सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विद्युतको बक्यौता बुझाउन प्राधिकरणकै कर्मचारीको अटेरी

२०७६ मंसिर ४, ११:०१ खबर संवाददाता

नेपाल विद्युत प्राधिकरणको अत्तरिया ग्रीड प्रमुख भएर काम गरेका लखनलाल मल्लीक र मिथिलेस कुमार गोहिवार सहितका विभिन्न तहका आठजना कर्मचारीले बिजुलीको महसुल अथवा बक्यौता बुझाएका छैनन्।

अहिले नेपालगञ्ज वितरण केन्द्र प्रमुख भएर काम गरिरहेका लखनलाल मल्लीकले ५८ हजार ६ सय, इटहरी वितरण केन्द्रको प्रमुख भएर काम गरिरहेका मिथिलेस कुमार गोहिवारले ३९ हजार सात सय ७२ बक्यौता बुझाउन बाँकी रहेको पाईएको छ।

धनगढी वितरण केन्द्रले एक महिना अघि मात्र अत्तरिया ग्रीडलाई पत्र काट्दै बक्यौता संकलनमा सहयोग गर्न भनी आठजना कर्मचारीको सूची पठाएको स्रोतले बतायो। उक्त सूचीमा अहिले टीकापुर वितरण केन्द्रमा कार्यरत रमेश भट्टले ९९ सय हजार ४७, अत्तरिया ग्रीडमै कार्यरत हरीप्रसाद भट्टले ५२ हजार आठ सय

अत्तरिया ग्रीडमै कार्यरत विजय कुमार गुप्ताले २० हजार एक सय, बुद्धिराम थारुले चार हजार आठ सय र प्रदेश विद्युत प्राधिकरण कार्यालयका प्रमुखका सवारी चालक भानसिंह खडायतले ३४ हजार दुई सय बक्यौता बुझाउन बाँकी रहेको छ।  

सरुवा भइसकेका र हाल कार्यरत समेत गरी आठजना कर्मचारीले बक्यौता नबुझाएपछि धनगढी वितरण केन्द्रले एक महिना अघि मात्र अत्तरिया ग्रीडलाई पत्राचार गर्दै संकलनमा सहयोग गरिनदिन भनेको हो। तर सबै कर्मचारीले बक्यौता नबुझाएको धनगढी वितरण केन्द्र प्रमुख सुरेश चौधरीले दिनेश खबरलाई बताए।

चौधरीले बक्यौता संकलनको चरणमै रहेको र कतिपयले बुझाईसकेको बताए पनि यकिन तथ्याङ्क प्राप्त नभएको जानकारी दिए। तर बक्यौता नबुझाएको भनिएका कर्मचारीहरुले भने प्राधिकरणको लापरवाहीले समस्या भएको दावी गरेका छन्।

नेपालगञ्ज वितरण केन्द्र प्रमुख लखनलाल मल्लीकले दिनेश खबरसंग भने, ‘मैले सरुवा हुने बेला नै सबै बक्यौता बुझाएर आएको हुँ।’तर अहिले पनि अत्तरिया ग्रीडले आफ्नो नामकै मिटर कायम राखेकाले बक्यौता बुझाउन बाँकी देखिएको हुनसक्ने बताए।

यस्तै अहिले इटहरी वितरण केन्द्र प्रमुख रहेका मिथिलेस कुमार गोहीबारले पनि आफूले तत्कालीन समयमा बक्यौता बुझाईसकेको दावी गरे तर कार्यालयले अहिले पनि आफ्नो नाममा मिटर कायम गर्दा समस्या भएको बताए। उनले कार्यालयले गरेको गल्तीको सजाय आफूले भोगिरहनुपरेको गुनासो गरे।

विद्युत प्राधिकरण अत्तरिया ग्रीडले भने विद्युतको बक्यौता नबुझाउनुमा कार्यालय नभएर कर्मचारी नै दोषी रहेको जनाएको छ। ग्रीडका प्रमुख गणेश पाण्डेले कर्मचारीले सरुवा भएर जादा बक्यौता बुझाएर जानुपर्ने बताए। उनले बक्यौता नबुझाउनु स्वंयम कर्मचारीकै गल्ती भएकाले त्यसको जिम्मेवारी कार्यालयले नलिने उल्लेख गरे।

तर प्राधिकरणकै कर्मचारीले बक्यौता नबुझाउदा लाखौँ राजस्व संकलन गर्न बाँकी छ। अत्तरिया ग्रीड मात्र नभएर अन्य प्राधिकरणकै अन्य कार्यालयमा कार्यरत कर्मचारीबाट बक्यौता संकलन गर्न बाँकी रहेको दावी गरिएको छ।

कमेन्ट लोड गर्नुस