नेकपा सुदूरपश्चिमका इन्चार्ज रावलले भने– डाक्टर केसीको अनसनबारे जानकारी छैन्
चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी १७ पटक डडेल्धुरा पुगेर अनसन बसेका छन्। डाक्टर केसी डडेल्धुरा पुगेर अनसन बसेको आज आठ दिन पुगेको छ। जिल्ला सदमुकामको एक नीजि घरमा अनसन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।
तर अस्पतालले केसीको स्वास्थ्य जटिल बन्दै गएको भन्दै आईतबार विज्ञप्ती जारी गरी डडेल्धुरामा उपचार गर्न नसक्ने भएकाले सुरक्षित स्थान सार्न आग्रह गरिसकेको छ। यद्यती अहिले सम्म केसीको डडेल्धुरा अस्पतालमै उपचार भईरहेको छ।
उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपनि सरकारले माग सम्बोधनमा चासो दिएको छैन्।
केसीको अवस्थाबारे सुदूरपश्चिमका सरोकारवाला पक्ष पनि मौन बसेका छन्। स्थानीय, प्रदेश र संघिय सरकारका कुनै पनि प्रतिनिधिले केसीको स्वास्थ्य स्थिती बारे चासो लिएका छैनन्। बरु उल्टै नेकपाका नेताहरु केसी सुदूरपश्चिम पुगेर अनसन थालेको विषयमा जानकारी नभएको सार्वजनिक अभिव्यक्ति दिईरहेका छन्।
नेकपा सुदूरपश्चिमका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य भीम रावलले नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा केसी आफ्नो गृह प्रदेश गएर अनसन बस्नुको कारण बारे जानकारी नभएको अभिव्यत्ति दिएका छन्।
कार्यक्रममा पत्रकार ऋषि धमलाले डडेल्धुरा पुगेर अनसन थालेका डाक्टर केसीको बिग्रदो स्वास्थ्य अवस्था र मागबारे सरकार मौन बसेको विषयमा सोधेको प्रश्नमा रावलले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने,‘उहाँ डडेल्धुरा पुगेर अनसन किन बस्नु भयो त्यो विषयमा मलाई जानकारी भएन, उहाँले के माग उठाउनुभएको हो त्यो पनि मलाई थाहा छैन्।’
तर डाक्टर केसी डडेल्धुरा पुगेर अनसन सुरु गरेको आज आठ दिन पुगेको छ। उनले आफूसंग यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने, क्यान्सर लगायत महंगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथमुल्यमा उपलब्ध गराउनुपर्ने, कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा अस्पताल लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्न लगयातका सात बुँदे माग राखेर अनसन थालेका छन्। उनको स्वास्थय अवस्था गम्भीर बनेको छ।
यी हुन् डा केसीले राखेका ७ बुदे मागहरु
१ हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
२ विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
३ आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् ।
४ संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।
५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्या्एर एमबिबिएस कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्। प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
६ क्यान्सर लगायत महंगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथमुल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस । कर्मचारि समायोजनका कारण सेवानै अवरुद्ध भएका डडेल्धुरा अस्पताल लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस् ।
७ संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।