छाउपडी र चोर डेउडा

२०७६ असोज ३०, ०९:५९
अ+

खेम बतास 
यता सुर्य धर्तिको दर्शन गर्न आफ्नो ओठ भरी गुराँस पोतेर मुस्कुराउछ। उता खोलाहरुमा छाउगोठमा भयग्रस्त जीवन बाचेका बैकीनी र जात्कीहरु भेटिन थाल्छन्। छाउगोठहरु घरभन्दा अलिपर बनाएका हुन्छन्। जहाँ सहजै कसै पुरुष मान्छेको नजर पर्दैन। सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा पणमुजले घरहरु रहेका हुन्छन्। पणमुजले भनेको सबै भन्दा तलको तला(भँुईतला) हो। भुँईतलामा गाईबस्तु बाँधिएका हुन्छन्। त्यसैको एउटा कुनाबाट मुजलोमा जाने बाटो बनाएको हुन्छ। मुजलो भनेको भुँईतला (गोठ) भन्दा माथिको भाग हो।

मुजलोमा मट्टो, फिनो(गुन्द्री) र दरी ओछ्यार सुत्ने व्यवस्थाका साथै खाना बनाउने एक सानो भान्सा कोठाको समेत व्यवस्था गरिएको हुन्छ। मुजलो भन्दा माथि पाण रहेको हुन्छ। जहाँ आनाज र कुले देवताको थान बनाइएको हुन्छ। पाणमा अति आवश्यक काम बाहेक खासै कोही पनि जादैनन्। यसरी निर्माण भएको घरको संरचनामा छाउभएकी महिलाले बस्ने ठाँउ भनेको सबै भन्दा तल्लो तला हो।

जहाँ गाईबस्तु बस्ने गर्छन। गोठको एक कुनामा आवश्यक पर्ने सामान जस्तै : बन्चरो, कुटो कोदालो आदि राख्ने ठाँउलाई कुन्टो भनिन्छ। छाउ भएका बेला छाउपडी बस्ने भएकाले त्यो छाउकुन्टोका नामले पनि चिनिन थाल्यो। घरको घुम्ती पर्ने ठाँउ कुनो÷कुन्टो, जहाँ रजश्वला भएकी नारीले बस्नुपर्ने बाध्यता बनाईएकोले त्यसको नाम छाउगोठ, छाउकुल्लो र छाउकुन्टो आदि नामले पुकारिन थालियो।

डोटली समाज मष्टोपुजक खसआर्य सम्प्रदायका मानिसको बसोबास क्षेत्र हो। यहाँका मानिसले विभिन्न पर्वपर्वादिमा घरभन्दा माथि डाँडाको उच्चोभागमा आफ्ना कुले देउदेउताको थान बनाएको हुन्छ। थानमा बोकाको बलि दिएर मनोकामना पुरा हुने विश्वासमा त्यहाँका मान्छेहरु बाँचेका छन्।

प्रत्येक बनपाखा र डाँडाकाणामा देउदेउता भएको विश्वासले सो ठाँउमा छाउपडीलाई जान बन्देज लगाइएको छ। कारण, एक त त्यो देउताको थानसम्म जाने बाटो नै ओकालो र अप्ठेरो हुन्छ। त्यसमाथी छाउ भएकी बैकिनी शारीरिक र मानसिक रुपमा अस्वस्थ भएकाले उसलाई त्यो ठाँउ जानबाट बञ्चित गरिएको होला। तर बैज्ञानिक कारण तिर लागिएन।

समाज हचुवाको भरमा चल्यो। समाजले देवता विग्रिने डरले छाउ भएकी महिलालाई देउताको थानमा जान बन्देज लगाइको देखिन्छ। पहाडका बस्तीमा खाने पानीको सहज सुविधा हुदैन्। टाढा खोलाबाट फोला र गाग्रामा पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको थियो र छ पनि। छाउ भएकी मान्छेले सहज रुपमा पानी भरिएको गाग्रो बोकेर ल्याउन सक्दैन्।

किनकी त्यो अवस्थामा पेट दुख्छ। पाठेघरबाट एकोहोरो रुपमा रगतको मुल फुटिरहन्छ। त्यसैले डोटेली समाजमा पानीबाट पनि छाउपडीलाई बन्चित गरिएको देखिन्छ। अर्को कुरा, डोटेली समाजमा अहिले पनि भान्सा खाने प्रचलन रहेको छ।  गाँउमा हैजा महामारीका रुपमा फैलिएको हुन्थ्यो।

मान्छेहरु ज्यान जोगाउन गाँउबाट टाढा जङ्गल, रुखका ओडार र गुफामा बसेर जीवन विताउन थालेका थिए। पछि विस्तारै यो फोहोरी बानी र व्यवहारले हो। खानपानमा सरससफाई गरे हैजाबाट बच्न सकिन्छ भन्ने बुझे। त्यसपछि घरको मुलीले नुहाइधुवाइ गरेर सफा लुगा लगाएर पकाउने र उसैले दिएको खाने प्रचलनको विकाश भएको थियो। जो वैज्ञानिक भएको कुरा प्रमाणित भईसकेको छ। त्यो बेला देखि क्रमसः डोटेली समाजमा हैजा पनि कम हुदै आएको साँचो हो। 

त्यसकारण पनि भान्सा र पानीबाट छाउपडिलाई बञ्चित गरिएको थियो। अहिले प्रविधिको विकास संगै छाउ भएको महिलाले प्रयोग गर्ने विभिन्न अण्डर वयरहरु सेनेटेरी प्याटहरुको व्यवस्था छ। तर पहिले यस्तो कुनै व्यवस्था थिएन तर छाउ हुने प्रचलन चै थियो।

त्यो बेला महिलाहरु एउटा गामन मात्र लाएर दैनिक घर व्यवहार चलाउनु पर्ने बाध्यता रहेको थियो। यसरी एउटा गामन मात्र लाएर भान्सामा काम गर्दा छाउ भएको रगत भुईमा जथाभावी खस्ने, देउता बस्ने घर, पानी पधेरो र  भान्सामा रगत देखेर पुरुष मान्छेले अपवित्र नजरले हेर्ने, फोहोर हुने भएकाले उनलाई भान्सा, देउता र धारो पधेरोबाट बन्देज लगाएको देखिन्छ। 

पहिलोपल्ट छाउ हुनु प्रत्येक महिलाका लागि नयाँ अनुभव हो। छाउपडीले त्यो नयाँ अनुभवलाई स्विकार गर्दा गर्दै पनि आताल्लीनु, आत्तिनु, घबराउनु आदि मानसिक कारण देखिन्छन्। पहिलो पल्ट छाउहुने उमेर भनेको महिलाको किशोरावस्था  हो। जुनबेला किशोरीका जनेन्द्रियहरुको विकास भईरहेको हुन्छ।

शारीरिक विकासले तिनको मनमा विभिन्न उतावचढावहरुले मनस्थितिमा उथलपुथल ल्याएको हुन्छ। यसका साथै किशोरा अवस्थामा विपरित लिङ्ग प्रतिको व्यवहार अझै लज्जा जनक नै हुन आउँछ। त्यसैले उहिले गुन्युको फेरो जम्मा पारेर टुकुनो गरी बस्थे। रगतको दाग कसैले नदेखोस भनेर सजग भएर बस्ने र यता उता नगइ लाजले कोठा भित्रै बस्ने गर्दथे।

लोग्ने मान्छेको नजिकमा लाज मानेर नजाने भएपछि विस्तारै यो संस्कारको रुपमा विकास भएको देखिन्छ। डोटेली समाजमा धामी झाँक्रीमा औधी विश्वास छ। आफुले गरेको गल्ती पनि धामीले थाहा पाएपछि कारवाही हुने मनोवौज्ञानिक डरले छाउपडीहरु लोग्नेमान्छे, कुले देवताको थान, पानी पधेँरो र भान्साकोठा लगायतका ठाँउबाट टाढा बस्नु परेको हो। आफुभन्दा बुढापाका बज्यै, इजा, बौजू, काखी दिदीहरुले जस्तो छाउ हँुदा गर्दै आएका छन् त्यो प्रचलन अरुले पनि अनुसरण गर्दै जानुले यो सुदूरपश्चिमको डोटेली समूदायमा कूरीतिको रुपमा रहेको छ। 

आर्थिक रुपले दैनिक हातमुख समेत जोड्न नसक्ने परिवारको लागी पणमुजले घर बनाउन सक्ने अवस्था रहेको देखिदैन्। गरिब परिवारको पाण भने पनि मुजेलो र गोठ जे भने पनि त्यै सानो लाज र टाउको लुकाउने घर मात्र हुन्छ। त्यो घरमा छाउ भएकी स्वास्नी मान्छेलाई बस्न नदिएर टाढा खरले छाएर एक÷दुई जनाले खुट्टा खुम्च्याएर सुत्न मिल्ने कोठामा राख्न थालिएको थियो।

गोठको ढोका हुदैन। गोठको भित्ता मकैका सुकेका डाँठको बनाएको हुन्छ। भित्तालाई बलियो लात्तीमा सहजै फुटाएर चोर लाग्न सक्छन्। छाउगोठमा जङ्गली जनावरले सजिलै आक्रमण गर्न सक्ने, कमजोर प्रकृतिको बनाएको हुन्छ। तर हुनापुरा(धनी) परिवार जस्तै रैकाज्यू(राज परिवार र तिनका चेलालाई जनाउने शब्द) माथिल्लो वर्गका बाहुन क्षेत्रीहरुसँग बस्नको लागी र सुत्नका लागी पणमुजले घरहरु राम्रो सुविधा हुन्छ।

तिनका छाउपडीहरु कोठामै (ओछ्यान भन्दा अलि तल) पराल ओछ्याएर सुत्ने गर्छन। तिनले छाउगोठमा बस्नुपर्ने बाध्यता खडा भएको थिएन र छैन पनि। तिनलाई सर्पको डसाईको भय र गाँउका लाटिकोसेरे आँखाहरुबाट बचाउनु पर्ने अवस्था आएको देखिदैन्। 

यसरी टाढाको छाउगोठमा पहिलो पल्ट छाउ भएकी स्वास्नी मान्छेले एक्लै बस्न डर मान्नु स्वभाविकै हुन आउँछ। एकल्यान(निस्सारता) नलागोस। भनेर गाँउका अरु बुढी छाउपडी पनि जम्मा भएका हुन्छन् । पाका छाउपडिले अर्को पल्ट नबसे देउता विग्रीने विश्वास छ।  घरमा धामीले समस्या देखाउने परम्परा छ।

छाउभएकी किशोरीलाई छाउको बारेमा केही आफ्नो अनुभब सुनाउन, सहानुभूति दिन र हाँसो ठट्टा गर्न समेत बुढी स्वास्नीमान्छे गोठमा जम्मा हुने गर्छन््। उहिले परापूर्वकालमा डोटेली समाजमा चोर डेउडाको प्रचलन रहेको थियो। यो चोर डेउडाको शुरुवात तिनै छाउपडिबाट भएको देखिन्छ।

किशोरावस्थाका किशोरीलाई यौन चाहान हुनु,शारिरीक विकासले मनोबैज्ञानिक परिवर्तन आउनु, आफ्नो मनका भावना मन मिल्ने साथीसँग भलाकुसारी गरी केही समय छाउ हुनुको शारीरिक र मानसिक पीडाबाट टाढा रहने हेतुले तिनीहरु छाउगोठमा रातीसम्म जागराम बस्छन्।

लोककथा र बातै(गाँउखाने कथा) सुन्ने सुनाउने प्रचलनका साथै चोर डेउडाको प्रचलन पनि विकास भएको थियो। कवि हेमन्त विवशका अनुसार चोर डेउडा भनेको, “रात कटाउन र मनोरन्जन गर्न गाँउका छोरेट्टा छोरेट्टीहरु कसैले थाहा नपाउने डाँडाको खोचमा कतै खोलारोडाको किनारमा जाने गर्छन।

जहाँको डेउडाको आवाज गाँउवस्तीसम्म नपुगोस त्यहाँ गएर साईसुवा (प्रेमीप्रेमीका)को डेउडा खेल्ने र व्यान्नले तारो देखिनु अघिनै गोठामा आएर सुत्ने चलनलाई चोर डेउडा भनिन्छ”। जसका कारण छाउगोठमा गएर डेउडा खेल्न र साइसुवासँग रमाइला गफगाफ गर्न पाइने लोभ यिनका मनमा पर्न गएको देखिन्छ। यो चोर डेउडाको प्रचलनले पनि छाउपडी र छाउगोठको विकाश भएको हो।

वैज्ञानिक दृष्टिले छाउ भएका बेलाको रगतमा अल्कोअलिक पदार्थ धेरै हुने भएकोले त्यो रगत मान्छेको लागी हानिकारक भएकोले त्योबाट टाढै रहनुपर्ने त्रिविमा एमएस्सीमा पढ्दै गरेका डोटीका एक विद्यार्थी श्याम ओझा बताउछन्। यि यावत बैज्ञानिक, सामाजिक र  साँस्कृतिक कारणले सुदूरपश्चिमेली डोटेली समाजमा ठुलो प्रभाव पारे पनि अहिलेको अवस्थामा केही यसको विकासको कारण तिर जान चाहिरहेका छैनन् बरु विरालो बाधेर बाउको श्राद्ध गर्ने कथा जस्तै चलिआएको चलनको रुपमा ग्रहण गर्दै आएका छन्।

जसका कारण समय समयमा छाउ गोठामा अबोध इजाहरु र चेलीबेटीहरुले मृत्युको शिकार हुनुपर्ने भएको छ। पुष माघको शिरेटो ओढेर सुतेका कतिपय छाउपडीहरु सधैको लागी चिर निन्द्रामा सुत्नु परेको तितो यथार्थ पनि देखिएको छ। 

त्रिविविमा एमए अग्रेजी साहित्य पढ्दै गरेकी डोटीकी विद्यार्थी कल्पना जोशीलाई तपाईलाई पहिलो छाउहुँदा कस्तो अनुभव भएको थियो ? भनि सोधेकोमा उनले भनिन ‘ म पहिलो पल्ट छाउ हुँदा १४ वर्षकी थिए। जति खेर कक्षा ११ मा पढ्थे।

कक्षा ६ मा पढ्दा देखिनै स्वास्थ्य तथा शारिरीक शिक्षामा अनिर्वाय विषयको रुपमा थियो। छ पनि। महिनावारी हुनु अघि तीन÷चार दिन अघि लगातार पेट दुखिरह्यो। ढाड पनि दुख्थ्यो। म मुक्काले हिर्काउथे पीडा कम होस भनेर। कम्मरमा पटुकी बाध्थे। पेट दुखेको तिन दिनको साझँ पिसाबसँगै गाढा रातो रगत आएको देखियो तर डरले खासै हेरेन।

दोस्रो दिन विहान मैले आफ्नो भित्री वस्त्रमा केही वस्तु सुके जस्तो अनुभव गरे। कम्मर र पेटको दुखाइको गतिको अनुपात चुचुरोमा पुगेको थियो। त्यसपछि त मुक्काले हिर्काउनुको कुरा त परै जाओस हावालागे पनि पिडा अनुभव हुन थालेको थियो। म हतारमा पिसाब फेर्न गए। पिसाब भन्दा पहिला रगत देखापर्यो।

म अत्तालिए के गरु के नगरु भए। कस्लाई भनु कस्लाई नभनु ? केही सोच्नै सक्ने अवस्थामा थिएन। यो सामान्य प्रक्रिया हो भन्ने स्वास्थ्यमा पढेको भए पनि म जोरले रोए डाको छोडेर। लाग्यो मेरा खुसिहरु र सुखका दिन गए। मैले ठुलो पाप पो गरे कि जस्तो लागेको थियो।’ उनको यो अनुभवबाट के कुराको आकलन गर्न सकिन्छ कि शारिरीक र मानसिक पीडाका पाउनु स्वभाविक थियो त्यो सँगै उनलाई मनोवैज्ञानिक प्रभावले नराम्रो गरी थिचेको रहेछ।

सामान्य प्रक्रिया हो भन्ने जान्दा जान्दै दुःखका दिनको आगमन भएको उनले कसरी संकेत पाइन त ? यो गम्भीर कुरा छ ? डोटेली समाजमा तमाम महिलाले छाउगोठमा नारकिय जीवन भोग्नु परेको उनले देखेकी हुनाले त्यो आफु माथि आइलागेकोेले उनले आँखाबाट सावन खसालेको हो भन्ने कुराको पुष्टि हुन्छ।

हुन त जुन दिनदेखि एउटा किशोरी रजश्वला हुन्छे। उसले खुसिले लड्डु बाढ्नु पर्ने हो। उसले रमाउदै गाउँका सँगीनी बटुलेर सात् ढुङ्गी, चुङ्गी र आराम खेल्नुपर्ने हो। रमाएर खुसिले लामो सुस्केरा निकाल्नुपर्ने हो। किनकी जब एउटा किशोरी रजश्वला हुन्छ उ पूर्ण रुपमा प्रजनन् योग्य हुन्छ। उसबाट सन्तान उत्पादन गर्न सक्ने क्षमताको विकास भएको प्रमाण हो छाउ हुनु, उ उर्वर भूमि बनेको हो। तर कर्णाली पाी यो बरदान होइन अभिसापका रुपमा रहेको छ।

जोशीले फेरी थप्दै भनिन्, ‘ म लाजले बुवाको आवाज सुन्ने वित्तिकै लुक्थे। आमाले पनि लजाउली भनेर मेरो ख्याल गर्नु भएन। लाजले भुतुक्कै भएको देखेर आमाबा मेरो नजिकमा कहिल्यै आउनु भएन्। म घर भित्रैको एउटा कुनामा बस्थे।  मलाई खाना पानी दिन कि दिदी आउथी कि बहिनी ति दुबै नभएको बेला आउथ्यो, भाई।

उ मैले दिएको कामबाट हैरान भएर मलाई रिसाउदै भन्थ्यो, तलाई छाउ होइ जा कैले भन्यो।’ यसरी छाउ भएको बेला आमाबाले यो सामान्य प्रक्रिया हो। दश बाह्र दिनपछि यो रगत आफै निको भएर जान्छ। भनि आमाले सिकाएको भए पहिलो पल्ट छाउ भएका किशोरीको मनोविज्ञानमा राम्रो छाप पर्न जान्थ्यो। उसले पनि आफ्ना सन्ततीलाई त्यही कुरा सिकाउथे जसका करण यसले विकराल रुप लिने थिएन्। 

डोटीबाट बसाइ सरेर अत्तरियाको नजिकैको गाँउ लालपुरमा बस्दै आएकी चालिस वर्षीया गोमा लुहार जो ढीकी कुःडामा छाउ भएको बेला रात विताइरहेकी थिइन उनलाई “तम छाउ भयका बेला केलाई घर भितर नैजाना ? कसैले जन्जा भन्या हुनाले हो कि आफुइ नै जाना भनि सोध्दा” उनले भनिन्,‘ भितर गए देउता रिसाहानाहान् देउता रिसाए धामी गाली दिन्छन्। देउपितर खुसि राख्नुपर्छ तबै नै जानो ’ उनले फेरी थपिन्,‘ नानी थे शुरुमा बाइर(छाउ) हुने बेला त सबै टडिय(टाढा भएको, छाउ बारेको ) देखे सबैले जे गर्थे बाइर भएका बेला त्यै गद्दा गदाई पछि बानी परिग्यो।’ उनका भनाइबाट के कुराको पुष्टि हुन्छ की छाउको बारेमा कुनै तथ्य थाहा नभएको अरुले जे भन्छन त्यो मान्दा मान्दै बानी परेको त्यो बानी पार्नमा घरका अन्य सदस्यले देउताको डर देखाएकोले मान्न बाध्य भएको तर आफ्नो इच्छा नभएको स्पष्ट हुन आउछ। 

वर्तमान समयमा शिक्षाको अभाव भए पनि तुलनात्मक रुपमा साक्षरताको अनुपात बढ्दो क्रममा नै रहेको छ। आखिर यो समयका माहिलालाई न चोर डेउडाका रहर छ। न टाढाबाट पानीको गाग्रो बोक्नु पर्ने बाध्यता। चोर डेउडाको ठाँउ मोवाइलले लिएको छ। भने, साइसुवासँग भेट्नु पर्ने बाध्यता फेसबुक र टुइटरले लिएको छ।

अहिलेका किशोरीले एक कल फोनको भरमा, फेसबुकको एक एसएमएसको भएमा भेट गर्नमात्र होइन आफ्नालागी प्रयोग गर्ने प्याड र अण्डरबयर मगाउन सक्ने अवस्थामा पुगेका छन् । जो खुसि हुनुपर्ने अवस्था हो।  तर पनि किन छाउपडीको सर्पले टोकेर अकालमै मृत्यु हुन्छ। किन गोठमा सुतेकी महिलाको आफ्न्तबाटै बलत्कार भइ हत्या हुन्छ। छाउपडि माथिका आपराधिक घटना कम हुन छाडेको छैनन् ? यसमा त्यहाँको स्थानीय निकाय, समाज, परिवार र नेपालको राज्य व्यवस्थाको भूमिका के ? यसबारेमा सबैको ध्यान जानु आवश्यक छ। बझाङको धूलि, बाजूराका कोल्टी, अछामको कुनै विकाट गाँउको महिलालाई त मानौँ, शिक्षा र चेतनाको अभाव भएकोले ति महिलाले नमरुन्जेल प्रत्येक महिनाका छ÷सात रातहरु जेल जस्तो लाग्ने डरलाग्दो ठाँउमा बस्नु परेको छ।

कति दिन पेटमा मुसा पालेर तिर्खाएका ओठले मरुभूमिको बालुवामय जीवन बनाउनु परेको छ। तर सुदूरको दुईतिहाई भन्दा बेसी जनसङ्ख्या तराईका जिल्ला कैलाली र कन्चनपुरमा  स्थायी रुपमा बसोबास गर्छन।  केही निम्न आय भएका परिवारलाई छोडिदिने हो भने बाँकीको पनि पहाड र तराई दुवैतिर टाउको लुकाउने घरको जोह गरेका छन्। तराईका जिल्लामा शैक्षिक विकासक्रम दिनानुदिन बढ्ने क्रममा रहेको छ। प्रत्येक टोल टोलमा माध्यमिक विद्यालय बनेका छन् जहाँ उच्च शिक्षा अध्ययन गरेका, जसले छाउपडी एक सामाजिक कुरीति र कुुंस्कार हो भन्ने था पाएका छन्।

तर ती महिलाले समेत किन यो रोग पालेर बसेका छन् ? स्कुलमा पढाउने शिक्षिकाले स्कुले नानीका झोलाभरी अक्षरहरु पोको पारेर  हरेक दिन घर पठाउछन। तर तिनले आफ्नो दिमाकबाट यो छाउपडीको भूत हटाउन सकेका छैनन्। महिलाहरु आफै पनि महिनाका पाँचदिन छाउगोठमै रात विताउनुलाई किन गौरव अनुभव गर्दैछन्।

विद्यालयमा पढाइहुने कोर्समा पनि यसको नकारात्मक प्रभाव के हो ? यो प्रथाले समाज, परिवार र सिँगो देशमा पारेको असर के ?  यसको समाजिक साँस्कृतिक र वैज्ञानिक कारण के ? त्यसको बारेमा छलफल हुन नितान्त जरुरी देखिन्छ । समाज परिर्वतनशील छ। वर्तमान समायमा  यसको सन्दर्भ र बार्ने नीति कुनै पनि महिलालाई बाध्य छैन र हटाउनु पर्ने आवश्यकता परे पनि किन कोही बोल्दैनन् ? यो आजको समाजको प्रमुख प्रश्न रहेको छ। 

अत्तरियाको दुर्गालक्ष्मी क्याम्पसमा विविएस तेस्रो वर्षमा पढ्दै गरेकी लालपुर घर भएकी भगवती साउँदलाई अहिले तपाइको टोलमा कस्तो छ छाउपडी भएका महिलाको अवस्था भनि सोध्दा उनले भनिन्, ‘ हामरी बज्यैका पालामा जस्तो अलगै छाउगोठ बनाएर सुत्नु पर्ने अवस्था छैन्। सधैँ सुत्ने ओछ्यान भन्दा अलग ओछ्यान लाएर सुत्छु।

तर टोलमा कौई कौइ घरमा अझै पनि छाउगोठ नभएको चै होइन्। ती पनि भत्काउनु पर्ने  त हो तर बुढापाकाहरु मान्दैनन्। यो ज्ञानको अभावले विकास भएको कुप्रथा हो यसको निमूल तल्कालै गर्न त गाह्रो छ तर पहिलेको तुलनामा कम भएको छ।” छाउपडिको पक्षमा काम गर्ने विभिन्न एनजिओ, आईएनजिओहरु शहरमात्र केन्द्रित हुनु, यो गलत प्रथा हो भनि शिक्षाको अभाव भएका पहाडी जिल्लामा यसको समाजिक र साँस्कृतिक कारणको बारेमा ज्ञान नबाड्नु, भाग्य र देवीदेवतामा विश्वास राख्नुले आजको समयमा पनि यसको निमूल हुन सकेको छैन्।’

तुलनात्मक रुपमा यसमा कमि आएको भए पनि निर्मूल हुन नसकेकोले भगवती र कल्पना जस्तै महिलाहरुको समाजमा यसको बारेमा सहजिकरण गर्नु आवश्यक देखिन्छ। समाजमा बनाएका धेरै मुल्य मान्यता महिलाको हित विपरित छन्। ति मान्यताको विरुद्धमा आवाजमात्र उठाएर हुदैन् व्यवहारतः कार्यन्वयन समेत गर्न जरुरी छ। छाउघर उपन्यासका लेखक राज सरगम भन्नुहुन्छ, ‘जब सम्म मान्छेको मनबाट छाउगोठको विम्ब र छाउ भएका महिला माथिको व्यवहारमा परिर्वतन आउदैन तबसम्म जति यसको बारेमा बोल्दा पनि कमै हुन्छ। समाजको मनोविज्ञानमा यो नमेटिने गरि बसेको छ यो त्यसैले यसको यर्थाथ कुराका बारेमा सबैमा जानकारी दिएमा यो विस्तारै निर्मुल गर्न सकिन्छ। ’
छाउपडीलाई पनि बेला बेला उसो गर्नुपर्छ त्यसो गर्नु हुदैन्। देउताको थानमा जानु हुदैन गए देउता विग्रिन्छन् देउता विग्रिए सबै तहननहस हुन्छ।

गाईको गोठमा जानु हुदैन् छाउभएका बेला गोरस खानु हुदैन् । खाए गाई विग्रिन्छ। रुखका शितलमा बस्नु हुदैन्छ, बसे फल लाग्दैन्। लागे पनि खसिहाल्छ, रुख सुकिहाल्छ, पानीको मुलमा लाग्नु हुदैन् लागे मुहान सुक्छ। यस्ता तमाम  विश्वासहरु जो संस्कार र सस्कृति बनेर कहिल्यै नभत्किने चट्टान बनेर बसेका छन्। ती विश्वासमाथी  अबका महिलाले प्रश्न गर्न जरुरी छ। कसरी देउता विग्रिन्छन् ? देवता मान्छेकोे भलाई गरोस भनी पुजिने होइन र ? जसले सधैँ राम्रो र भलाईको बारेमा मात्र सिकाउछ ती देउताले मान्छे गरेको गल्ती सुधार गर्नुपर्ने होइन र ? होइन भने, मान्छे भन्दा घटिया हुन्छन् देवताहरु ? जब रामानुजले ईश्वरको साकार रुपमा बारेमा बोले त्यसपछि ईश्वरको मूर्ति बनाउने र पुज्ने परम्पराको विकास भएको हो। त्यसो भए भगवान अर्थात ईश्वरले मान्छे बनायो वा मान्छेले ईश्वरको निर्माण गर्यो एकपल्ट प्रश्न गर्ने समय आएको छ। अब प्रश्न गर्न आवश्यक किन छ कि अहिलेका महिला प्राज्ञिक छन्। जसलाई राम्ररी थाहा छ की महिला छाउ कसरी हुन्छन्। छाउ भएको रगत देखेर नछुने पूरुषलाई उनले प्रश्न गर्न सक्छन्।

यदि महिला मासिक रजश्वला भएन भने के हुन्छ ? गर्भवती ? सुत्केरीले के पाउछ ? की छोरो की छोरी ? जब त्यही रगतबाट जन्मीने प्राणी चाँही चोखो हुने तर त्यो रगत किन अपवित्र हुन्छ ? कारण त्यो सुदूरपश्चिमको समाजको कुनै बेलाको समाजले, राजनीतिले र सास्कृतिक विचारधाराका मानिसले आफ्नो राजनीतिक पूर्वाग्रहलाई पुरा गर्न बनाएका कुरा हुन्। कुनै भाग्यवादी दर्शनको प्रभाव होइन्। अबका महिलाले यो पनि सोच्नपर्ने भएको छ की ? हामीलाई पानीबाट छिः छिः दुर दुर गरिन्छ तर खोलामा नुहाउन रोक लगाएको छैन्।

मानौँ,  खोलामा पनि जल देवता बस्छन् रे। यदि त्यसो भए जल देवता किन नरिसाएका त ? देवता देवता त एकै होलान् ? यो बगेर जाने पानी बग्दै बग्दै गएर समुन्द्रमा मिसिन्छ। त्यो समुन्द्रको पानी बाफ बनेर आकासमा जान्छ। फेरी आकासको बादलमा मिसिएर छाउपडीको रगतका डल्ला मिसिएर यो पृथ्वीमा खस्छ। जो हरेक मान्छेका धुरीबाट बग्दै बल्धारीमा पुग्छ । मान्छेले कसौडी थापेर यहीको पानीले खाना पकाउछ र खान्छ। उसले भन्छ की आकासको पानी शुद्ध हुन्छ। उसलाई था हुदैन की त्यहाँ एउटा महिलाको रज मिसिएको छ।  ठिक हो त्यो पानी शुद्ध छ।

तर उसले  त्यो पानीमा आफ्नै छोरीबेटीको रज मिसिएको कुरा यसकारण विस्रियो कि छाउ हँुदा छुनु हुदैन भन्ने कुरा उसलाई सिकाइएको छ तर किन छुनु हुदैन् छोए के हुन्छ ? प्रश्न गर्ने कसैले हिम्मत गदैैन्। देउता पनि यो धर्तिमै बस्छन्। छाउ भएकी मान्छे पनि धर्तिमै। धर्ति सबैको साझा थलो हो यहाँ हरेकले सम्मान पुर्वक बाँच्न पाउनुपर्छ। नत्र हरेकपल्ट छाउगोठमा सरस्वती, लक्ष्मी र पर्वतीहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको निरन्तरता रहने छ।