बाजुरामा आफ्नो उम्मेदवार जिताउन खटिए पूर्वमन्त्रीदेखि सांसदसम्म
बाजुराः बाजुरामा उपाध्यक्ष पद रिक्त छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ।
रिक्त पदमा छुट्टाछुट्टै पार्टीबाट पाँच महिला उम्मेदवार चुनावी मैदानमा छन्। आफ्नो उम्मेदवार जिताउन अहिले नेताहरुबिच दौडधुप बढेको छ। सो पालिकामा नेता कार्यकर्ताले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो। उपनिर्वाचनमा आफ्नो उम्मेदवार जिताउन केन्द्रदेखि जिल्ला स्तरका नेता तथा कार्यकर्ता जिल्लामा केन्द्रित भएर प्रचारप्रसारमा जुटेका छन्।
नेपाली कांग्रेका नेता तथा निवर्तमान सुदूरप्रश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, पूर्वराज्यमन्त्री जनकराज गिरी, प्रदेश सभा सदस्य जुना दानी कांग्रेसका उम्मेदवारको चुनावी प्रचारप्रसारमा लागेका छन्। त्यस्तै एमालेका पक्षमा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापा, प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीलगायत नेता चुनावी घरदैलोमा केन्द्रित छन।
माओवादी केन्द्रबाट पूर्वराज्यमन्त्री कर्णबहादुर विक लगायतका नेता आफ्नो उम्मेदवार जिताउन लागिपरेका छन्। यस्तै समाजवादीले पनि सुदूरप्रश्चिम प्रदेशका पूर्वअर्थमन्त्री नरेश शाहीलगायतका केन्द्रीय नेतालाई चुनावी प्रचारमा खटाएको छ। पाँचवटा दलले उम्मेदवारी दर्ता गराएका छन्। बाजुराका ९ स्थानीय तहमध्ये स्वामिकार्तिकको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।
२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको मृत्यु भएपछि सो पदमा निर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एमालेबाट सुलोचना बुढा, माओवादी केन्द्रबाट राजुकुमारी विक, एकीकृत समाजवादीबाट जवा शाही र प्रजातन्त्र पार्टी नेपालका तर्फबाट सुनादेवी थापा उपाध्यक्ष पदका लागि उम्मेदवार हुन्।