सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तडमा पर्यटक बढे, बस्ने व्यवस्था नहुँदा समस्या

२०७६ असोज २७, ०४:५४ नवराज पनेरु

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा पछिल्लो केही समय यता पर्यटकको सङख्यामा बृद्धी भएको छ। चाडपर्वका लागि धेरै विदेशीएका र स्वदेशमै रहेकाहरु पनि घर फर्किएपछि अहिले खप्तडमा पनि आन्तरिक पर्यटकको सङख्यामा बृद्धी भएको हो। तर पर्यटकको सङख्या बढेपनि अहिले खान र बस्न भने समस्या भएको छ। ‘आन्तरिक पर्यटकको रोजाईमा खप्तड परेपनि पुर्वाधार बिकासको कमिका कारण पर्यटकहरु समस्यामा परेका छन्,’ खप्तडमै गेष्ट हाउस सञ्चालन गर्दै आएका लोकवहादुर रावलले भने, ‘अहिले खप्तडमा दैनिक ५० देखि ६० जना पर्यटकहरु पुगिरहेका छन्, तर बस्ने सुविधा नहुँदा पर्यटकलाई राष्ट्रिय निकुञ्जको कार्यालय र अन्य गोलघरमा समेत राखिएको छ।’ उनले पर्यटकलाई खानपानका लागि ठूलै समस्या नभएपनि बस्ने व्यवस्था नहुँदा समस्या बढेको बताए। 

हुन त खप्तडमा पर्यटक आवास गृह निर्माणका लागि ५ करोड निकासा भएको थियो। नेपाल पर्यटन बोर्डले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ विनियोजन गरेकोमा गत असारमा मात्रै राष्ट्रिय निकुञ्जको कार्यालयलाई निकासा दिईएको थियो। तर अहिले सम्म आवास गृह निर्माणको प्रक्रिया अगाडी बढ्न सकेको छैन्। ‘आवास गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन भने बनाईसकेका छौँ,’ राष्ट्रिय निकुञ्जका ईन्जिनियर सचिन न्यौपानेले भने, ‘सकभर तिहार अगाडी नभए तिहार लगत्तै ठेक्का आह्वान गर्ने तयारी छ।’

‘पर्यटकहरुको सुविधाका लागि डोटीको बीचपानीमा २० जनाका लागि र खप्तड मुख्यालय आसपासमा एक सय जना अट्ने आवास गृह निर्माणको योजना रहेको छ।’ उनले भने। बीचपानी र खप्तड मुख्यालयमा बास बस्ने तथा खाना खाने व्यवस्था नभएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेकोले बास बस्ने घर र भान्सा घर निर्माण गर्न लागिएको हो। 

‘खप्तड अहिले पनि पर्यटकको रोजाईमा छ,’ नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष दीपक खड्काले भने, ‘समस्या बस्ने र खानका लागि नै हो, खानबस्न सुबिधा सहितको आवास गृह निर्माण भए दोब्बरले पर्यटक बढ्छन्।’ यता सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकले खप्तड क्षेत्र विकास तथा व्यवस्था समिति गठन आदेश २०७५ लाई स्वीकृति  दिएको ६ महिना वितिसकेको छ तर अहिले सम्म समिति गठन भएको छैन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले समिति गठनको प्रक्रियामा रहेको बताए। 

स्थापना कालदेखि नै भ्रष्टाचारको आरोप खेपेर खारेज भएको खप्तड क्षेत्र पर्यटन विकास समिति फेरी प्रदेश सरकारले ब्युताउने निर्णय गरेको थियो। खुलेयाम भ्रष्टाचार र अनियमिततापछि भएका मुद्दामामिला र विवादका कारण पर्यटन मन्त्रालयले बजेट कटौती गरेसंगै २०६३ सालमा गठन भएको खप्तड पर्यटन विकास समिती २०७५ मा खारेज भएको थियो। खप्तडको नाममा चार जिल्लाका राजनीतिक दलहरुले कार्यकर्ता पोस्ने काम गर्न थालेपछि विकास समिती गठन भएदेखि उपलव्धी हासिल गर्न सकिएको थिएन्।

अव प्रदेशले बनाउने समिति पनि प्रदेशको मन्त्रीपरिषद्को निर्णय अनुसार हुने छ। मन्त्रालयका अनुसार समितिको कार्यविधिमा यस क्षेत्रमा ख्याती प्राप्त एक जनालाई समितिको अध्यक्ष बनाउने उल्लेख छ। यस्तै खप्तड जोडिएको चार वटै जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्ष, खप्तडको विकासका लागि योगदान पुगाएका व्यक्ति र पर्यटन प्रवद्धनमा सक्रिय व्यक्तिलाई समितिको सदस्यमा नियुक्त गर्ने मन्त्रालयले जनाएको छ। 

विगतको समितिले १० बर्षको अवधीमा २१ करोड खर्च गरेपनि अहिले सम्म त्यस्को उपलव्धी देखिएको छैन्। खप्तडमा बनाउनुपर्ने गेस्ट हाउस, पदमार्ग, भ्यू टावर, पुलहरू, सांकेतिक चिह्न लगायत पर्यटकका लागि आवश्यक टेन्ट, लुगा कपडा, घोडा खरिदका लागि १० वर्षको अवधिमा २१ करोड बजेट खर्च गरिएको थियो। तर काम अधिकांश अधुरा छन्। एकै बर्ष ७ करोड बजेट आएको समयमा पर्यटन विकास समितिको अध्यक्षमा अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका थिए। सो बेला माओवादीका कार्यकर्ताहरूले कामै नगरी उपभोक्ता समिति गठन गर्दै रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ।

सो बेलामा ५ सय थान टेन्ट र ४० वटा घोडा खरिदको बिल पेश भएको थियो। पछि भ्रष्टाचारको आरोपमा मुद्धा परेपछि टेन्ट रामारोशन महोत्सवमा आगलागि भएर नष्ट भएको तथा खप्तड पुगाएका घोडा हड्डी देखाएर बाघले खाएको मुचुल्का तयार पारिएको थियो। खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्ष बन्नका लागि होडबाजी गर्ने र अध्यक्ष तथा सदस्य बनिसकेपछि खप्तडको विकासका लागि आएको बजेट आफ्नो खल्तीमा हाल्ने परिपाटीले खप्तडमा आवश्यक संरचनाको अझै अभाव छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस