सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँको जुलुसले दार्चुला त्रासमा

२०७६ कार्तिक २६, ०३:४७ जनक विष्ट

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पिया धुरा समावेश गरेपछि देशभरी विरोध प्रर्दशन भईरहेका छन्। अहिले सडकदेखि सिंहदरबारसम्म कालापानी, लिपुलेक र लिम्पिया धुराकै चर्चा र बहस छ।  

भारत विरोधी प्रदर्शन पनि जारी छन्। संघिय राजधानी काठमाडौँ, सातवटा प्रदेशका स्थायी र अस्थायी राजधानी, जिल्ला सदरमुकाम सहित मुख्य शहरहरुमा दैनिकजसो भारत विरोधी नारा लागिरहेका छन्।

सरकारले पनि भारतले नेपाली भूमी आफ्नो नक्सामा समावेश गरेको भन्दै ध्यानाकर्षण भएको भन्दै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ। सिङ्गो देश कालापानी, लिपुलेख र लिम्पिया धुराको बहसमा रहेका बेला दार्चुला मौन छ। अझ भनौँ भारतले जारी गरेको नक्साका आधारमा सीमा पारीका गाउँ भन्दा पनि फरक नपर्ने ब्यास गाउँपालिकाको तिङ्कर र छाङ्गरुगाउँ त वेखबर जस्तै भएको छ। 

राष्ट्रियताको सवालले न तिङ्कर र छाङ्गरु गाउँलाई दुखेको छ न त गाउँबासीलाई नै। काठमाडौँमा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे मच्चीएको कोलाहल तिङ्कर र छाङ्गरुबासीले अझै सुनेका छैनन्। त्यसको कारण छ, राष्ट्रियताका कुरा घन्काउने काठमाडौँले कालापानी, लिपुलेक र लिम्पियाधुराले खेप्दै आएको पीडा चाहेर पनि अहिले सम्म सुनेका छैनन्।

ती पीडा बरु ढुङ्गाले सुनिसकेको छ होला सायद। तर काठमाडौँले सुन्दैन्, बरु राष्ट्रियताका चर्का नारा लगाएर सडकमा टायर बाल्न तम्सीन्छ ऊ। काठमाडौँमा लाग्ने भारत विरोधी चर्का नाराले लिपुलेक, कालापानी र लिम्पिया धुरा फिर्ता होला नहोला तर काठमाडौँको जुलुसले दार्चुला त्रास र चिन्तामा छ। 

वर्षमा छ महिना सदरमुका त छ महिना तिङ्कर र छाङ्गरु बस्ने सौका समुदायलाई काठमाडौँमा चर्किएको भारत विरोधी आन्दोलनले त्रास उत्पन्न गराईदिएको छ। साविकको ब्यास गाविसका तत्कालीन अध्यक्ष समेत रहेका स्थानीय जहेन्द्र अतिवालले दिनेश खबरसंग भने, ‘काठमाडौँको जुलुसले हामीलाई चिन्तित बनाएको छ।’

अहिले भारतमा समेटिएको कालापानीबाट झण्डै १० किलोमिटरको दुरीमा रहेको छाङ्गरुमा बस्दै आएका करिब  डेढ सय परिवार सदरमुकाम फर्किने समय आईसकेका बेला चर्किएको भारत विरोधी आन्दोलनले चिन्तित भएका छन्। नेपालबाट सदरमुकाम फर्किन बाटो नभएका कारण वर्षेनी उनीहरु अस्थायी पास लिएर भारतबाटै फर्किन्छन्।

तर कालापानी विरोधी आन्दोलनले भारतीय प्रशासनले पास नदिने हो की भन्ने चिन्तामा आफूहरु रहेको उनी बताउँछन्। कालापानीको विरोध गर्ने, तिमीहरुलाई जान दिदैनौँ भनेपछि के गर्ने? जहेन्द्र अतिवालले भने, ‘राष्ट्रियताका  ठुला कुरा गरेर के गर्नु, राज्यको उपस्थिती नभएपछि।’

राष्ट्रियताका नारा लगाएर दार्चुलाको ब्यासबासीलाई त्रसित नबनाउनु उनको आग्रह थियो। दैनिक उपभोग्य सामानदेखि आवातजावत गर्ने बाटो पनि आफ्नो नहुँदा मन दुःखछ उनी भन्छन्,‘ठुला कुरा गरेर केही हुनेवाला छैन्।’ कालापानी, लिपुलेक र लिम्पिया धुरामा राज्यको उपस्थिती नभए सम्म राष्ट्रियताका कुरा गर्नु तर्कसंगत नहुने उनको ठम्याई छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस