सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाट पूल सपना र सुदूरको समृद्धी

२०७६ असोज १९, ०८:०७

गोपाल हमाल
कुरा २०२४ सालको  हो, बुवा वन विभागमा रेञ्जर हुनुहुन्थ्यो। विभाग अन्तरगतको काठमाडौँस्थित थानकोट रेञ्ज कार्यालयबाट बुवाको सरुवा बैतडी भयो। सरुवा भएपछि स–परिवार बैतडी जानुपर्ने थियो तर नेपाली भु–भाग नै भएर बैतडी पुग्न भने समस्या थियो।

काठमाडौँबाट सार्वजनिक सवारी मार्फत त्रिभुवन राजपथ हुँदै विरगञ्ज सम्म पुगियो। विरगञ्जबाट भारतको विहार हुँदै लखनउ र लखनउबाट रेल यात्रा गर्दै हामी टनकपुर सम्म पुग्यौ। टनकपुरबाट कच्ची सडक भएर पिथौरागढ हुँदै सीमा नाका झुलाघाट सम्मको यात्रा तय भयो। अनि पहिलो पटक झुलाघाटको झोलुङगे पुल भएर यात्रा गर्ने मौका पनि जु¥यो। 

एक सय ५० बर्ष पहिले नै बनिसकेको झोलुङगे पुलकै सहारमा म सहित मेरो परिवार भारतबाट नेपाली सीमा सम्म पुगेका थियौँ। झोलुङगे पुलको यात्रा सकिनासाथ देवोभुमी सुदूरपश्चिमको बैतडीमा पहिलो पटक पाईला टेके मैले। २०२४ सालमा झुलाघाटमा झोलुङगे पुल देख्दा लाग्थ्यो, त्यो पुल नै धेरै ठूलो उपलव्धी हो।

त्यो सयममा झोलुङगे पुल नै धेरै ठूलो विकास थियो। सोही पुलको सहारामा बैतडी जिल्लामा पाईला टेकेपछि बैतडीवासीको भाषा र पाहुनालाई स्वागत गर्ने परिपाटीले मनै लोभ्याएको थियो। भात खाने कि धुलो खाने ? भन्दै स्थानीयले सोधेको प्रश्न अनि चियाको चुस्कीसंगै मिस्रीको कड्की, अहिले पनि मानसपटलमा ताजै छ। पहिलो पटक ५२ बर्ष अगाडी मैले देखेको झुलाघाटको पूल अहिले सम्म फेरिएको छैन्, पूल जिर्ण भएको छ, मर्मत भएको छैन्।

५२ बर्षमा धेरै गुणाले जनसङख्या बढेको छ। तर आवतजावतको माध्यम त्यहि पूल मात्रै छ। विसं २०५६ मा पूलको डीपीआर बनिसकेको थियो, तर मोटरेबल पूलका लागि सरकारले तदारुकता नदेखाउँदा समस्या भएको छ। बैतडीवासीले दुई दशकदेखि सोही स्थानमा पक्की पुल निर्माणको माग गर्दै आएका छन् तर सरकार बहिरो बनिदिएको छ।

बैतडीवासीको हस्ताक्षर सहित नेपाल र भारतका विभिन्न निकायमा पक्की पूलको माग पेश भएको छ। तर पनि पक्की पूल निर्माण प्राथमिकतामा परेको छैन्। कैलाली उद्योग वाणिज्य संघले महोत्सव मार्फत २०६३ सालदेखि सुरु गरेको साङकेतीक अनि सभ्य र सालिन आन्दोलन (२१ किलोको माला लगाउँदै २१ बुँदे माग पेश गर्ने) मा एउटा माग झुलाघाटमा पक्की पूलको पनि थियो। सोही माला आन्दोलनको १३ बर्ष वितिसकेको छ तर झुलाघाटमा पक्की पूल बन्ने सुरसार नै देखिएको छैन्। 

राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख पार्टीका शिर्ष नेताहरुले माला पहिरिदै माग पुरा गर्ने आश्वासन दिए तर आश्वासन पुरा गर्ने चेष्टा समेत गरेनन्। अहिले सवैतिर दशैँ लागेको छ, बर्षाैदेखि झुलाघाटमा पक्की पुलको माग सहित आन्दोलनमा रहेका सिमित बैतडीवासी रिले अनसनमा छन्।

तर अनसनमा पनि सिमित बैतडीवासीले मात्रै सहभागिता जानउँदा के उनीहरुलाई मात्रै चाहिएको हो त पक्की पूल ? प्रश्न उब्जिएको छ। मलाई लाग्छ, पक्कै पनि होईन। झुलाघाटमा पक्की पूल निर्माण भए सुदूरपश्चिम मात्रै होईन सिङगो देशको अर्थतन्त्र विकासमा ठूलो भुमिका निर्वाह गर्न सकिने प्रसस्त आधारहरु छन्।

तर बैतडीलाई दुख्दा सुदूरपश्चिमकै अन्य जिल्लालाई किन दुख्दैन भन्ने प्रश्न भने मेरो मनमा पनि उब्जिएको छ। अहिले पूर्व सभामुख कृष्णवहादुर महरा प्रकरणले बजार तताएको छ, केही समय अगाडी पत्रकार शालिकराम पुडासैनी र रवि लामिछानेको चर्चा गर्न हामीलाई भ्याईनभ्याई थियो। सामाजिक सञ्जाल फेसवुकमा उनीहरुकै विषयमा चर्चापरिचर्चा थियो।

हाम्रो देश सहभागी हुन नपाए पनि हामीलाई विश्वकप, ईंडियन प्रिमियर लिग आईपिएल लगायतका बारेमा बहस गर्न मज्जा आउँछ। तर झुलाघाटमा पक्की पूल माग्दै २८ दिनदेखि जारी रिले अनसनको बारेमा कसैलाई फेसवुकमै भएपनि लेख्न फुर्सद छ त ?, पूलको आश्वासन दिएका नेताहरुले किन पुरा गरेनन भनेर सोध्ने समय छ त ? अथवा ति नेताहरुलाई अहिले सम्म हामीले कति पटक जवाफ मागेका छौ। पत्रकारले कति पटक जिज्ञासा राखे आश्वासन किन पुरा भएन भनेर। हामी विकास चाहन्छौ वा चाहदैनौ भन्ने प्रश्नको जवाफ पनि यहि भित्र लुकेको छ। 

हामीसंग नजोडिएको विषयमा बहस गर्नुभन्दा सुदूरपश्चिमको समृद्धिसंग जोडिएको विषयलाई हामी चर्चामा ल्याउन किन सक्दैनौ। झुलाघाट पुल बैतडीवासीलाई मात्रै आवश्यक होईन सिङगो नेपालकै हितमा छ भन्ने कुरा किन हेक्का राख्दैनौ। 

भारतको उत्तराखण्डमा हरीद्वारा (हरीको द्वार) स्नान गरेर यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको यात्रा सुरु हुन्छ, सोही उत्तराखण्डमा अहिले रोजगारीको मुख्य श्रोत नै चार धाम यात्रा भएको छ भने धार्मीक पर्यटनको उत्कृष्ट नमूना पनि बनेको छ।

उत्तराखण्डमा शिक्षित बेरोजगार युवाहरुलाई अनुदानमा विभिन्न तालिम प्रदान गर्दै आफ्नै ठाउँमा रोजागरी दिईएको छ। कसैले गाईडको तालिम पाएका छन् त कसैले ट्याक्सी लगायतका पर्यटकीय सवारी साधन अनुदानमा पाएका छन्। यस्ले गाउँ–गाउँमा रोजगारीको वातावरण सिर्जना भएको छ।

त्यहाँको स्थानीय उत्पादनले बजार पाएको छ। त्यहाँ उत्पादन हुने स्टेवरी, मह, अचार, फूल, पहाडी तरकारी र घरमै उत्पादन भएका विभिन्न सामानहरु पर्यटकको रोजाईमा परेको छ। धार्मिक पर्यटनकै कारण सो क्षेत्रका वासिन्दाले कुनै एउटा क्षेत्रमा परिश्रम गरे मनग्य आम्दानी गर्न सक्ने वातावरण बनेको छ।

धार्मीक पर्यटनकै कारण पहाडी क्षेत्र भएपनि युवाको पलायन रोकिएको छ। युवाहरुले आफ्नै क्षेत्रमा भविष्य खोजिरहेका छन्। सोही मोडालिटीमा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्नका लागि पनि झुलाघाटमा पुल आवश्यक छ।

उक्त पुल केवल सीमा क्षेत्रका वासिन्दाको आवागमनका लागि मात्रै होईन सुदूरपश्चिमको समृद्धीका लागि पनि त्यत्तिकै आवश्यक देखिएको हो। सात देवीहरु डिलासैनी भगवती, निङलाशैनी भगवती, मेलौली भगवती, शैलेश्वरी माता, बडिमालिका, उग्रतारादेवी र त्रिपुरा सुन्दरीको बास सुदूरपश्चिममा छ।

गोदावरी, पर्शुराम, दिल्पेश्वर र बराहक्षेत्र, पाशुपतक्षेत्र तथा मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने बैजनाथ धाम गरी चार धाम समेत सुदूरपश्चिममै छन्। ब्यास क्षेत्र पनि सुदूरपश्चिम प्रदेशमै छ। त्यसैले सुदूरपश्चिम प्रदेशलाई देवभुमीका रुपमा पनि धेरैले ब्याख्या गरेका छन्। सात देवी र चार धामको महिमा बारे प्रचार बढाउँदै लगे हिन्दु धर्मावलम्वीहरुलाई भित्र्याउन ठुलै समस्या पनि हुँदैन होला। विश्वभरी रहेका हिन्दुहरु मध्ये एक प्रतिशत हिन्दुलाई मात्रै हामीले भित्र्याउन सके न मजदुरीका लागि भारत पस्नुपर्छ न त तेश्रो मुलुक ताक्नुपर्छ।

झुलाघाटमा पक्की पुल निर्माण भए पर्यटन करिडोरका रुपमा चार धाम र सात देवीका मन्दिरलाई विकास गर्न सकिने प्रसस्त सम्भावना पनि रहेको छ। धार्मीक पर्यटनमा छलाङ मारेको भारतको उत्तराखण्ड प्रदेश धेरै नजिक भएकोले झुलाघाटमा पक्की पुल निर्माण भए त्यहाँ आउने धेरै पर्यटकलाई तान्न सकिन्छ, झुलाघाटलाई नै प्रवेशद्वारा बनाएर। त्रिपुरा सुन्दरी, निगलासैनी लगायतका मन्दिरमा लाग्ने मेलामा अहिले पनि भारतीय पर्यटक आउने गरेका छन्। यस्ले यस क्षेत्रका धार्मीक स्थलमा उनीहरुको आस्था जोडिएको छ भन्ने पनि पुष्टि हुन्छ। पुल निर्माण भए त्यो क्रमलाई ह्वात्तै बढाउन सकिने छ। 

सुदूर पहाडमा रहेका तीन धाम र सात देवीका मन्दिर घुमाउँदै ति पर्यटकलाई चुरे फेदीमा रहेको गोदावरी धाम सम्म पुगाउन सकिए मात्रै सुदूरपश्चिमको पर्यटनमा कोसे ढुङगा सावित हुने छ। पहाडबाट चुरे फेदको गोदावरी धाम हुँदै उनीहरुका लागि त्रिनगर र गड्डाचौकी नाका निकासद्वार बन्न सक्नेछन्।

झुलाघाटमा पक्की पुलको आवश्यकता पर्यटन प्रवद्र्धनका लागि मात्रै होईन। पहाडी क्षेत्रको कृषि उपजको बजारीकरणका लागि पनि त्यत्तिकै आवश्यक छ। झुलाघाटमा पक्की पुल नहुँदा स्थानीय कृषि उपज निर्यात गर्न कठिनाइ भएको छ। पक्की पुल निर्माण भए सहजै रुपमा सीमा बजारमा नेपाली उत्पादन पुगाउन सकिने छ, यस्ले गाउँगाउँमा रोजगारीको बातावरण सिर्जना गर्ने छ भने पहाडबाट युवाको पलायन रोक्न यहि पुल महत्वपूर्ण सावित हुन सक्नेछ। 

पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल छैनन्। तर झुलाघाटमा पक्की पुल नभएकै कारण भारतमा विरामी लैजान पनि धनगढी, महेन्द्रनगर पुग्नु पर्ने बाध्यता छ। यही कारणले कतिपय विरामीले बाटोमै ज्यान गुमाएका छन्। झुलाघाटमा पक्की पुल निर्माण भए पहाडी जिल्लाका वासिन्दाको स्वास्थ्य सेवामाथिको पहुँच पनि सहज हुने छ। 

त्यसैले मानव विकास र भौतिक विकासको तालमेल नभए समृद्धीको सपना पुरा हुन सक्दैन्। एक सय ५० बर्ष अगाडीको परिवेशलाई मध्यजनर गर्दै बनाईएको पुल अहिलेका लागि उपयुक्त हुनै सक्दैन्। त्यसैले झुलाघाटमा पक्की पुलको आवश्यकता महसुस भएको हो।

तर दुई दशकदेखिको पुल सपना समेत पुरा नहुनु भन्दा ठूलो दुर्भाग्य के होला ? अहिले म जस्तै अन्यको मनमा पनि उक्त पुल कति पुस्तापछि निर्माण हुने हो ? भन्ने जिज्ञासा पनि छ होला। त्यसैले झुलाघाटका लागि निर्णायक दवाव सिजना गर्ने बेला आईसकेको छ।

सोही पुलको सपना देखाएर पटक–पटक चुनाव लडेका र जितेका नेताहरुलाई खोई पुल ? भन्दै प्रश्न गर्ने बेला पनि आईसकेको छ, होईन भने भावी पुस्ताका लागि हामी पनि दोषी बन्ने छौ। भनिन्छ, जस्तो जनता त्यस्तै नेता हुन्छन्। अहिले पनि विकास हाम्रो पहिलो प्राथमिकता बन्न सकेको छैन् भन्ने दरिलो प्रमाण झुलाघाट पुल पनि हो।

जनताकै रोजाईमा विकास नपरेपछि नेताहरु विकास निर्माणमा उदासिन देखिएका हुन्। विकास नै पहिलो प्राथमिकता हो भने झुलाघाटमा पक्की पुलको मागमा ऐक्यवद्धता जनाउँदै निर्णयमा पुगाउनका लागि सबैले दवाव सिजना गरौँ। विजया दशमी २०७६ को पनि शुभकामना।
 

कमेन्ट लोड गर्नुस