सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या एक सय २० पुग्यो

२०७६ असोज १४, ०३:१९ खबर संवाददाता

भारतमा बाढीका कारण कम्तीमा एक सय २० जनाको मृत्यु भएको छ। बिहार र उत्तर प्रदेशमा चार दिनदेखि परेको अविरल वर्षापछिको बाढीले उनीहरूको मृत्यु भएको हो। बाढीका कारण हजारौं मानिस बिचल्लीमा परेका छन् भने हजारौं विस्थापित भएका छन।

वर्षाले राज्यका विभिन्न भाग अस्तव्यस्त भएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सरकारी कर्मचारीलाई बिदा नदिन सरोकारवाला निकायलाई अनुरोध गरेका छन्। वर्षाले उत्तर प्रदेशको बालिअ, वारणसी, जौउनपुर जिल्ला अत्यधिक प्रभावित भएका छन्। ब्यारेकमा पानी छिरेपछि बालिअका ५ सय बन्दीलाई अन्य स्थानमा स्थानान्तरण गर्न लागिएको छ।

यस्तै बाढीका कारण दुवै राज्यमा रेलसेवा, सवारी आवागमन, स्वास्थ्य उपचार सेवा, विद्यालय, विद्युत् सेवा प्रभावित भएको अधिकारीहरूले बताएका छन्। बिहीबारदेखि आएको वर्षाका कारण ९३ जनाको मृत्यु भएको युपी सरकारले जनाएको छ। बिहारको राज्य विपत् व्यवस्थापन निकायका अनुसार बाढीबाट बिहारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ। बाढीका कारण बिहारका अधिकांश रेलसेवा अवरुद्ध भएका छन्।

केही स्थानमा वर्षाले सडकको पुल नै बगाइदिएको छ। बाढीले जनजीवनमा पारेको प्रभावका सनसनीपूर्ण भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। त्यस्तै जलमग्न पानीमा आफ्नो रिक्सा तानेको एक रिक्सा चालकको भिडियोले धेरैको ध्यानाकर्षण गरेको छ।

यस्तै प्रभावित क्षेत्र पट्नाका बाढीपीडितलाई खानेकुराका प्योकट र औषधि वितरण गर्न बिहार सरकारले भारतीय वायुसेवाको हेलिकोप्टर मागेको छ। घर तथा बस्ती र सडकको पानी पम्प गरेर हटाउन सरकारले मेसिनको सहयोग मागेको हो। बाढीका कारण बिचल्लीमा परेकालाई पानी हटाउन प्रयोग भएका क्रेनमार्फत उद्धार गरिएको थियो।

बत्ती र पानीको आपूर्तिको अभावमा अलपत्र परेका व्यक्तिलाई क्रेनमार्फत उद्धार गरिएको छ। बिहारमा प्रभावित क्षेत्रका मानिसहरूको उद्धारका लागि राष्ट्रिय विपत् सेवा जवाफ फौज (एनडिआरएफ) का १९ समूह परिचालन गरिएको थियो।

यस्तै युपीका सडक पनि जलमग्न छन्। रोयटर्सका अनुसार वर्षाले त्यहाँको जनजीवन अत्यन्तै प्रभावित गरेको छ। वाराणसीको अवस्था दयनीय छ। वर्षाले सडकका ढल नै बगाइदिएको छ। भने मुख्य शहर पटना सबै भन्दा बढी प्रभावित बनेको छ।
 

कमेन्ट लोड गर्नुस