो, ‘तिमी बाहिर सरेकी छौ। यो बेला यस्तै हुन्छ। घर, मन्दिर, धारा कतै जानुहुदैन्। लुक्नु पर्छ। कसैलाई नभन्नु।’ 

म एक्कासि रुन थाले। काम गर्न, पढ्न अनि खेल्न र कसैसँग कुराकानी गर्न पनि जागर थिएन्। कता–कता चिन्ता मात्रै थियो। त्यो समयमा मेरा बुवाले बजारमा सानो ब्यापार सञ्चालन गरिरहनुभएको थियो। म ट्युसनकलास बाट फर्किएर पसल गए। मनमा डर थियो। बुवालाई जानकारी हुन्छ कि ? लागिरहेको थियो। तर पनि खाना खाएर विद्यालय गए। बिद्यालय जाँदा सधै साथिहरु सँग जान्थ्ये। तर त्यो दिन म सबै भन्दा पछाडी एक्लि थिए। बाटोमा बोक्सडा नाम गरेको खोला थियो। त्यस्को माथिल्लो किनारमा पानीको एक धारा। मलाई तिर्खा पनि लागेको थियो। तर दिदिले खाने पानीकोे धारा नछुन भन्नु भएको थियो। मनमा डर थियो भने तिर्खा पनि थियो। तर मैले पानी पिउन सकिन्। 

विद्यालय नजिक आउदै थियो। मेरा मनमा अनेक खालका प्रश्नहरु सिर्जना हुदै थिए। मन आत्तिएको थियो। साथिहरु र शिक्षकहरुको लाज लागिरहेको थियो। पानी तिर्खा पनि लागेकाले ओठ–मुख सुकेका थिए। त्यो बेला पानी पिउने मन सारै थियो। तर कसैलाई भनिन् र मागिन् पनि। सारै भएपछि चम्फा नाम भएकी दिदिलाई भने र दिदि र म पानी पिउन गयौँ। धारामा विद्यार्थी साथिहरुको लाईन नै थियो। त्यो धारा गाउँलेको पनि पानी खाने धारा हो। नाम भन्थानको धारो। पानी पिएपछि हामी कक्षा कोठा तिर गयौँ।

कक्षा कोठामा म सबैभन्दा पहिलो बेन्चमा बस्दै आएकी थिए। त्यो दिन भने पछाडीको बेन्चमा गए। म सबैसंग मिलेर बस्ने, खेल्ने, मनोरञ्जन गर्ने स्वभावकी थिए। त्यो दिन भने मनमा शान्ती थिएन्। मन अतालिएको थियो। शिक्षकले तिमिलाई के भयो भन्दै प्रश्न गर्न थाल्नुभयो। म अझै डराए र भने केही भएको छैन्। 

कक्षामा अध्यापन सुरु भयो। त्यो दिनको कक्षामा मैले केही बुझेन्। झण्डै ४ घण्टा विद्यालयमा बसे। दिउँसोको खाजा खाने समयमा म घर तिर लागे। त्यो दिन मलाई सारै तिर्खा लाग्दै थियो। विद्यालयबाट घर फर्किदा बाटोमा फुर्केमेल खानेपानीको धारा थियो। पानी पिउने आँट थिएन्। पानी बगिरहेको थियो। मनमा पानी तिर्खा थियो। तर पानी नपिएर म जंगल गए। पैँयारुख बासको झारीको जंगलमा त्यो दिन लुकेर बसेकी थिए। अहिले पनि हिजो जस्तै लाग्छ। त्यो क्षण ऐना जस्तै अगाडी आउछ। तर चार वर्ष भएको छ। डरै डरले रुँदै जंगल भित्र त्यो दिनको बाँकी समय बिताए। मन सारै आत्तिएको थियो। मनमा अनेक खालका प्रश्न पैदा हुदै थिए। यो संस्कारलाई धिकार्दी थिए। झण्डै ५ घण्टा मेरो त्यो दिन जंगलमा बितेको थियो। बिद्यालयमा महिनावारी बार्नु कुप्रथा भएको शिक्षकहरुले सिकाउदै आएका थिए। नीति नियम पनि हुदाँ हुन्।

तर व्यवहारमा हैन्। मेरो घर यही ठाउँमा। जन्म यही। मेरो घर, परिवार र गाउँको रितिको बारेमा मलाई पनि ज्ञान थियो। मैले पनि समाजको रितिरिवाजको ध्यान दिनै पर्ने। मनमा गोठ (घर देखि टाढाँ बनाइएको सानो घर) मा बस्ने रहर थिएन्। तर पनि आमा, दिदिहरुले भोगेको पीँडा मैले पनि भोगे। विद्यालयबाट मलाई खोज्न आए। साथिहरुले मेरा लागि खाजा पनि ल्याएका थिए। निर्मला पनि आईन्। उनी मेरो मिल्ने साथी। उनले पानीसंगै खाजा ल्याएकी थिइन्। भावना दिदिसंगै साथिहरु राजु, तुलि, निर्मला, पबित्रा, झुमा, चम्फा र बिन्द्राले मलाई जंगलबाट घर ल्याएका थिए। उनीहरुले मेरी आमालाई पनि म महिनावारी भएको बारेमा जानकारी दिएका रहेछन्।

आमाले सम्झाउदै भन्नु भयो, ‘चिन्तानगर। रुनुहुदैन्। यी दुःख आजका हैनन्। यो पीडा हामी छोरी मान्छेले भोग्दै आएका छौ। मेरी आमाले पनि भोग्नु भएको हो। मैले पनि भोगे। आज तिम्रो पालो। तिम्री बहिनिले पनि भोग्नुपर्ने हो।’ मेरो मन केही भएपनि शान्त भयो। त्यो दिन भावना दिदि पनि महिनावारी हुनु भएको रहेछ। उहाँले थप सम्झाउनु भयो। राती सुत्ने व्यवस्था गर्ने आश्वासन उहाँले दिनुभयो।

गोधुली साँझ थियो। तर मेरो लागि कालरात्री। धेरै लामो रात। जुन मैले देखेकै थिएन्। बुझेकै थिएन्। कल्पना पनि गरेकी थिएन्। मनमा अनेक खालका प्रश्नहरु थिए। दैनिक गृहकार्य गर्ने। अक्षर सुधारनको लागि नेपाली किताबको एक पाठ दैनिक लेख्ने मेरो बानी नै थियो। त्यो दिन यो कुराले पनि पिरोलिरहेको थियो। मनमा छटपटि थियो। कतिबेला गृह्रकार्य गर्ने ? कतिबेला पढ्ने ?  लगायतका कुराले मन झन आत्तिदै थियो। गृहकार्य नगरेरै विद्यालय गए शिक्षक रिसाउने डर। गृहकार्य गर्न उज्यालो पनि थिएन्। चिन्तै चिन्तामा झन मन कमजोर हुदै थियो।

राती भयो। साथिहरु सुत्न जाने तयारी गर्दै थिए। म पनि उनीहरुका पछि लागे। सानो गोठ थियो। घर देखि टाढा। गोठ खरले छाएको होचो थियो। भित्र जान निहुरिनु पर्ने। भित्र  अध्यारो थियो। डर लाग्दो। भावना दिदिले आँगो सल्काउनु भयो। मेरी दिदि जमुनाले गोठमा खाना ल्याएर आउनु भयो। उहाँले पानी पनि संगै ल्याउनु भएको थियो। राती सुत्नका लागि लुगा पनि दिदिले ल्याउनु भयो। आज देखि मैले त्यो सानो घरमा बस्नु पर्ने भयो। त्यो दिन मैले दिदिको पनी लाज मानेकी थिए। लुकेकी थिए। दिदि आएपछि झन मलाई रुन मन लाग्यो। भावना दिदिको पछाडी लुकेकी मलाई दिदिले सान्तवना दिदै नरुन भन्नु भयो। केहि नहुने भन्दै उहाँले मलाई सम्झाउने प्रयास गर्नु भयो। ‘तिमिलाई मात्र हैन्।सबैलाई यस्तै हुन्छ। राम्रोसंग सुत।’

हामी झ्याल, ढोका केही नभएको सानो गोठमा सुत्ने तयारी गर्दै थियौ।  मलाई गोठमा बस्ने बानी थिएन्। आगोको धुवा भयो। रुन थाले। पुसको जाडो महिना। आगो पनि चाहिने। भावना दिदि सम्झाउदै भन्न थाल्नु भयो, ‘नरोउ, बिस्तारै बानी पर्छ। आज मात्र गाह्रो हो। मलाई पनि यस्तै भएको थियो। अहिले बानी भएको छ।’
मलाई छाउगोठमा सानै हुँदा पनि डर लाग्थ्यो। विद्यालयमा शिक्षकहरु जिल्लामा छाउगोठमा ज्यान गुमाएका घटनाहरु सुनाउनु हुन्थ्यो। रेडियोबाट पनि समाचार सुनेकी थिए। रेडियोमा समचार सुन्दा मन रोएको थियो। 

त्यसपछि म धेरै दिन लुकेर बसे। साथिहरुले नै घरबाट खाना, पानी, लुगा किताब, झोला ल्याए। पुसको महिना। अग्ला पहाडहरुमा हिउँ थियो। मंगलसैन नगरपालिका वडा नम्बर ६ को डाडाँगाउँमा चिसो पनि सारै। बिहानै नुहाउनु पर्ने। हात–खुट्टा चलाउनै नसकिने। सम्झिदा अहिले पनि जिउँ शिरिङ्ग हुन्छ। सानी हुदाँ आमाले नुहानका लागि दिने तातो पानी सम्झन थाले। बिहान अतिरिक्त कक्षा। दिउँसो नियमित विद्यालय। घरका परिवारलाई जानकारी नदिएरै विद्यालय गए। साथिहरुबाट थाहाँ पाउछन भन्ने चिन्ता पनि मनामा थियो। यसै गर्दै ६ दिन भयो। घरमा आउन आमाले भन्नु भयो। बिहानै नुहाएपछि घर गए। घर भित्र प्रवेश गरे। तर एक कोठामा मात्र। म फेरी डराए। आफुबाट गल्ती भएको सोचे। आमाको कान्छि छोरी प्रतिको व्यवहार पनि फरक भयो। आमाले पनि मायाँ नगरेको भान हुन थाल्यो। म्नमा अनेक खालका कुराहरु खेल्दै थिए। त्यो रात घरको एक कोठामा म सुते। खाना पानी दिदिले त्यही ल्याउनु भयो। बाहिर पनि गएन्। घरमा भएपनि त्यो रात निद्रा लागेन्। 

अर्काे दिन घरको वातावरण फरक भएको थियो। गाउँमा आफन्तहरु, साथिहरु सबै मेरो घर आएका थिए। आमाले मलाई पनि बोलाउनु भयो। घरको मुल ढोकामा पानी भरिएको तामाको गाग्री राखिएको थियो। घरमा मिठा खानाका परिकार पनि बनाईएको रहेछ। मेरो लागि नयाँ लुगा पनि ल्याईएको रहेछ। तर सानो हुदा बुवाले लुगा ल्याउदाको जस्तो हर्ष भने मेरो मनमा थिएन्। आमाले मलाई पानी भरिएको तामाको गाग्री छुन लगाउनु भयो। दुई पटक पानी पिउन पनि भन्नु भयो। मेरो मनमा यति बेला पनि डर थियो। हात कापिरहेका थिए। दुई पटक पानी पिए। दुबोले पानीको गाग्री छोए। आमाले घरमा आएका सबैलाई टिका लगाउन भन्नुभयो। सबैलाई लगाए। उनीहरुले मलाई फुलमाला लगाईदिए। प्रसाद खुवाए। 
साँझ आमा म भएको ठाउँ आउनु भयो। त्यो सात दिन आमाले मेरो राम्रो ख्याल गर्नु भएको थियो। सातौ दिनमा पनि आमाले मेरा शारिरिक समस्याका बारेमा जानकारी लिनु भयो। सात दिनको दुःखका कुराहरु पनि मैले सुनाए। मलाई त्यो दिन पनि रुन मन लागेको थियो। जब आमा रुनु भएको थियो। 

मेरी आमा शिक्षिका हुन्। उहाँले विद्यार्थीलाई पढाउनु भयो। तर छाउपडी कुप्रथाको बिरोध गर्नु भएन्। कुप्रथाका बारेमा जानकारी भएपनि सहनु भयो। मेरी आमा मात्र हैन्। धेरै आमाहरुको यो बाध्यता पनि थियो होला सायद। मेरो समुदायका अन्यले पनि किन बिरोध नगरेका होलान्। मनमा प्रश्नहरु थिए। भन्न आट थिएन्। मेरा समुदायका अन्य बृद्धिजिवि पनि मौन थिए। राजनीतिक नेतृत्वले पनि यो कुप्रर्थाका बारेमा केहि काम गरेको मलाई लागेन्। म पहिलो पटक महिनावारी भएको चार वर्ष भयो। तर छाउपडी कुप्रथामा खासै सुधार आएको देखिकी छैन्। तर सुधार नै नभएको भन्ने भने होईन्। 

अहिलेको भन्दा चार वर्ष पहिले महिनावारी भएको बेला घरमा बस्छु भन्दा आमाले रिसाउनु भयो। आफ्नै छोरी प्रतिको आमाको त्यो व्यवहारले सारै पोलेको थियो। आमाले मान्दै आउनु भएको कुप्रथाका बिरुद्ध आवाज उठाउने मैले योजना बनाए। गाउँका युवा क्लबहरु, किशोरी समुह गठनको प्रकृया सुरु भएपछि मलाई झनै सहज भयो। म पहिलो पटक २०७३ साउन १३ गते कोपिला बाल क्ल्बको कोषध्यक्ष भए। हामीले छाउपडी कुप्रथाका बिरुद्द जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न थाल्यौँ। हामी यो कार्यमा केही सफल पनि भयौँ। 

छाउपडी गोठ मुक्त अभियानका लागि लाखौ रकम खर्च भयो। तर अभियानहरुले ठुलै सफलता पाएको भने मलाई लागेको छैन्। महिनावारी भएका बेला गोठमा होईन, घरमा बस्नु पर्ने भन्दै सञ्चालन भएको छाउगोठ मुक्त अभियानमा मेरा दाईको पनि सहभागिता थियो। मेरो लडाई भने कुप्रथासंग थियो। कुप्रथा बिरुद्दको कार्यक्रम सञ्चालन गर्दै हामी स्थानीयको मन छुन सायद सफल भयौ। आमाले पनि मेरो कुरामा सहमती जनाएपछि मलाई सफल भएको अनुभुति भएको हो।

तर पनि मेरो अझै आमालाई प्रश्न थियो। मेरो समाज मात्र किन यस्तो ? तर आमाको उत्तर थियो, ‘परम्परा हो। पुर्खा देखि मान्दै आइएको हो। मैले पनि यस्तै दुःख पाउदै आएकी हुँ।’ डाडाँगाउँमा रहेको मेरो घर नजिकै चार ज्युको मन्दिर छ। गाउँमा महिनावरी भएको बेला मन्दिर जानु हुदैन, भन्ने चलन्। मन्दिर गए, देवता रिसाउने, घरमा आगलागी हुने, जस्ता भ्रामिक कुराहरु सुनाईन्थ्यो। तर अछामको बैजनाथ धामका पुजारी देवराज पाण्डेलाई पनि यो कुराले पीडा दिएको रहेछ। उहाँ भन्नु हुन्छ, ‘कुप्रर्थाले देवता खुसी हुदैनन्। यो कुरा कुनै धर्ममा छैन्।’

पहिलो पटक महिनावारी भएदेखिका नौ पटक महिले पनि छाउगोठमा बिताए। दशौँ महिनाको महिनावारीमा गोठमा होईन घरमा बस्ने निर्णय गरे। मनमा परिवार, समाज, सस्थानको डर थियो। तर कसैलाई जानकारी समेत नदिएर घरमा बसे। देउता रिसाएनन्। घरमा आगलागी भएन्। कुनै अनिष्ठ भएन्। दिदिलाई पनि घरमा बस्ने भने। उहाँ पहिलो पटक सारै रिसाउनु भयो। उहाँलाई मनाउन मलाई दुई वर्ष लागेको थियो। उहाँलाई मैले कुप्रथाका बारेमा जानकारी दिए। अन्धबिस्वासका बारेमा बताए। बल्ल मात्र मेरो कुरामा मेरो दिदि सहमत हुनुभयो। छाउपडी कुप्रथाका कारण अछाम बद्नाम भएको राजनीतिज्ञहरु भाषणमा भन्छन्। तर सुधारका लागि पहल गरेको देखेको छैन्। केहि संघ–संस्थाका कर्मचारीलाई देखावटी काम गर्नु छ। भत्ता पचाउनु छ। तर बास्तवीक पीडा अछामका महिलालाई छ। मेरा आमा, दिदि–बहिनिलाई छ। 

मैले बाँकी तीन वर्ष पनि छाउपडी कुप्रथाका बिरुद्द बिताए। शिक्षा हासिल गर्न नपाएका दिदिहरुलाई थोरै भएपनि सिकेका कुरा सिकाउने अवसर पाएकी छु। अहिले रेडियोकर्मी भएकी छु। मलाई राम्रोसंग जानकारी छ। महिनावारी भएको समयमा महिला तनावमा हुन्छन्। उनीहरुलाई शान्त ठाउँ चाहिन्छ। आराम चाहिन्छ। पोषिलो खानेकुरा चाहिन्छ। महिनावारी भएका बेला दुःख पाएकी महिलाबाट जन्मीएका सन्तान पनि कमजोर हुने स्वास्थ्यकर्मी बताउछन्। त्यसैले महिनावरी भएका बेला आराम गर्न विदा पाउनु पर्ने महिलाहरुको माग छ। कुनै समयमा महिलाहरुमा चेतना थिएन्। उनीहरुमा सफा हुनुपर्ने ज्ञान थिएन्। महिनावारी भएकी महिलालाई गोठमा राखिए किटाणु नष्ट हुने विश्वास थियो। त्यो समयमा महिनावरी भएका बेला प्रयोग गर्न प्याड थिएनन्। अहिले सबै सुविधा छ। समाज केही भएपनि सचेत भएको छ। छाउपडी राख्न नहुने र राखेको पाइएमा कारबाही हुने कानुनी व्यवस्था नै छ। त्यसैले मेरो मान्यता छ–महिलाले महिनावरी भएका बेला छाउगोठमा होईन घरमा बस्न पाउँनु पर्छ।

हुन त अहिले मेरो गाउँमा एक पनि छाउगोठ छैन्। सबै महिला तथा किशोरीहरु घरको भुईतलामा बस्छन्। उनीहरु भान्सामा जादैनन्। पूजा कोठा जादैन्। यो परिवर्तनले पनि मलाई हर्षित बनाएको छ।

कमेन्ट लोड गर्नुस