विषय : लभ गर्न पाउँ भन्ने बारे ।
मंसिर, पुसको जाडो। परालको कुन्यूमाथि बसेर निवेदन लेख्ने तरिका घोक्दै थिएँ। विद्यालय जान नपाउँदा अघिल्लो दिन तिरेको एक रुपैयाँले बिदा माग्दा लेखिने निवेदन घोक्नैपर्ने दबाब ममाथि आएको थियो।
एक रुपैयाँ ठूलो थियो। चकलेट चारवटा आउँथ्यो। डटपेनमा फेर्ने एउटा ‘रिफिल’ किन्न सकिन्थ्यो। त्योभन्दा पनि एक रुपैयाँ पाउन सजिलो थिएन । त्योबेला पैसा कहाँ सजिलै पाइन्थ्यो र ?
घाम डुब्न नपाउँदै मैले निवेदन कण्ठ गरेँ । मैले चराउन लगेका खसीबाख्रा पनि आफ्नासँगै मिसाएर फर्काउँदै गरेका छिमेकीलाई आफूले घोकेको निवेदन सुनाएँ।
म तीन कक्षामा पढ्थें, छिमेकी दाइ ६ कक्षामा। उहाँलाई पनि निवेदन लेख्न नआउँदो रहेछ। उहाँले केही दिनपछि पारिपट्टिका एक जना दाइको विवाहमा जन्ती जाने दिनको लागि भोलि नै लेखिदिन भने। म दङ्ग परेँ। हिजो एक रुपैयाँ जरिबाना तिर्ने मान्छे आज अरुको लेखिदिने भएँ। हुन्छ भनेँ।
बाख्रा धपाउँदै गर्दा दाइले लजाउँदै भने – भाइ एउटा लभलेटर पनि लेखिदेउ न। अब आपत प¥यो। लाजले अनुहार रातो पारेका दाइ अपेक्षाका साथ मेरो अनुहारमा हेरिरहेका थिए। म अक्क न बक्क।
त्योबेला लभ लेटर लेख्ने चलन विद्यालयमा पसिसकेको रहेछ। माथिल्ला कक्षाका दाजुदिदीको लभका कुरा उनै दाइले सुनाउँथे। म प्राविसम्मको पढाइ हुने विद्यालयमा पढ्थें, त्यहाँ लभको चर्चा हुँदैन थियो। लभलेटर झोलामा राखिदिने, चित्रीको झाङमा लुकेर लभलेटर पढ्ने जस्ता कुरा सुनाउने ती दाइ पनि कसैलाई लभ लेटर लेख्ने दाउमा रहेछन्। नजानेर रोकिएको मनको कुरा मलाई सुनाए।
अघि गर्वका साथ कक्षा शिक्षकलाई लेख्ने तरिका सुनाएको मलाई लभलेटर लेख्न जान्दिनँ भन्न मन लागेन । हुन्छ भनिदिएँ। घर पुग्दा अघि घोकेको खुशीभन्दा लभ लेटर लेख्ने चिन्ताले सताउन थाल्यो। राती अबेरसम्म सोचेँ, तर आइडिया फुरेन।
मेरै दाइ पनि ६ कक्षामा पढ्थे। दाइसँग सिकाइ माग्न खोजेँ । तर किन भनेर सोध्छन् र घरकाले थाहा पाउँछन् भन्ने चिन्ता थियो। फेरि मेरो दाइ पनि लभलेटर लेख्न खप्पिस होलान् जस्तो लागेन। दाइले कहिल्यै ‘लभसब’को कुरा सुनाएका थिएनन्।
भोलि चाँडै भयो । छिमेकी दाइ लालीगुराँस कपि र स्टारलाइन डट्पेन बोकेर आइपुगे । जसरी पनि लेख्नुथियो। घट्टेखोलाको किनारमा रहेको चिप्लेटी ढुङ्गामा बसेर जिन्दगीकै पहिलो लभलेटर लेख्न थालेँ । लेख्न त के भनौं, लेखिदिन थालेँ।
लभलेटर तयार भयो। छिमेकी दाइले हस्ताक्षर गरे। कापीको अर्को पाना च्यातेर खाम बनाइयो। खाम बनाउन पनि विद्यालयमै सिकेको। बिदा पाउँ भन्ने पनि खाममै राखेर पठाउनुपथ्र्यो। लभ लेटर खाममा बन्द गरेपछि दाइ दङ्ग। लेख्न जानेकोमा म मख्ख।
अब कसले लगेर दिने अर्को तनाव। दाइले मलाई लगिदेउ भने। मसँग त्यत्रो हिम्मत कहाँ थियो र ? मभन्दा उमेरले केही सानो छिमेकी भाइलाई पठाउने कुरा भयो। एक रुपैयाँका चारवटा अरेन्जबल चकलेट दिएर दाइले ती भाइलाई लभलेटर केटीको हातमा पुर्याउने जिम्मेवारी सुम्पिए।
भाइले जिम्मेवारी पूरा गरेर आयो। अब जवाफ आउने आशा थियो। उताबाट लभलेटर आएपछि भोलि घट्टेखोलाको चिप्लेढुङ्गामै बसेर पढ्ने भन्दै विद्यालय गइयो।
विद्यालयबाट फर्कंदा त माहोल अर्कै भएछ। लभलेटर पढेपछि रिसाएकी ती छिमेकी दिदीले लभ लेटर पठाउने दाइलाई थर्काइछन्। ती दाइले मैले लेखिदिएको भनेछन्। मैले पनि दह्रो गाली भेटेँ। मैले लभलेटर लेखिदिएको धेरैलाई थाहा भयो। त्योबेला लभलेटर लेख्नु ठूलै गल्ती गर्नु रहेछ भन्ने थाहा भयो।
त्यसपछि मेरो हातले लभ लेटर लेख्ने आँट कहिल्यै गरेनन्। कक्षा ९ र १० मा गरेर मेरो नाममा दुईवटा लभ लेटर आएका थिए। पढ्दै च्यातेर फ्याँकिदिएँ। जवाफ फर्काउन त आँट हुनुपर्यो नि। आठ वर्षकै उमेरमा लभलेटर लेखेर गाली खाएको म त्यसपछि लभ लेटर भन्ने सुन्नसाथ डराउने भएको थिएँ।
रेडियोमा काम गर्न थालेपछि एक जनाले लभ लेटर पठाइछन्। तर मलाई नदेखाइकनै घरबेटीकी छोरी र अर्की एक बहिनीले जवाफ लेखेर पठाइदिएछन्। मैले नलेखेको मेरो नामको एउटा लभलेटर दर्ज भयो। कुरा हाँसोमै हरायो।
लभ लेटरदेखि डराउने रोग लागेको मलाई रेडियोमा पुराना चिठी पढ्ने कार्यक्रम चलाउने भूत चढ्यो। सामुदायिक रेडियो सोलु एफ.एम.मा पुराना चिठी नाम गरेको रेडियो कार्यक्रम सुरु गरेँ। लाहुरेका चिठीदेखि मायापिरतीका धेरै चिठी पढ्दा कार्यक्रम रोचक बन्यो।
सोलुखुम्बुका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ (गत वर्ष देशभरको सीडीओमध्ये उत्कृष्ट बनेका) र उहाँकी श्रीमतीबीच मायाप्रेम चल्दै गर्दा लेखिएका केही थान लभ लेटर पनि कार्यक्रममा समेटे।
उहाँहरुको लभलेटर पढेपछि चाहिँ मलाई पनि लभलेटर लेखुँ, लेखुँ लागेकै हो। तर ढिला भैसकेको थियो। हुन त त्योबेला मेरो मायाप्रेम पनि झाँगिदै थियो । तर लभ लेटरको ठाउँ फोन र इन्टरनेटले लिइसकेकोले लभ लेटर लेख्ने अवसर जुरेन।
लभ लेटर लेख्ने धेरै जना प्रेमिलहरुसँग भलाकुसारीचाहिँ रेडियोमा काम गर्दा भयो। साँच्चै रमाइला सन्दर्भहरु थाहा पाएँ। लभलेटर लेख्दा मनमा उत्पन्न हुने भाव, पत्रको पर्खाइ, पत्र आएपछि दोहोर्याउँदै पढ्नुको मज्जा, जवाफ फर्काउनुको आनन्द, लुकाएर राख्नुको मज्जा यी सबै लभ लेटरकै कालमा विद्यालय/क्याम्पस बिताएको भए पनि मैले अनुभव गरिनँ। तर कक्षा शिक्षकलाई लेखेको ढाँचामा मैले लेखिदिएको लभ लेटरले भने धेरै ठाउँमा रमाइलो गराएको छ। -भोजेन्द्र बस्नेत/उज्यालो