सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा हुने विश्व मिलिटरी खेलकुद प्रतियोगितामा नेपाली सेनाले १३ खेलमा भाग लिँदै

। फोटो स्रोत ।
२०७६ असोज १६, ०५:२७ खबर संवाददाता

कात्तिक १ देखि १० गतेसम्म चीनको उहानमा हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले भाग लिने भएको छ। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो। 

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७ सय १९ खेलाडीको सहभागिता रहने छ। प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ। उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिने सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ। नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेललाई रोजेको छ। आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ। 

उक्त प्रतियोगिताका लागि छनोट भएका खेलाडी १५ महीनादेखि अभ्यासमा रहेको जानकारी दिइयो। प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डल असोज २५, २८ र २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ। विशिष्ट पाहुनाको रुपमा उक्त खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन्।

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल पनि सदस्य राष्ट्र पाहुनाका रुपमा सहभागी हुनेछन्। उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ४० मिनेटभित्रै पुग्न सकिने दुरीमा रहने छन्। ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ। प्रतियोगिता स्थलमा असोज ३० गते सहभागी मुलुकका खेलकूदको नेतृत्व गर्ने पदाधिकारीबीच समयन्वय बैठक हुनेछ।

खेलकूदको माध्यमबाट मित्रता भन्ने नारालाई आत्मसात गरेको इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल सन् १९४८ फेब्रुअरी १८ मा स्थापना भएको हो। नेपालसहित विश्वका एक सय ४० देशका सेनाका सङ्गठन सदस्य रहेको उक्त काउन्सिलमा अमेरिकी महादेशका १९, अफ्रिकी महादेशका ४७, युरोपका ४२ र एशिया महादेशका ३२ मुलुक सदस्य छन्।
 

कमेन्ट लोड गर्नुस