बैतडीमा वडा कार्यालयका भवन बन्दै
बैतडीको पाटन नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको छ। भवन नभएका र पुराना जीर्ण भवन भएका वडा कार्यालयका भवन निर्माणमा प्राथमिकता दिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए। दश वडा रहेको नगरपालिकाका तीन वटा वडाका नयाँ भवन निर्माण सम्पन्न भएको र चालू आवमा थप तीन वडाका भवन निर्माण गर्न बजेट विनियोजन भएको छ।
नगरप्रवक्ता लोकबहादुर भण्डारीका अनुसार ४०÷४० लाखको लागतमा वडा कार्यालयका भवन निर्माण सम्पन्न भएका हुन्। उनले भने, “वडा नं ३, ७ र ९ का वडा कार्यालय भवन निर्माण भएर सेवा सञ्चालनमा आइसकेका छन्।” वडा कार्यालयको भवन निर्माण भएपछि दैनिक कामकाज गर्न सजिलो भएको वडाध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए।
नगरपालिकाले चालू आवमा ४, ५ र १० वडा कार्यालयका नयाँ भवन निर्माण गर्न बजेट विनियोजन भएको छ। नगरप्रमुख चन्दले भने, “नगरपालिकाले वडा कार्यालयबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन वडा भवन निर्माणमा प्राथमिकता दिएको हो।”रासस