पुर्ख्यौली आरन पेशालाई निरन्तरता दिँदै कासीराम, मेहनत र सीपबाटै परिवारको गुजारा
लक्ष्मण ढुङ्गाल, धनगढी: धनगढीका कासीराम बि.क.ले बाउबाजेबाट प्राप्त पुर्ख्यौली आरन पेशालाई निरन्तरता दिँदै आएका छन्। ११ वर्षको उमेरदेखि नै आरनको सिप सिकेका कासीराम अहिले यसै पेशामार्फत परिवारको जीविकोपार्जन गरिरहेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का स्थायी बासिन्दा कासीराम हाल वडा नम्बर ४ मा घर भाडामा लिएर आरन व्यवसाय सञ्चालन गरिरहेका छन्। सानैदेखि सिकेको सिप र निरन्तर मेहनतका कारण उनी परिश्रमी र जिम्मेवार व्यवसायीको रूपमा परिचित भएका छन्। बुवाबाट प्रेरणा लिएर चाँडै आरन व्यवसाय सम्हालेका कासीरामले फलामबाट विभिन्न प्रकारका कृषि औजार निर्माण गर्दै आएका छन्।
तातो आगोको राफ र फलाम पिट्ने आवाज उनका लागि नौलो होइन। बाल्यकालदेखि नै यही वातावरणमा हुर्किएका उनीकहाँ धनगढी आसपासका गाउँ–बस्तीबाट मानिसहरू कृषि औजार बनाउन आउने गर्छन्। गुणस्तरीय कामका कारण उनले ग्राहकको विश्वास जितेका छन्।
आरन पेशामा कोइलाको समस्या भने केही चुनौतीका रूपमा रहेको कासीराम बताउँछन्। जंगलबाट सहज रूपमा दाउरा उपलब्ध भए यो पेशालाई अझ विस्तार गर्ने उनको चाहना छ। हाल उनले आरन पेशाबाटै सात जनाको परिवारको खर्च चलाइरहेका छन्।
स्वदेशमै बसेर आम्दानी सम्भव भएको बताउँदै कासीरामले भारत जाने सोच नपलाएको जनाएका छन्। यद्यपि उनका छोराहरू रोजगारीका लागि भारत गएका छन्। नेपालमै पर्याप्त रोजगारीको वातावरण बने आफ्ना छोराहरूलाई स्वदेशमै राख्ने चाहना उनको छ।
पुर्ख्यौली आरन व्यवसाय नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोच भए पनि बेरोजगारीका कारण युवाहरू विदेश पलायन भइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपालमै सीप सिकेर श्रम र उद्योगमा लागे राम्रो सम्भावना रहेको भन्दै कासीरामले युवाहरुलाई स्वदेशमै उद्यम गर्न आग्रह गरेका छन्।