सुदूर नेपाललाई विश्वसँग जोड्दै

२१ दिनपछि अस्पतालबाट डिस्चार्ज भए एमाले अध्यक्ष ओली

२०८३ वैशाख ५, ०९:३० खबर संवाददाता

काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। पत्थरीको शल्यक्रिया गरिएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट छुट्टी भई भक्तपुरको गुण्डुस्थित निवास पुगेको उनको सचिवालयले जनाएको छ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो। पक्राउ लगत्तै स्वास्थ्य परीक्षणका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो, जहाँ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएको थियो।

अस्पतालमै राखेर प्रहरीले अनुसन्धान अघि बढाइरहेको अवस्थामा ओलीकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले चैत २६ गते उनलाई हिरासतबाट मुक्त गर्न परमादेश दिएको थियो। त्यसपछि प्रहरीले अस्पतालमै हाजिरी जमानीमा उनलाई पत्नीको जिम्मा लगाएर रिहा गरेको थियो।

यद्यपि, रिहाइपछि पनि ओलीले तत्काल अस्पताल छाडेनन्। यसअघि नै पित्तथैलीमा पत्थरी देखिएकाले चैत ३० गते उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि थप ६ दिन उपचार गरिएपछि अन्ततः उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

कमेन्ट लोड गर्नुस