सुदूर नेपाललाई विश्वसँग जोड्दै

विधिको शासनको पक्षमा जनता : नेता महत

। फोटो स्रोत ।
२०७६ मंसिर २०, ०५:५७ खबर संवाददाता

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले जनता विधिको शासनका पक्षमा रहेको बताएका छन्। काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको उपनिर्वाचनमा विजयी वडाध्यक्षहरूलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा उहाँले जसले विधि मान्यो, त्यसैलाई जनताले छान्यो भने। उपनिर्वाचनमा काँग्रेसलाई ठाउँठाउँमा निर्वाचित गराएर जनताले यसअघि गरेका गल्ती सच्याएको भन्दै उहाँले सरकारप्रति जनताको वितृष्णा जागेको जिकिर गरे। उनले भने, “जनताले अबको शक्तिका रुपमा काँग्रेसलाई लिएका छन्।” 

सोही अवसरमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली जनताले उपनिर्वाचनमार्फत काँग्रेसलाई प्रष्फुटित गराएको बताए। कम्युनिष्टको दुई तिहाइको सरकार भएको बेलामा नेपाली जनताले लोकतन्त्रको रक्षाका खातिर काँग्रेसलाई सबल र सुदृढ गराउने चाहना देखाएको उनको भनाई थियो।

वर्तमान सरकारले प्रजातान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाउँदै उनले भने, “सरकारले हरेक पक्षमा मानव अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य पद्धतिलाई कमजोर बनाउने काम गरिरहेको छ, हामी सचेत हुनुपर्छ।” यही मङ्सिर १४ गते भएको उपनिर्वाचनमा भरतपुर महानगरपालिका–१६ मा अमृतराज हमाल तथा खैरहनी नगरपालिका–४ मा देवबहादुर बस्नेत र ५ मा प्रतिमा कार्की बस्नेत वडाध्यक्षमा निर्वाचित भएका थिए। उनीहरुलाई  सो अवसरमा सम्मान पनि गरिएको थियो। रासस
 

कमेन्ट लोड गर्नुस