भारतीयलाई पर्यटक किन नमान्ने ?
गोपाल हमाल
सन् १९४७ अगष्ट १५ को दिन, भारतले ब्रिटिश साम्राज्वादबाट मुक्ति पाएको थियो। ब्रिटिश साम्राज्यवादको करीब २ सय बर्ष जतिको दासताबाट स्वतन्त्र भएपछि र स्वतन्त्र हुन अगाडी भारतमा थुप्रै उतारचढाव भए। तर स्वाधीनता प्राप्त भएपछिका ७ दशकको समय बित्दा भारतले विभिन्न क्षेत्रमा निकै प्रगति गरेको कुरालाई भने नकार्न सकिन्न। स्वतन्त्र हुन अगाडी भारतमा दुई पटक भोकमरी भयो। सन १८९९ देखि एक बर्ष सम्म भारतमा भएको भोकमरीका कारण झण्डै लाखौले ज्यान गुमाउन परेको थियो। त्यस्को ४३ बर्षपछि फेरी भारतकै बंगालमा भएको भोकमरीमा पनि लाखौँले ज्यान गुमाए, खान नपाएरै।
त्यसपछि भारतले तीन पटक पाकिस्थान र दुई पटक चिनसंग युद्ध लड्यो। पहिलो पटक पाकिस्तानसंग सन १९४७ को २२ अक्टोवरमा सुरु भएको युद्ध ५ जुन १९४९ सम्म चलेको थियो। युद्ध चलेको डेढ बर्षको अवधीमा झण्डै ७ हजारले ज्यान गुमाए। दोश्रो युद्ध सन १९६५ को अगष्टदेखि सुरु भएकोमा सेप्टेम्वर सम्म चलेको थियो। सन १९७१ को डिसेम्वर ३ देखि १६ सम्म भएको तेश्रो युद्धले पाकिस्तानबाट बंगलादेश अलग भयो। युद्धले ज्यूधनको क्षती त भयो नै अर्थतन्त्रलाई पनि क्षतविक्षत नै बनायो।
सन १८९९ देखि १९७१ सम्म झण्डै ७२ बर्षको अवधीमा भारत भोकमरी र युद्धमा पटक–पटक पिल्सियो। त्यस्को प्रभाव दशौँ बर्ष सम्म पनि रह्यो। उनीहरु सामान्य मजदुरीका लागि पनि विदेश धाउन थाले र नेपाल पनि धेरेको रोजाईमा प¥यो। सो समयमा सीमा बजारहरुमा आवतजावत गर्दा पनि खतरा थियो। गौरीफन्टा–पलिया सडकमै पनि दुधुवा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सार्वजनिक सवारी र नीजि सवारीमा समेत आवतजावत गर्दा डकैती हुने गरेको थियो।
डैकतीबाट जोगिनका लागि सार्वजनिक सवारी साधनमा हतियार सहित सुरक्षाकर्मी पनि पठाउने गरिएको थियो। युद्ध र भोकमरीले पिल्सिएको भारतमा धेरै नागरिकलाई दुई छाक टार्न पनि मुस्किल थियो। सोही समयमा चोरी, जेव काट्ने, लुटपाट लगायतका अपराधिक गतिविधिले प्रसय पाएको हो। सो अवधीमा नेपालमा पुगेका धेरै अशक्तहरुले मागेरै खाए। सोही समयदेखि नै हो, भारतीयहरु गरिव हुन भन्ने नेपाली मानसिकता बनेको।
तर अहिले भारत विश्वको अर्थतन्त्रमा शक्ति राष्ट्र बनेको छ। आगामी दश वर्षमा भारत विश्वको दोस्रो शक्तिशाली अर्थतन्त्र भएको मुलुकका रूपमा उदय हुने प्रक्षेपण गरिएको छ। उस्ले अमेरीकालाई पनि उछिन्ने लक्ष्य बनाईसकेको छ भने चिनलाई टक्कर दिने तयारीमा छ।
सन २०३० सम्म भारतको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ४६ दशमलव ३ ट्रिलियन डलर अर्थात ४ सय ६३ खर्व डलर पुग्ने अनुमान छ। जवकी अमेरीकाको जिडिपी लक्ष्य ३ सय १० खर्व र चिनको ६ सय ४० खर्व डलर रहेको छ।
देश अर्थतन्त्रमा विश्वकै शक्तिशाली भएपछि अहिले न दुधुवा राष्ट्रिय निकुञ्जमा सार्वजनिक यात्रा गर्दा डकैती हुन्छ न त पलियाको बसपार्कमा जेव काट्ने समस्या छ। सार्वजनिक सवारीमा हतियारधारी सुरक्षाकर्मी पठाउन पर्ने बाध्यता पनि छैन्। भोकमरीकै कारण लाखौँको सङख्यामा ज्यान गुमाउन पर्ने बाध्यता घट्दै गएको छ। यस्को मुख्य कारण नै भारतले अर्थतन्त्रमा छलाङ मार्नु नै हो। कुनै बेला युद्ध र भोकमरीले पिल्सिएको भारत अहिले विश्व बजारको उदाउँदो आर्थिक शक्ति भएको छ। अर्थतन्त्रमा उदाउँदो राष्ट्र भएकै कारण विश्वको नजर पनि भारतमा केन्द्रित भएको छ तर त्यस्को प्रत्येक्ष फाईदा लिन हामी असफल भएका छौ।
भोकमरी र युद्धको समयमा भारतीय नागरिकहरुप्रति हामीले बनाएको सोच अहिले सम्म परिवर्तन गरेका छैनौ। अहिले उनीहरु विश्वको शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रका नागरिक हुन भन्ने कुराको हामीले हेक्का राख्न सकेका छैनौ। उनीहरु अहिले भोकमरीमा छैनन् घुम्नकै लागि लाखौँ खर्च गर्न सक्ने हैसियतामा छन् भन्ने कुराको समेत हामीले वास्ता गर्न सकेका छैनाँै।
होईन भने सिमा पारी पुग्ने पर्यटक सीमा वारी किन आईरहेका छैनन्। खोजिको विषय बनाउने समय आईसकेको छ। त्रिनगर नाका भएर तेश्रो मुलुकका पर्यटकहरु औसतमा माषिक ६ जना मात्रै भित्रिरहेका छन्। गड्डाचौकी भएर आउने पर्यटकको सङख्या केही बढि छ। तर उनीहरु पनि सिधै धनगढी विमानस्थल भएर काठमाडौँ उड्ने गरेका छन्। पश्चिमी नाका भएर आउने धेरे पर्यटकको उद्येश्य भारतको भिषा नविकरण पनि हुने गरेको छ। ६ महिनामा भिषा नविकरणका लागि एक पटक देशबाट बाहिरिनुपर्ने बाध्यताका कारण उनीहरु एक पटक पश्चिमी नाका भएर नेपाल आउने गरेका छन्।
यस्ले सुदूरपश्चिम तेश्रो मुलुकका पर्यटकको रोजाईमा परेको छैन् भन्ने पुष्टि समेत गरिदिएको छ। अर्को तर्फ काठमाडौँबाट धनगढी आउने तेश्रो मुलुकका पर्यटकको सङख्या पनि निकै न्यून छ। डलर फेयर अर्थात मंहगो हवाई भाडाले पनि सुदूरपश्चिममा पर्यटक आउन मान्दैनन्। धनगढी आउने भाडाले उनीहरु पुर्वी नेपालका धेरै पर्यटकीय गन्तव्य घुमेर फर्किन सक्ने सम्भावना हुन्छ। टुर एण्ड ट्राभल्सहरु पनि काठमाडौँ केन्द्रित छन्, उनीहरुको प्राथमिकतामा पनि सुदूरपश्चिममा परेको छैन्। अव हाम्रा लागि एक मात्र विकल्प भारतीय पर्यटक नै हुन्।
तर भारतीय नागरिकलाई हामीले पर्यटकका रुपमा स्विकार गर्न कन्जुसाई गरिरहेका छौँ। यस्ले न त पर्यटन मार्फत समृद्धीको मार्ग प्रसस्त गर्न सकिन्छ न त भ्रमण बर्षको लक्ष्य नै पुरा गर्न सकिन्छ। धनगढीसँगै रहेको भारतीय दुधुवा राष्ट्रिय निकुञ्जमा बार्षिक ५० हजार पर्यटकहरु आउने गरेका छन्। तर तिनिहरुलाई नजिकैका नेपाली पर्यटकीय गन्तव्यमा हामी पुगाउन सकिरहेका छैनौँ। सीमा संगै जोडिएको धनगढी बजार सम्म पनि पुगाउन सकिरहेका छैनौँ। अवको २५ दिनपछि अर्थात नोभेम्वर १५ (कार्तीक २९) देखि जुन १५ ( असार १) सम्मका लागि दुधुवा राष्ट्रिय निकुञ्ज पर्यटकहरुका लागि खुल्ला गरिदै छ।
सन १९७७ मा दुधवा जंगललाई राष्ट्रीय उद्यान बनाईएको थियो भने १९८८ मा किशनपुर वन्यजीव विहारलाई पनि दुधवा राष्ट्रीय निकुञ्जमा गाभिएको थियो। दुधुवा उत्तर प्रदेशको एउटा मात्रै राष्ट्रिय निकुञ्ज हो। जुन पर्यटकहरुको पनि रोजाईमा पर्ने गरेको छ। त्यहाँ आन्तरिक पर्यटकहरु मात्रै नभई विभिन्न देशबाट अध्ययन अनुसन्धानका लागि पनि पुग्ने गरेका छन्। सोही दुधुवा, पर्यटकका लागि खुल्ने समय र नेपालमा भ्रमण बर्षको सुरवाती समय संगै पर्ने भएकाले दुधुवाबाट पर्यटक धनगढी सम्म पुगाउनका लागि योजना बनाउन आवश्यक देखिएको छ।
तर अहिले सम्म दुधुवा सम्म पुग्ने पर्यटकलाई धनगढी सम्म कसरी पुगाउने योजना समेत नबन्नु भने विडम्वना हो। अहिले नेपाल–भारत सीमा नाका त्रिनगरमा नेपाली भुमी टेक्ने वित्तिकै अस्तव्यस्तता देखिन्छ। सडकमै राखिएका खोका छाप्रा, अव्यवस्थीत रुपमा गरिएको पार्किङ लगायतका कारण सीमा नाका कुरुप छ। सुरुमा पर्यटकको ध्यान आकर्षण गर्न सीमा नाका व्यवस्थित बनाउन आवश्यक छ। सीमा नाकामा रहेका खोका छाप्रा व्यवस्थापन गर्दै त्रिनगर नाका नजिकै रहेको मन्दिर परिसरमा सुन्दर उद्यान निर्माण गरिए मात्रै आकर्षक देखिने छ। उद्यानमा सुुदूरपश्चिम प्रदेशभरीका प्रुमख पर्यटकीय गन्तव्यहरु झल्काउन सके र ति पर्यटकीय गन्तव्यहरुको विषयमा सम्पूर्ण सूचना दिन सके मात्रै भारतीय पर्यटकहरुका लागि सुदूरपश्चिम गन्तव्य बन्न सक्छ।
यस्ले नाका सम्म पुग्ने पर्यटकलाई कौतहलता प्रदान गर्ने छ र उनीहरुलाई ति पर्यटकीय क्षेत्रमा पुग्नका लागि जागर थप्ने छ। त्यसपछि नेपाली भुमीमा टेक्ने वित्तिकै भारतीयहरु माथि हुने व्यवहारमा सुधार गर्न आवश्यक छ। अहिले भारतीय नम्वरका गाडी ल्याउनै नसक्ने जुन वातावरण बनेको छ, त्यो सुधार नभए पर्यटन मार्फत समृद्धीको सपना, सपनामै सिमित हुन्छ भन्दा फरक नपर्ला। गौरीफन्टा सीमा नाकामा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा नेपाल प्रहरी र एक ठाउँमा भन्सारको चेकजाँच हुने गरेको छ।
यस्ले पर्यटकलाई अनावश्यक दुख दिएको भान समेत हुने गरेको छ। त्यसैले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै सकिन्छ भने एउटा मात्रै स्थानमा चेकजाँचको व्यवस्था हुन आवश्यक छ। यस्ले पर्यटकहरुलाई सहजै धनगढी र आसपासका पर्यटकीय गन्तव्य सम्म पुगाउन सहज हुने छ। त्योसंगै नेपाल भ्रमण बर्ष २०२० लाई केन्द्रित गरि सीमा नाकामा पर्यटक सहायत कक्ष स्थापना गर्दै सोही सहायता कक्षबाट सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुको प्रचार सामाग्री निशुल्क रुपमा वितरण गर्ने व्यवस्था गर्नुपर्छ। भ्रमण बर्षकै लागि लक्षित गर्दै पर्यटन प्रहरी राख्न सकियो भने झनै राम्रो हुन्छ।
अर्को विषय स्थानीय सरकारले गरिरहेको अवैध असुली (सडकमा गाडी गुडे वापतको रकम) समेत रोक्न आवश्यक छ। तत्कालिन समयमा उक्त असुली नियन्त्रका लागि हामीले धेरै निकाय धायौँ। त्यस्को परिणाम स्वरुप कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक हुँदा सम्म अवैध असुली रोकिएको थियो। तर उनको सरुवासंगै फेरी असुली सुरु भयो।
सोही अवैध असुली नियन्त्रणका लागि तत्कालिन स्थानीय विकास सहायक मन्त्री रेशम लामालाई हामीले त्रिनगर नाका सम्मै पुगायौँ। उहाँले सो समयका कैलाली र कञ्चनपुरका स्थानीय विकास अधिकारीलाई अवैध असुली रोक्न निर्देशन दिनुभएको थियो। उहाँले स्थानीय निकायले आफैले बनाएको सडकमा कर लिन पाएपनि अन्तराष्ट्रिय नाकामा भईरहेको असुली गैर कानुनी भएको बताउनुभएको थियो। तरपनि असुली रोकिएन र उक्त असुली रोक्नका लागि म सहित उद्योग वाणिज्य संघ कैलालीका पूर्व अध्यक्ष दिनेशराज भण्डारी, पर्यटन व्यवसायीद्धय मायाप्रकाश भट्ट र रुवस होटलका सञ्चालक प्रकाश भट्टले उच्च अदालतमा मुद्धा समेत हालेका थियौँ। सो मुद्धाको तर्फबाट अहिलेका सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले बहस गर्नुभएको थियो।
कुनै पनि अन्तराष्ट्रिय नाकामा सुरुमा सुरक्षा पोष्ट र त्यसपछि भन्सार हुने गरेको छ। तर त्रिनगर नाकामा सरकारी ठेकेदारको असुली कार्यालय छ। यस्ले नेपाल भित्रिने पर्यटकलाई असुली कार्यालयले स्वागत गरेको भान भईरहेको छ।
सीमा क्षेत्रको चेकजाँचपछि पनि बजार क्षेत्रमा भारतीय नम्वर प्लेटको गाडी देख्ने वित्तिकै सिटी फुकी हाल्ने प्रहरीको नियतमा पनि सुधार हुन आवश्यक छ। यस्तै कारणले अहिले भारबाट काम विशेषले धनगढी र आसपासका क्षेत्रमा आउँदा गौरीफन्टामै गाडी छोडेर आउने क्रम बढेको छ। यस्लाई न्यूनीकरण गर्नका लागि सुरक्षा निकायको नियत सुधार हुन आवश्यक छ भने सीमा सुरक्षा व्यवस्थालाई असर नपुग्ने गरि चेकजाँचलाई सहज बनाउन आवश्यक छ। यस्तै सामान्य गल्ति भएपनि प्रहरी प्रशासनले उनीहरुलाई पक्राउ गर्दै सताउने प्रवृतीमा पनि सुधार हुन आवश्यक छ।
अन्य मुलुकको सिको गर्दै जघन्य अपराध बोहेका घटनमा उनीहरुलाई सम्झाईबुझाई सीमा पार गराईदिने व्यवस्था गर्न सकिए यस क्षेत्रको विषयमा भारतीय पर्यटकहरुको सोचाई नै फेरिने छ। विगतमा भारतीय डाक्टरहरुले मादक पदार्थ सेवन गरेकै कारण सार्वजनिक मुद्धा दर्ता गरिएको थियो र उनीहरुलाई झण्डै दुई साता सम्म प्रहरी हिरासतमा समेत राखिएको थियो। यस्ले भारतीय पर्यटकहरुमा त्रासको वातावरण बन्दै गएको छ। अर्को विषय हामीले अहिले सम् मभारतीय पर्यटकहरुलाई पाहुनाको व्यवहार गर्न सकेका छैनौँ। घरमा आउने पाहुनालाई जस्तो सत्कारका साथ हामी राख्छौ, सोही सत्कार भारतीय पर्यटकहरुलाई दिन सकेका छैनौँ, अर्थात पर्यटकसंग विशेष व्यवहार गर्न सकेका छैनौँ, जुन अति आवश्यक हो।
अर्को महत्वपूर्ण विषय भारतीय सीमा क्षेत्रका बजारमा भईरहेको विकासलाई पनि हामीले मध्यनजर गर्नैपर्छ। पलिया सम्म भारतीय रेलवे मिटरगेजबाट ब्रोडगेजमा स्तरोन्नती भईरहेको छ। ढाई अर्व भारतीय रुपैँया बजेट पलिया बंसिनगर विमानस्थल निर्माणका लागि बिनियोजन भईसकेको छ। यस्तै भारतको राष्ट्रिय राजमार्ग सम्म जोड्नका लागि दुधुवा सम्म चार लेनको सडक निर्माण कार्य तिव्र गतिमा भईरहेको छ।
पलियासम्म रेलवे सेवाको स्तरबृद्धी र हवाई सेवा सञ्चालन हुने हो भने दुधुवामा अझै पर्यटकको सङख्यामा बढोत्तरी हुने छ। यि तीन वटा योजनाले दुधुवा राष्ट्रि निकुञ्जलाई भारतको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मार्ग प्रसस्त गर्ने छ।
उत्तर प्रदेशको २३ करोड, तीन करोड दिल्ली र डेढ करोड उत्तराखण्ड गरि साढे २७ करोड जनसङख्या सुदूरपश्चिम प्रदेशबाट धेरै नजिकै छ। उदाहरणका लागि तीन राज्यका १० प्रतिशतले मात्रै बर्षमा एक पटक पर्यटकीय गन्तव्य सम्म पुग्छन भने पर्यटकको सङख्या २ करोड ७५ लाख हुन्छ। त्यस्को एक प्रतिशतलाई मात्रै सुदूरपश्चिममा ल्याउन सकिने हो भने पर्यटकको सङख्या दुई लाख ७५ हजार हुन्छ। यो आकाडालाई आधार मान्ने हो भने दिल्ली, उत्तर प्रदेश र उत्तराखण्डले मात्रै सुदूरपश्चिमको पर्यटन बजार धान्न सक्छ।
सुदूरपश्चिममा अहिले पर्यटकहरुको खडेरीको अवस्थालाई सुधार गर्नका लागि संघीय सरकारको मुख ताक्नु भन्दा स्थानीय र प्रदेश सरकारसंगै यस क्षेत्रमा कार्यरत विभिन्न संघसस्थाले सयुक्त रुपमा पर्यटक भित्र्याउन प्रयास गरे सुदूरपश्चिम प्रदेश समृद्धीको मुख्य आधार नै पर्यटन हुने छ।
अर्को तर्फ यो चिसोको सिजनमा दुधुवा पुग्ने केही पर्यटकलाई मात्रै धनगढी सम्म पुगाउन सकियो भने यस्को प्रतिफल गर्मी मौसममा देखिने छ र ‘गर्मी से है बेहाल चलो नेपाल’ को नारा अझै प्रभावकारी हुने छ।