सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–पुनर्वास ३३ केभी विद्युत् लाइन विस्ताको ठेक्का तोडियो

२०८१ फाल्गुन १६, ०७:०१ कमल सावद

धनगढी : कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वास ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारको ठेक्का तोडिएको छ।

नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय, अत्तरियाले २०८० वैशाखमा गरेको सम्झौता तोडेको हो। प्राधिकरणले २०८० कात्तिक ७ गते भित्रमा विद्युत् प्रसारण लाइनको काम पूरा गर्न सम्झौता गरेको थियो।

तर, निर्माण कम्पनीले काम नगरेको भन्दै सम्झौता रद्‍द गरिएको छ। नेपाल विद्युत् प्राधिकरण, अत्तरियाले नयाँ ठेक्का सम्झौता गरेको छ। नेपाल विद्युत् प्राधिकरण, बेलौरीका प्रमुख टंकराज गिरीले ठेक्का रद्‍द गरिएको बताए। उनले भने, ‘अत्तरियाको ठेक्का हो। बेलौरीले चलाउने मात्र हो। पहिलाको ठेकेदारले काम गर्नु भएन। अहिले नयाँ ठेक्का भएको छ। काम पनि सुरु भएको छ।’

धनगढी–पुनर्वास ३३ केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न २०८० वैशाख ८ गते सम्झौता भएको थियो। तारुपारे निर्माण सेवाले २०८० कात्तिक ७ गतेभित्र १४ दशमलव ५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन विस्तारको काम पूरा गर्नुपर्ने हो। तर, निर्माण कम्पनीले पूरा काम गरेन। विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय, अत्तरियाले तीन सय ४० पोल र आवश्यक तारसमेत निर्माण कम्पनीलाई दिएको थियो। निर्माण कम्पनीले २२५ वटा मात्र पोल गाडेर अलपत्र छोडेपछि ठेक्का रद्‍द गरिएको छ। नेपाल विद्युत् प्राधिकरण, बेलौरीका प्रमुख गिरीले नयाँ प्रादेशिक कार्यालयले ठेक्का सम्झौता गरेको बताए। उनले भने, ‘सामान विद्युत्ले दिएको हो। तर, काम भएन।’

निर्माण कम्पनीले हार्डवेयरका सामान खरिद गरेर जडान गर्न नसकेपछि ठेक्का रद्द गरिएको हो। पोल र तारहरू प्राधिकरणले दिएको थियो। निर्माण कम्पनीले हार्डवेयरका सामाग्री र कामदारको ज्याला मात्र दिनुपर्ने हो। तर, सो काम गर्न समेत तारुपाते निर्माण सेवाले नसकेपछि ठेक्का रद्द गरेर नयाँ सम्झौता गरिएको हो। पूर्णगिरी कन्स्ट्रक्सनले विद्युत् लाइन विस्तारको काम गर्दै छ। ‘सबै सामाग्री हामीले दिने हो। सामान प्रादेशिक कार्यालयले दिने सम्झौता भएको छ,’ गिरीले भने।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका पूर्व नगर प्रमुख गोविन्दबहादुर पुन सञ्चालक रहेको निर्माण कम्पनीले धनगढी–पुनर्वास ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारको अलपत्र पारेपछि ठेक्का नै रद्द गरिएको हो। विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रदेखि पुनर्वास बस–स्टेसनसम्म ३३ केभीको दोहोरो लाइन विस्तारका लागि एक करोड १५ लाख ३० हजारमा सम्झौता गरिएको थियो। नयाँ ठेक्कामा प्राधिकरणले नै हार्डवेयरका सामाग्री दिने भएको छ।

विद्युत् प्राधिकरणले पुनर्वास क्षेत्रमा १३ मिटर उचाइका पोलमा दोहोरो विद्युत् लाइन विस्तारको योजना बनाएको थियो। पुनर्वास क्षेत्रमा विद्युतक समस्या समाधान गर्न सव–स्टेसन निर्माण र दोहोरो लाइन विस्तारको योजना रहेको छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस